arrow

प्रधानमन्त्रीज्यू प्लाष्टिकको बोतलले स्वर्गकी अप्सरा कुरुप बन्लिन् कि सुन्दर ? 

logo
प्रकाशित २०७५ वैशाख १ शनिबार
oli-rara1.jpg

काठमाडौं । नेपालको प्राकृतिक सुन्दरताको बयान संसारभर छ । सृष्टीकै अनुपम स्थानहरूले हामीलाई धनी बनाएको छ। तर माल पाएर पनि हामीले चाल पाइनरहेको हाम्रो गतिविधीले पुष्टी गर्दै आएको छ I पछिल्ला वर्षहरूमा नेपालमा जति पनि भर्जिनल्याण्ड छन् तिनीहरुलाई प्लास्टिकले हैरान पारेको छ । 

हिमालदेखि तराईसम्म प्लाष्टिकले मुलुकको वातावरण सकिँदै गएको छ । यस्तो लाग्छ सगरमाथादेखि तराईसम्मका हाम्रा रमणीय क्षेत्रहरुमा प्लाष्टिककै भण्डार हुँदैछ ।  

कर्णाली प्रदेशको रारातालको प्रचार गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यति स्वच्छ क्षेत्रमा पनि काठमाडौंदेखि लगिएको मिनिरल वाटरको बोतल र प्लाष्टिकले बेरिएको फुलको बुके लगेर राराको स्वच्छता र सुन्दरतालाई चुनौति दिएका छन । साथै राएको वातावरणमाथि गम्भीर प्रश्न खडा गरेका छन् । 

रारा कञ्चन छ । जो रारा पुगेका छन् स्वर्गको अप्सरा भन्छन् । चाहे राजा महेन्द्र जाउन् वा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली । ओलीले जवानीमै त्यो क्षेत्र घुम्ने सल्लाह दिए । 

तर त्यसो भनिरहँदा त्यस्तो कञ्चन ठाउँलाई प्रचार गर्ने हो भने त्यहाँकै कञ्चन पानीको प्रचार गर्न सकेको भए के हुन्थ्यो ? 

करुवा लिएर त्यहाँको स्थानीय पानी राख्न सकिन्थ्यो । तर दुर्भाग्य ओलीले त्यही प्लाष्टिकजन्य बोतललाई अगाडि राखेर भाषण गरिरहँदा त्यहाँका स्थानीयहरु भने उनले राष्ट्रका नाममा गरेको सम्बोधन समेत नसुनी हिंडिरहेका दृष्य देखिनु टीठ लाग्दो थियो । 

ओली जहाँ जान्छन् त्यहाँ उनका कार्यकर्ता झुमिन्छन् र सफल बनाउँछन् । तर कर्णालीलाई किन पछौटे बनाउन खोजिन्छ ? 

के कर्णालीलाई फेरि पनि केन्द्र सरकारले ब्यापारको दृष्टिले हेरिरहेको हो ? कर्णालीमा प्लाष्टिकको बोतल र चाउचाउका खोलले भरिने हो भने वातावरण बिग्रनेमात्र होइन स्थानीय विकास समेत हुने छैन । 

वातावरण मन्त्री भएर ओली सरकारमा छिरेका लालबाबु पंडित यतिबेला सामान्य प्रशासन  मन्त्रालयमा छन् । तिनै पंडितले घोषणा गरेको वातावरणको योजनाको ओलीले धज्जी उडाइरहेका छन् । 

अमुक मिनिरल वाटर कम्पनीको विज्ञापन गरेर ओलीले कर्णालीलाई ब्यापारको सुरक्षित स्थल बनाउन खोजेका त हैनन् भनी सामाजिक संजालमा आलोचना भइरहेको छ । 

आउँदा दिनमा ओलीले यसमा विचार गर्लान् वा जे गरिरहेका छन् सही गरिरहेका छन् भनेर उनका कार्यकर्ताले भनेर यसलाई निस्तेज पारिदेलान् । 

सरकारले औपचारिक कार्यक्रममा त्यस्ता मिनिरल वाटरको बोतल देखाउन हुने कि नहुने भन्नेसमेत प्रश्न तेर्सिएको छ । 

रारा राष्ट्रिय निकुञ्जभित्रको पातसमेत उठाउन नदिने नेपाली सेनाले समेत राराभित्र बढेको फोहरलाई हेरिमात्र रहेको छ । 

यस्तै स्थिति रहे मुगुको राराको हाल पनि त्यस्तै हुनेछ जुन पोखराको फेवातालको भइरहेको छ । रारामा पुग्नैपर्ने बताउनेहरु अहिले रारा आसपसमा बढदो प्लाष्टिकजन्य फोहरका कारण चिन्तित छन् ।

सरकारले प्लाष्टिकजन्य फोहरलाई नियन्त्रण गर्न नसक्ने हो भने स्वर्गकी अप्सरा छिट्टै कुरुप बन्ने स्थानीय कर्ण मल्ल बताउँछन् । 

प्रधानमन्त्रीलाई स्वागत गर्नलाई काठमाडौंबाटै प्लाष्टिकले बेरेको बुके रारा पुरयाइयोI कर्णालीको धुपी र लालिगुराँसको वास्ता गरिएन । लालीगुराँँस र धुपीमा किन एलर्जी ? 

कर्णालीलाई कतै झन् बढी दलदलमा फसाउन खोजिएको हो वा अन्जानमा भएको गल्ती हो ? 

प्रधानमन्त्री ज्यू तपाई गम्भीर नभए कसले यो फोहर व्यवस्थापन गर्छ । तपाईको डफ्फाले राराको प्रचार गर्न गएका बेलामा गरेको फोहर के काठमाडौं फर्किन्छ ? 

बैशाख १ लक्षित कार्यक्रमका लागि नै १५ हजार आन्तरिक पर्यटक गएको बताइन्छ । के उनीहरुले त्यसको व्यवस्थापन गर्लान् ? अहिले गएकाले रारा हेर्लान पछि रारामा पनि चाउचाउ, बिस्कुट र पानीका बोतल हेर्न जाने ? कि पछि हामीले रारा चाउचाउमा चित्त बुझाउने ?

बेलैमा सचेत होऔं । प्रधानमन्त्री ज्यू विपक्षीलाई साना साना कुराले पनि चिमोट्ने तपाईलाई चिमोट्न के गर्नु पर्ने हो र तपाई वातावरणप्रति झस्कनु होला ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ