arrow

यसरी परम्परामा पदचाप मिलाउँदैछन् ओली

logo
प्रकाशित २०७४ चैत १२ सोमबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । विगतका परम्परालाई दोहोर्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने भएका छन्। दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीले पहिलो विदेश भ्रमण चैत २३ देखि २५ गतेसम्म भारतको गर्ने तय भएको छ। भारतीय पक्षले प्रस्ताव गरेकै मितिमा प्रधानमन्त्री ओलीले भ्रमण गर्ने जनाउ दिएपछि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको छ ।

‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणमा ठूला सन्धि–सम्झौता हुँदैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले ३ दिने भारत भ्रमणको विषयमा जानकारी दिँदै भन्यो, ‘भ्रमणका बेला हालसम्म नेपाल र भारतबीच भएका सन्धि– सम्झौता समीक्षा गर्ने र पूरा हुननसकेका पुराना सन्धि–सम्झौता कार्यान्वयनमा जोड दिइनेछ।’ 

प्रधानमन्त्रीको निर्देशनअनुसार परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको छ । परराष्ट्रले सरोकारवाला मन्त्रालयसँग अजेन्डा मागेपछि मन्त्रालयहरु पनि आन्तरिक छलफलमा जुटेका छन्। सबै मन्त्रालयबाट सुझाव आएपछि भ्रमणका अजेन्डा प्राथमिकताका आधारमा तय गरिनेछ। ‘भ्रमण नेपाल र भारतबीचको सम्बन्ध सुधारमा केन्द्रित हुनेछ,’ स्रोतले भन्यो। 

 प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण चैत २३ देखि २५ गतेसम्म भारतमा हुने भएको छ । यो भारतीय पक्षले प्रस्ताव गरेको मिति हो।
त अन्तिमा साता हुने भारत भ्रमण प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो हुनेछ। यसअघि पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले सन् २०१६ फेब्रुअरी १९ देखि २४ सम्म भारत भ्रमण गरेका थिए, जतिबेला दुवै देशबीचको सम्बन्ध इतिहासमै सबैभन्दा तित्ततापूर्ण अवस्थामा थियो। 

संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि सम्बन्धमा तिक्तता आएको थियो। 

तत्कालीन प्रधानमन्त्री ओलीले नाकाबन्दी नहटाएसम्म भारत भ्रमण नगर्ने अडान लिए। भारतले ५ महिनामा नाकाबन्दी हटाएपछि ओलीले प्रधानमन्त्रीको रुपमा पहिलोपटक त्यहाँको भ्रमण गरेका थिए।

ओली प्रधानमन्त्रीबाट हटेपछि पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वमा दुइटा सरकार बने। संविधान जारी भएपछि पहिलोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले नेतृत्वको वाम गठबन्धनले बहुमत ल्याएपछि फेरि ओली सरकारको नेतृत्वमा छन्। 

सन् २०१६ मा सम्बन्ध सुधारका लागि भन्दै ओलीले भारत भ्रमण गरे पनि अझै सम्बन्ध सुमधुर बन्न सकेको छैन । ओलीपछि दाहाल प्रधानमन्त्री भएका बेला नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज ओलीसँग भेट नगरी फर्केकी थिइन्।

प्रदेश र प्रतिनिधिसभामा निर्वाचनमा वाम गठबन्धनले दुईतिहाइ हाराहारीमा जित हासिल गरेपछि झस्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई दुईपटक फोन गरी बधाईं मात्र दिएनन् भेट्न विशेषदूतका रुपमा विदेशमन्त्री स्वराजलाई नेपाल पठाए।

निर्वाचनपछि ओली नेतृत्वमा सरकार नबन्दै नेपाल आएकी स्वराजले ओलीलाईजत्तिको महत्व दाहाल र देउवालाई दिइनन्। ओली नेतृत्वमा सरकार बनेपछि उनलाई बधाईं दिँदै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको भ्रमण गर्न निम्तो दिएका हुन्।

‘यसपटक प्रधानमन्त्रीज्यूलाई स्वागत गर्न भारत निकै हतारिएको देखिन्छ। उसले भ्रमणको मिति प्रस्ताव गरेको थियो, प्रधानमन्त्रीज्यूले त्यसमा सहमति जनाउनुभयो। यसैअनुरुप अहिले भ्रमण तयारी सुरु गरिएको छ। भ्रमणको औपचारिक घोषणा दुवै देशले एकसाथ गर्नेछन्,’ स्रोतले भन्यो। 

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने भारतले भ्रमण मिति प्रस्ताव गरे पनि तय भइनसेको बताए। उनका अनुसार केही दिनमै अजेन्डा तयार भएपछि भ्रमण मिति औपचारिक रुपमा घोषणा गरिनेछ। ‘हामी भ्रमणको तयारीमा छौं, अजेन्डा तय गर्न बाँकी छ,’ रिमालले भने।

संविधानसभाको पहिलो निर्वाचनपछिको एक दशकमा नेपालमा ८ जना प्रधानमन्त्री भए । प्रधानमन्त्री भएकामध्ये पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओली र शेरबहादुर देउवाले भारत भ्रमण गरे। झलनाथ खनाल र खीलराज रेग्मीले भने भारत भ्रमण गरेनन्। 

पछिल्लो १० वर्षमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले ११ पटक भारत भ्रमण गरेका छन्। तर यो अवधिमा भारतका एक प्रधानमन्त्री र एक राष्ट्रपतिले मात्र नेपाल भ्रमण गरेका छन्। 

भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले एकपटक र प्रधानमन्त्री मोदीले सार्क सम्मेलनसमेत गरी दुईपटक नेपाल भ्रमण गरेका छन्। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ