arrow

नाकाबन्दीको प्रभावः व्यवसायी आफैले पुरे २२ लाख चल्ला

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1897268083.jpeg
चितवन। भारतको अघोषित नाकाबन्दीका कारण कुखुरापालक किसानले उत्पादित चल्ला पुर्न थालेका छन् । यहाँ अण्डा उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ भने मासु बिक्रीमा ४० प्रतिशतले घटेको छ । 
 
नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले चल्ला, अण्डा, मासु र दाना उद्योग धरासायी अवस्थामा पुगेको बताउनुभयो । यस क्षेत्रमा भएको ६० अर्बभन्दा बढी लगानी जोखिम अवस्थामा पुग्ने चिन्ता बढेको उहाँको भनाइ छ । 
 
किसानले ब्वायलर चल्ला राख्न छाडेपछि ह्याचरी उद्योगीले चल्ला खाल्डोमा पुर्न थालेका हुन् । उत्पादित चल्ला किसानसम्म पुर्‍याउन इन्धन नहुनु, बुडिङ्का लागि किसानले ग्यास र तेल नपाउनु र दानाको अभावका कारण चल्ला नबिकेपछि दसैंपछि निस्किएको डवल ह्याच चल्ला पुर्न बाध्य भएको ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले बताउनुभयो । 
 
ह्याचरी उद्योगले आइतबार र बुधबार हप्ताको दुई दिन चल्ला निकाल्ने गर्दछन् । बुधबार दसैँ परेकाले आइतबार डबल ह्याच एकै पटक निकालिएको थियो । देशभरका ह्याचरीले आइतबार निकालेको २२ लाख चल्ला खाल्डो खनेर पुर्न बाध्य भएको ह्याचरी उद्योग सङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेलले बताउनुभयो । 
 
यसअघि चल्ला प्रतिगोटा ५५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । यो हिसाबले १२ करोड १० लाख रुपैयाँ बराबरको चल्ला आइतबार मात्र नोक्सान भएको पौडेलले बताउनुभयो । उहॉले भन्नुभयो, “मेरो सुलभ ह्याचरीको मात्र २२ हजार चल्ला पुर्नु पर्‍यो । यसबाट १२ लाख १० हजार एकै दिनमा नोक्सान भएको छ । चल्ला पुर्दा अप्ठ्यारो हुने भएपछि व्यवसायीले १८ दिन अण्डा सेटरमा राख्ने तर चल्ला निकाल्न ह्याचरमा नराखी अण्डा नै नष्ट गर्ने तयारी गरेका छन् । ह्याचरी मेसिनमा अण्डा राखेको २१ दिनमा चल्ला निस्कन्छ । 
 
नेपालमा १६२ वटा ह्याचरी उद्योग रहेका छन् । ह्याचरी मेसिनलाई चौबिसै घन्टा सञ्चालन गर्नुपर्ने हुन्छ । विद्युत्भार कटौतीको समयमा कालोबजारीमा महँगो मूल्यमा तेल किनेर मेसिन सञ्चालन गर्नुपर्ने र चल्ला गाड्नुपर्ने अवस्थाले व्यवसायलाई धरासायी बनाउँदै लगेको उनीहरुको गुनासो छ । 
 
यता इन्धन अभावका कारण कुखुरालाई दाना कम खुवाउन थालेपछि अण्डा उत्पादनमा भारी र्‍हास आएको छ । नेपालभर दैनिक पाँच हजार पेटीको हाराहारीमा अण्डा उत्पादन हुने गरेकामा हाल दैनिक तीन हजार २०० पेटीमा झरेको छ । दाना नपाएपछि किसानले कुखुरालाई आधा पेट दाना खुवाएका छन् । कतिपयले कुखुरै बेचेका छन् भने कोहीले कम गुणस्तरको दाना खुवाउन बाध्य भएका छन् । कच्चापदार्थ भारतबाट नआएपछि गुणस्तरीय दाना बन्न सकेको छैन । 
 
नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले इन्धन अभावका कारण देखिएको समस्याले अण्डा उत्पादक कृषकलाई निरास बनाउँदै व्यवसाय धरासायीतर्फ धकलेको बताउनुभयो । हाल महँगो मूल्यमा भए पनि इन्धन खरिद गरेर नपुगेको स्थानमा अण्डा पुर्‍याउने कार्य सुरु गरिएको उहॉले बताउनुभयो । यसका लागि ठूलो अण्डाको बिक्री मूल्य २५५ र सानो अण्डाको बिक्री मूल्य २१५ रुपैयाँ प्रतिक्रेट तय गरिएको पनि केसीले बताउनुभयो । 
 
इन्धन अभावका कारण ढुवानी प्रभावित भएपछि यसअघि ठूलो अण्डा २१० र सानो अण्डा १८० प्रतिक्रेटसम्ममा बिक्री गर्न किसान बाध्य भएका थिए । 
 
नाकाबन्दीका कारण कुखुराको मासुको बिक्री पनि प्रभावित बनेको छ । दैनिक पाँच लाख किलो बिक्री हुँदै आएकामा हाल तीन लाख किलोको हाराहारीमा मात्र बिक्री हुन थालेको मञ्चका अध्यक्ष कँडेलले बताउनुभयो । इन्धन र ग्यासको समस्याका कारण होटल बन्द छन् भने पर्यटकको आगमन शून्य छ । 
 
ग्यास अभावले घरायसी प्रयोजनमा पनि मासुको प्रयोगमा कमी आएको छ । बिक्री गर्नेहरुले इन्धनको अभावमा ढुवानी गर्न सकेका छैनन् भने ग्यास नहुँदा सरसफाइ प्रभावित भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ