arrow

चीनसँगका सम्झौताः कहाँ पुग्यो कार्यान्वयन ?

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
oli-xi-jing-ping.jpg.jpeg

काठमाडौं। उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन्। यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा निस्कँदै छन्। 

प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा बेइजिङमा भएको पारवहन सम्झौताको ‘प्रोटोकल’ ले पनि अन्तिम रूप पाउन सकेको छैन। सम्झौतासँगै चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयनमा चिनियाँ पक्षले चासो देखाए पनि यसले पनि अझै अन्तिम रूप पाएको छैन।

चीनसँग भएका रेलमार्ग, आर्थिक सहकार्यलगायत सहमति र सम्झौता कार्यान्वयन तहमै पुग्न नसकेको अवस्थामा परराष्ट्रमन्त्रीको भ्रमणले अर्थपूर्ण छलफल गर्ने अपेक्षा परराष्ट्र अधिकारीले गरेका छन्।

अधिकारीहरूका अनुसार उत्पादन क्षमता वृद्धि र चिनियाँ लगानी भित्र्याउने विषयको प्रोटोकल भने अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र व्यापार क्षेत्रमा चिनियाँ पक्षले आफ्नातर्फबाट काम सकेर नेपालसमक्ष धारणा राखिसकेको छ । त्यसमा नेपालले अध्ययन गरिरहेको बताइए पनि टुंगो लाग्न सकेको छैन।

चीनसँग पारवहन सम्झौता भएको एक वर्षपछि नेपालले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयनमा हस्ताक्षर गर्‍यो तर त्यसमार्फत लगानी भित्र्याउन खासै पहल गरेको छैन । २०७४ असार पहिलो साता नेपाल–चीन परराष्ट्र सचिवस्तरीय परामर्श समितिको ११ औं बैठकमा पनि यसअघि भएका सम्झौता र प्रधानमन्त्री स्तरका भ्रमणमा भएका सहमतिबारे छलफल भए तर कार्यान्वयनमा कुनै प्रगति हुन सकेन । दुईपक्षीय तथा बहुपक्षीय विषयमा पुनरावलोकन गर्न बनेको उक्त संयन्त्रको बैठक ४ वर्षपछि बसेको थियो । माघमा अर्को बैठक बेइजिङमा बस्ने भनिए पनि बसेन।(कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ