arrow

आईजीपी श्रेष्ठ र एआईजी केसीको नामको बलि, भयो यसो चल्यो हल्ला

logo
प्रकाशित २०७४ चैत १२ सोमबार
sasastra.jpg

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते दसैंका दिन । यस दिन निशान भगवती सलामी अर्पणका साथै कोत अर्थात् हतियारको पूजा मात्रै गरिँदैन, संकल्प गर्दै कुभिन्डो, राँगा र बोकाको बलि पूजासमेत गरिन्छ । साथै संगठन प्रमुखका तर्फबाट निशानमा पन्जाछापसमेत लगाइन्छ ।

यस दिन बलिपूजाअन्तर्गत संगठन प्रमुखका तर्फबाट पञ्चबलिका नाममा बोका र राँगा बलि दिने प्रचलन छ । साथै इच्छुक अधिकृतहरुका नाममा पनि बोकाको बलि दिने प्रचलन छ ।

यो मौलो पूजा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मुख्यालयनजिकै रहेको बगलामुखी विशेष कार्यदल गणमा गर्दै आएको छ । नेपाल प्रहरीले भने नक्सालस्थित प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ मा गर्दै आएको छ ।

सशस्त्र प्रहरी बलले चैते दसैंअन्तर्गत महानवमीको अवसरमा आइतबार गरेको मौलोपूजा भने विगतको जस्तो सुखद रहेन । अर्थात् संगठनको १७ वर्षे इतिहासमा कहिल्यै पनि नभएको दुःखद् घटना हुन पुग्यो ।

हुन त सशस्त्र प्रहरीले साइत निकालेरै बिहान ६ बजेर ११ मिनेटमा पूजाको संकल्प गरेको थियो । साइत निकालेरै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विशेष कार्यक्रमबीच पूजाअर्चना गरेको निशान तथा मौलोपूजा कार्यक्रम विशेषगरी महानिरीक्षक श्रेष्ठका तर्फबाट सिंगो संगठन र अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीका लागि अत्यन्तै खल्लो बन्न पुगेको हो । 

संगठनका तर्फबाट महानिरीक्षक श्रेष्ठले बोका र राँगा बलि दिएका थिए । तर, बोका र राँगा दुवै एकै पटकको मारमा छिनेनन् । सामान्यतः बलि दिएका जीवजन्तु एकै मारमा छिन्नुपर्ने भनिँदै आएको छ । एकपटकमा नछिने अनिष्ट हुनेसमेत भनिन्छ ।

तर, महानिरीक्षक श्रेष्ठले संगठनका तर्फबाट पञ्चबलिका नाममा चढाएको राँगा एक मारमा नछिनेपछि भागेको थियो । राँगा भागेपछि मार हान्न खटिएका हतियारधारी सुरक्षाकर्मीले लखेट्दै यत्रतत्र प्रहार गरेका थिए । धन्य † राँगालाई कार्यदल गणको मूल गेटबाट बाहिर भाग्न नपाउँदै नियन्त्रणमा लिइएको थियो । 

त्यसपछि महानिरीक्षक श्रेष्ठले अन्तिममा गरिने क्षमापूजाअन्तर्गत चढाएको बोकामा पनि यही नियति दोहोरिएको थियो । क्षमापूजाको नाममा अन्तिममा चढाइएको बोकालाई मार हान्न पनि दुई तीनपटक लागेको थियो ।

मौलोपूजाअन्तर्गत सुरुमा गणका तर्फबाट बलि दिइएको थियो । त्यसपछि महानिरीक्षक श्रेष्ठको नामबाट बोका बलि दिइएको थियो । महानिरीक्षक श्रेष्ठका नाममा पहिलोपटक चढाइएको बोकामा भने यो स्थिति आएको थिएन ।

महानिरीक्षक श्रेष्ठको नाममा बोकाको बलि दिइएपछि एआईजीहरुको नाममा बोकाको बलि दिइएको थियो । अन्य एआईजी, डीआईजी र एसएसपीका नाममा बलि दिइएका बोका एकै मारमा छिने पनि एआईजी केसीको नामको बोका भने एकै पटकमा छिनेन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले आगामी २९ चैतबाट नयाँ नेतृत्व पाउँदै छ, बीचमा ऐनमा कुनै परिवर्तन नआएको खण्डमा । सशस्त्रका दुई नम्बरका एआईजी केसी पनि महानिरीक्षक बन्न शक्तिकेन्द्र धाइरहेका छन् ।

 ‘केसीका लागि यो कतै अशुभ संकेत त होइन ? सशस्त्र मुख्यालयमा आइतबार दिनभर चलेको हल्ला यही हो,’ सशस्त्रका एक अधिकारीले भने । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ