arrow

अलपत्र विकास योजनाका विषयमा चासो बढ्दै

logo
जीवन शर्मा,
प्रकाशित २०७४ चैत २६ सोमबार
photo_anugaman.jpg

ओखलढुंगा । ओखलढुंगाका विभिन्न योजनाको लामो समयदेखि ठेक्का लिएर समयमा काम नगरी विकास निर्माणलाइ अलपत्र बनाउँने ठेकेदार प्रति जनप्रतिनिधिहरु असन्तुष्ट देखिएका छन् । उनिहरुले त्यस्ता ठेकेदार विरुद्ध कारबाही गर्ने भन्दै पछिल्लो समयमा  विकास निर्माणका कामको अनुगमनलाई तिब्रता दिएका हुन् ।

निर्वाचित सांसद, जिल्ला समन्वय समितिका प्रमुख र  स्थानीय तहका जनप्रतिनिधिले काम नगर्ने ठेकेदार विरुद्ध कारबाही गर्ने भन्दै अनुगमनलाइ तिब्रता दिन थालेको बताएका छन् ।  जनप्रतिनिधि नहुँदा ओखलढुंगामा लामो समयदेखि ठेक्का लागेर पनि विकास आयोजनाका कामहरु सम्पन्न हुन सकेका थिएनन् ।  अव सबै मिलेर विकास निर्माणका काममा भएको ढिला सुस्ती रोक्न लाग्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताए । आज जिल्लाको मोलुङ र शुनकोशी गाउँपालिका जोड्ने मोलुङ खोलाको चार बर्ष अघि ठेक्का लागेको पक्की पुलको अनुगमन गर्दै सङघिय सांसद यज्ञराज सुनुवार र जिल्ला समन्वय प्रमख श्रेष्ठले  काम अलपत्र पार्ने ठेकेदारलाई नागरिकमाझ ल्याएर काम अघि बढाउने प्रतिवद्धता जनाउन लगाएका छन् ।

तीन पटक म्याद थपगरि ०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम भर्खर सुस्त गतिमा सुरु भएको छ । मोलुङ एकवार सडक आयोजना अन्तरगत पर्ने मोलुङ दोभान र मान्द्रे दोभानको पुल निर्माणको काम आगामी पौष मसान्तसम्ममा सम्पन्न गर्ने ठेकेदारले प्रतिबद्धता जनाएका छन् । जेठ मसान्तसम्ममा पुलको जिप तयार गर्ने, मंसिर मसान्त सम्ममा ट्रष्ट जोड्ने र पुस मसान्तसम्ममा पुल निर्माण सकिने वाइवा केउरीनी जेभी कन्ट्रक्सनका प्रतिनिधि रविन्द्र लामाले प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘विभिन्न कारणले ढिला भयो अब काम तीव्र गतिमा अघि बढ्छ ।’ लामाले भने,‘पुस मसान्तसम्ममा पुल बनाई सकेर गाडी गुड्ने बनाउँछु ।’

 भ्याट सहित ४ करोड ३ लाखमा मोलुङ दोभानको पक्कि पुल २०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरि २०७३ असारमा वाइवा केउरीनी जेवी कन्ट्रक्सनले ठेक्का सम्झौता गरि जिम्मा लिएको थियो । सम्झौता अवधि सकिन ३ महिनामात्रै बाकीँ छँदा भर्खरै काम सुरु भएको हो । सोही कन्ट्रक्सनले २ वर्ष अघि सक्नेगरि ठेक्का लिएको मान्द्रे दोभानको पुलको काम समेत अघि बढ्न सकेको छैन । दुवै पुल निर्माणको काम आगामी पौष मसान्तसम्ममा सक्ने ठेकेदार लामाले प्रतिवद्धता जनाएका छन् । मोलुङ खोला पुल अनुगमन पछि  सडक अनुगमन गर्न प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवार जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्मासहितका सरोकारवालाको टोली आजै मुलखर्कको भुल्के पुगेका थिए ।

 २०७० सालमा सुरु भएको उक्त मोलुङ एकवारको काम मुलखर्कको भुल्केसम्म पुगेको छ । सो अनुगमनका गएका सांसद यज्ञराज सुनुवारले मयमा काम नगर्ने ठेकेदारलाइ दोस्रो पटक मौका नदिने चेतावनी दिए । प्रतिवद्धता जनाए अनुसार काम नगरे कालो सुचिमा राखेर कारबाही प्रक्रिया अघि बढाउँने जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठले बताए । अहिले जिल्लामा दर्जनभन्दा बढी विकासका आयोजनाहरु निर्माण सम्पन्न गरि सक्नुपर्ने समय सकिँदासम्म काम सुरु नै गरिएको छैन । भने कतिपय आयोजनाहरु आधा काम गरेर अलपत्र अवस्थामा छाडिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ