arrow

यसरी आउने भयो नेपालमा पानीजहाज 

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
pani-jahaj.jpg

काठमाडौं । नेपालका गण्डकी, कोसी र कर्णाली नदीबाट पानीजहाज चलाउन सकिने सम्भावना देखिएको छ। भारत र नेपालबीच शनिबार भएको इनल्यान्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सम्झौताअनुसार यी तीन वटै नदी भारतको गंगामा गएर मिसिने भएकाले यिनै नदीमा जहाज चलाउन सकिन्छ।

भारतले गण्डकी नदी गएर मिसिने गंगाको कालुघाटमा पानीजहाजको निम्ति आवश्यक संरचना बनाइरहेको छ। यो स्थानसम्म भारतले दुई हजार टनसम्मका जहाज ल्याउने र सोही स्थानबाट नेपालले ४–५ सय टनसम्मको पानी जहाज छिराउन सक्ने जल तथा ऊर्जा आयोगका पूर्वसहसचिव केशवध्वज अधिकारीले जानकारी दिए।

उनका अनुसार कालुघाट सिमाबाट दुई सय किमिभित्रै पर्ने र यो स्थान तत्कालका निम्ति पानी जहाज चलाउने गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। यो स्थानको प्रयोग गरेर र आवश्यक संरचना बनाएर नेपालले पनि सिमानासम्म जहाज ल्याउन सक्छ। पानी जहाज चलाउन पानीको गहिराइ मापन गर्नुपर्ने, नेपालले पनि नदी किनारसम्म सडक वा रेलको पूर्वाधार पुर्याउने काम गर्नुपर्छ।

कर्णाली नदीलाई पनि भारतको घाग्रा हुँदै जहाज ल्याउन सकिन्छ। समुद्रमा जहाज चलाउने जलमार्ग नेपालको निम्ति नभए पनि आन्तरिक नदीमा जहाज चलाउन इनल्यान्ड वाटरवेजको भने सम्भावना भएकाले नै ओलीले शनिबार भारतसँग सम्झौता गरेका हुन्।

भारतले कालुघाटलाई छिट्टै विकास गर्न सक्ने भएकाले पनि नेपालले पनि सोही स्थानको प्रयोग गरेर जहाज ल्याउने सम्भावना छ। नेपालले आन्तरिक नदीको प्रयोग गरेर सानो जहाज सञ्चालन गर्न सकेको अवस्थामा हल्दिया वा भिशाखापट्टम बन्दरगाहसम्मको हजार किमिको दूरी तय नै गर्नु पर्दैन। यसले गर्दा नेपालले पनि छिटो आफ्नै सीमानासँग पानी जहाजको पहुँचमार्फत सामान ल्याउन र लान सकिन्छ। यसले नेपालाई थप सहज र फाइदा हुन्छ। नवलपरासी, चितवन र भारतको बोर्डरसम्म पनि ल्याउन सकिन्छ। यसलाई विस्तार गरेर भविष्यमा नारायणघाटसम्म नै ल्याउन सकिने सम्भावना देखिएको उल्लेख छ।

जहाज चलाउन बाँधमा जहाज छिराउने लकको संरचना बनाउने, पुल मुनिबाट जहाज छिर्ने गरी बनाउनुपर्ने, पानीको गहिराई दुई मिटर कायम गर्नुपर्ने र स्टेसन बनाउनेसम्मको काम गर्न भने चुनौतीपूर्ण रहेको पनि अधिकारीले जानकारी दिए। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ