arrow

कञ्चनपुरका कृषकहरु आधुनिक कृषियन्त्रतर्फ आकर्षित

गहुँ काट्न रिपर वाइन्डर मेसिनको प्रयोग

logo
हरिश्चन्द्र बाग,
प्रकाशित २०७४ चैत २२ बिहिबार
krishi_(2).jpg

कञ्चनपुर । कञ्चनपुरका कृषकहरु आधुनिक कृषि यन्त्रतर्फ आकर्षित भएका छन् । गहुँ काट्ने समयमा किसानहरुले समय र जनशक्तिको बचत गर्दै रिपर वाइन्डर मेसिनको प्रयोग गरिरहेका छन् ।  एकातर्फ मजदुर नपाइने समस्या र अर्कोतर्फ उपकरण प्रयोगले सस्तोमा प्रभावकारी काम हुने भएपछि किसानहरु रिपर वाइन्डर मेसिनतर्फ आकर्षित भएका हुन् । कञ्चनपुर जिल्लाका केही अगुवा किसानहरुले गहुँ काट्ने र तत्कालै बाध्न सक्ने मेसिन भित्र्याएका छन् । यसको प्रयोगबाट किसानले मजदुर समस्याबाट मुक्ति पाएका त छन् नै अर्कोतर्फ चाँडो काटिने हुँदा सुकेर नष्ट हुने समस्याबाट पनि मुक्ति पाएका छन् ।

बिघौंबिघा गहुँ बाली लगाएका किसानले मजदुर नपाइरहेका बेला कृषिमा भित्रिएको यान्त्रीकरणले कृषकहरुलाई सहज भएको छ । गहुँ हातले काट्न जनशक्ति पाइँदैन, जनशक्ति पाइहाले पनि महंगो पर्न जान्छ, अगुवा किसान आसरे राम बडायक भन्छन्, १ बिघा जमिनमा लगाएको गहुँ रिपर वाइन्डर मेसिनले बढीमा दुई घण्टामा काटिसक्छ । मजदुरले काट्ने हो भने एकदिनमा १५–२० जना चाहिन्छ र जस्का लागि कम्तिमा पनि ६ हजार रुपैयाँ खर्च हुने गर्छ । तर यो मेसिनको प्रयोगले न्युन जनशक्तिमा पनि धेरै काम गर्न सकिनेछ ।

अहिले कञ्चनपुरमा परीक्षणका क्रममा रहेको गहुँ काट्ने र तत्कालै बाध्न सक्ने रिपर वाइन्डर मेसिन प्रति धेरै किसानहरु आकर्षित भए पनि अझैँ सबै किसानको पहुँचमा यो मेसिन पुगि सकेको भने छैन । उक्त मेसिनले खेत बराबर भएमा कहिकतैँ पनि गहुँ नछोडी काट्ने गरेको छ । तर खेत बराबर नभएमा गहुँ छर्नु अगाडी नै जमिनलाई सम्म पार्ने लेन्ड लेजर ल्याभलर मेसिनको प्रयोग गर्नुपर्ने कृषि प्र्राविधिक हरिश सेटी बताउँछन् ।

नेपालमा हाल रिपर वाइन्डर मेसिनको मूल्य ६ लाखको हाराहारीमा पर्ने गर्दछ । तर कञ्चनपुरका थुप्रै स्थानीय तहका कृषि विकास शाखाले ५० प्रतिशत छुटमा उपलब्ध गराउने गरेका छन् । महंगो भएकोले सबै किसानले खरिद गर्न नसक्ने हुँदा स्थानीय तहले यसको व्यवस्थापन मिलाउन सके साना किसानहरुको समेत यसमा पहुँच पुग्न सक्ने  बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख रण बहादुर मल्लको भनाइ छ ।

स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरु आएसंगै किसानहरुले पनि केही राहातको अपेक्षा गरेका छन् । किसानहरुको बाहुल्यता रहेको बेलौरी नगरपालिकामा स्थानीय सरकारले किसानहरुलाई विशेष प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तयार गरिने बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको भनाइ छ ।

अहिले नेपालमा आधुनिक कृषि प्रणालीको नाराले प्रश्रय पाउँदै गएको छ । तर सबै किसानले अझै कृषिमा नयाँ औजारको प्रयोग गर्ने क्षमता राख्दैनन् पनि । त्यसैले अब स्थानीय सरकारले त्यहाँका किसानको हितमा कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्नु आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ