arrow

गृहमन्त्रीकै आडमा तस्करी, मुछिए गृहमन्त्रीका भाइ र उपराष्ट्रपतिका छोरा 

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
badal_new.JPG

ललितपुर । जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो।

उनीहरूले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ छ। वडाध्यक्ष लामाले २० भन्दा बढी कामदार र ‘टोले गुन्डा’ हरु प्रयोग गरेर बालुवा तस्कर गर्दै आएका छन्। ‘तस्करको कुरा माथिसम्म पुग्ला भनेर बाहिरी मान्छेलाई यहाँ प्रवेश गर्र्नै दिँदैनन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘यो बगरबाट दैनिक सय टिपरभन्दा बढी बालुवा निकासी भइरहेको छ।’

 उनका अनुसार यो खानी पूर्ण रुपमा अवैध हो। बागमती किनार छेउछाउको करिब सय रोपनी जग्गा कब्जामा लिएर टहरा निर्माण गरिएको छ । त्यस्तै ती जग्गामा बालुवा, गिटी र ढुंगा भण्डारण भइरहेको छ। आफ्नो धारमा बगिरहेको बागमतीलाई दायाँतर्फ फर्काएर बालुवा झिक्ने कार्य भइरहेको छ। अचेल त्यहाँ बा ३ ख ४४०४, बा २ ख ९७७६, ग १ ख ६६७७ लगायतका टिपरले बालुवा ओसारिरहेका छन्।

जनप्रतिनिधि नै तस्करीमा संलग्न भएपछि अवैध खानी कसले रोक्ने भन्ने प्रश्न उठेको छ। लगनखेल बजारबाट ७ किमिको दुरीमा पर्ने उक्त क्षेत्रमा भइरहेको बालुवा तस्करी नियन्त्रणमा न त जिल्ला प्रशासन कार्यालयको ध्यान पुगेको छ न त नगरपालिकाको नै। 

 वडाअध्यक्ष लामाका अनुसार उक्त खानीका मुख्य लगानीकर्ता दिनेश लामा हुन्। खानीमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको पनि लगानी छ। उक्त बालुवाखानी कम्पनी रजिस्टारको कार्यालयमा पनि दर्ता छैन।

मुख जिल्ला अधिकारी महादेव पन्थ बालुवाखानीको निगरानी गरी त्यसको रेकर्ड राख्ने मुख्य निकाय गोदावरी नगरपालिका रहेको बताए। उनले भने, ‘हामीले डुकुछापको उक्त खानी बन्द गर्न भनेर नगरपालिकालाई पत्र काटेका थियौं। 

तर नगरपालिकाले यसबारे चासो दिएन।’ उनका अनुसार नगरभित्रका सबै खानीको निगरानी गर्ने, स्वीकृति दिने, बन्द गर्ने जिम्मा नगरपालिकाकै हो। ‘हामीले जिल्लाका धेरै खानी अवैध भएपछि बन्द गर्न नगरपालिकालाई निर्देशन दिएका थियौं। तर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको आदेश मानेन। यसको अपजस हामीमाथि आइलागेको छ।’ 

नागरिककर्मी शनिबार उक्त क्षेत्रका रिपोर्टिङ गर्न पुग्दा तस्करहरुले धमाधम बालुवा ओसरिरहेका थिए। वडाध्यक्ष लामाले आफूहरुले विकासका लागि खानी सञ्चालन गरेको जबाफ दिए। उनले भने, ‘यहाँका स्थानीयका धेरै समस्या छन्, ती समस्या हामीले पूरा गर्दै आएका छौं। खानी सञ्चालन गरेर स्थानीयलाई राहत पनि दिएका छौं। फोहर नदीको बालुवा झिकेर के नै जान्छ र ?’ उनले गोदावरीका नगरपालिकाको स्वीकृतिमा आफूहरुले बालुवा निकालेर बेच्ने गरेको बताए। ‘नगरपालिकाले स्वीकृति दिएको छ, त्यही भएर हामीले बालुवा निकालेर सहरसम्म पुर्याउने गरेका छौं।’ 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उक्त खानीलाई कुनै पनि किसिमको स्वीकृति नदिएको दाबी गरे। ‘हामीले ठगी धन्दा गर्ने सञ्चालकलाई जथाभाबी अनुमति दिएका छैनौं,’ उनले भने, ‘कतिपयले मनपरी रुपले अवैध खानी सञ्चालन गरेका छन् भने बन्द गरेरै छाड्छौं।’ उनले अहिले खानीको विषयमा धेरै विवाद आएकाले नगरपालिकाले कडाइ गरेको बताए। मेयर महर्जनका अनुसार दिनेश लामाले कुनै पनि निकायबाट स्वीकृति नलिई सार्वजनिक जग्गा मिचेर खानी सञ्चालन गरिरहेका छन्।

वडाअध्यक्ष लामाका अनुसार उक्त खानीका मुख्य लगानीकर्ता दिनेश हुन्। खानीमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको पनि लगानी छ। दुई वर्षअघिदेखि सञ्चालित उक्त बालुवाखानी कम्पनी रजिस्टारको कार्यालयमा पनि दर्ता छैन। 

खानी भएका जिल्लामा जिल्लाको खानी तथा उद्योग अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन हुने प्रावधान छ। तर, ललितपुरमा ६ वर्षअघि गठित समिति निष्क्रिय छ।

गोदावरी नगरपालिकाले पनि ६ नम्बर वडाका वडाध्यक्ष विष्णुमान महर्जनको संयोजकत्वमा खानीसम्बन्धी अध्ययन सिफारिस तथा अनुगमन समिति गठन गरेको छ। समितिमा मेयर गजेन्द्र महर्जनसहित कार्यकारी निर्देशक टेकराज पन्थी, इन्जिनियर माधवेन्द्र चौधरी, सीताराम कार्की, श्रीराम आचार्यलगायत छन्। समितिले पनि अवैध बालुवाखानी नियन्त्रणमा चासो दिएको छै।
 
नयाँ मान्छेमाथि निगरानी 
ढुकुछापस्थित खहरे र बागमती खोलाको तीरमा दुई वटा अवैध खानी सञ्चालनमा छन्। प्रसिद्ध कटुवाल दह जान यही बाटो भएर जानुपर्छ। यो बाटो भएर सीमित व्यक्तिहरु ओहोरदोहोर गरिरहेका हुन्छन्। ती व्यक्तिलाई निगरानी गर्न खानीको मुख्य प्रवेशद्वारमा दुईतीन जना खटाइएका छन्। ती व्यक्तिले नयाँ अनुहार देख्नेबित्तिकै सोधपुछ गर्न थाल्छन्। खानी छेउछाउको वातावरण सुनसान छ। तस्करहरु दिनभर बगरछेउको सय रोपनी खाली जग्गामा बालुवा थुपार्छन्। रात पर्न थालेपछि बालुवा सहरका विभिन्न डिपोहरुमा पु(याइन्छ। 

स्थानीयलाई रिझाउन भोज
गोदावरी नपा–८ का वडाध्यक्ष शुकबहादुर लामाले वर्षमा एक दिन भोज खुवाउने गरेको स्थानीयको भनाइ छ। बालुवा तस्करीमा अवरोध नहोस् भनेर भोज खुवाउने गरेको डुकुछापका स्थानीय नवीन्द्र खड्काले जानकारी दिए। ‘एक दिनमै करोडौंको बालुवा उठाएर डिपोहरुमा पठाउँछन्,’ खड्काले भने, ‘हामीले धेरैपल्ट नदीको बालुवा तस्कर नगर्न आग्रह ग¥यौ। वडाध्यक्ष सुकबहादुर लामा र दिनेश लामाले सञ्चालन गरिरहेको अवैध बालुवाखानीमा प्रहरीको पनि मिलोमतो छ।’ उनका अनुसार वडाध्यक्ष लामाले डुकुछापका झन्डै सय घरलाई भोज खुवाउँदै आएका छन्। ‘यहाँ नयाँ मानिसका लागि सुरक्षित वातावरण छैन,’ उनले भने, ‘ललितपुरको प्रसिद्ध कटुवाल दह घुम्न जाने पर्यटक बीच बाटोमै लुटिने गरेका छन्।’ (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ