arrow

ओलीको चीन भ्रमणअघि मोदी काठमाडौंमा 

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
oli-modi_new.jpg

नयाँदिल्ली । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणबाट फर्किएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ। नेपाली प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप मोदीको नेपाल भ्रमणबारे सार्वजनिक हुनु स्वाभाविक थियो। 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा स्थगित मोदीको भ्रमण दुई देशबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण लम्बिएको हो।

भारतको कर्नाटक राज्यको विधानसभा चुनावअघि वा पछि मोदीको नेपाल भ्रमण हुने चर्चा चलिरहेको थियो। कर्नाटक चुनाव मे १२ (वैशाख २९) मा हुँदै छ भने मतपरिणाम मे १५ (जेठ १) मा घोषणा हुनेछ। ‘ वैशाख अन्तिम साता वा जेठ पहिलो साताको सम्भावित मितिमा भ्रमणको तयारी भइरहेको छ। मोदीको आसन्न भ्रमणको तयारी गर्न सबै सरकारी संयन्त्रलाई अलर्ट गराइएको छ’, स्रोतले जानकारी दियो। 

उता, काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले पनि मोदी भ्रमणको तयारी भइरहेको स्विकारेका छन्। उनले भनेका छन्, ‘भ्रमणको मिति तय नभए पनि तयारी भने चलिरहेको छ।’

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा प्रधानमन्त्री ओलीको स्वागत गर्न चीन आतुर रहेको जनाएको थियो। मोदीलाई नेपालमा स्वागत गर्ने कि आफू चीन जाने द्विविधामा रहेका ओलीले मोदीको स्वागत गर्नु उपयुक्त ठानेकाले उनको चीन भ्रमणअघि नेपालमा मोदीको स्वागतको तयारी भइरहेको बुझिएको छ। 

भारतीय संस्थापन पक्ष र ओलीबीच रहेका शंका–उपशंका मेटाउन पनि दुई देशबीच प्रधानमन्त्रीस्तरीय भ्रमण विगतकै योजनाको कार्यान्वयन रहेको बुझाइ केही विश्लेषकको छ।

‘मुख्यतः नाकाबन्दीको विरोध गरेका ओलीलाई भारतसँग सम्बन्ध सुधार गर्नु थियो भने भारतका लागि पनि त्यो उत्तिकै आवश्यक छ। ओलीको विगत प्रधानमन्त्रीकालमा नेपालसँग बिग्रिएको सम्बन्ध, नेपालमा चीनको बढ्दो प्रभावलगायत तथ्य स्मरण गरेरै फेरि ओली सत्तारूढ भएको समयमा सम्बन्ध राम्रो रहेको सिग्नल भारतले दिन खोजेको हुनुपर्छ’, प्रेस ट्रस्ट अफ इन्डियाकी वरिष्ठ पत्रकार प्रियंका टिक्कुले भनिन्।

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिल्लीमा शुक्रबार भएको भेटमा दीर्घकालीन रूपमा समस्याग्रस्त नेपाल–भारत सम्बन्ध पुनरवलोकन गरी नयाँ आधारमा सम्बन्ध स्थापना गर्न आवश्यक रहेको दोहोर्याएका थिए। ‘एउटा व्यक्ति विशेषको भ्रमण क्रममा भएका वार्ताले मात्र नेपाल–भारत सम्बन्धमा रहेका संरचनात्मक समस्या समाधान हुँदैनन्’, उनले भने।

यद्यपि, ओलीको भारत भ्रमणपछि परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमण नजिकबाट नियालिरहेको दिल्लीको मुड त्यसपछि बाहिरिने विश्लेषकले बताउँदै आएका थिए। ओली सरकारले चीनसँग कस्तो प्रतिबद्धता गर्छ र त्यसपछि चीनको कस्तो आधिकारिक प्रतिक्रिया आउँछ भनी दिल्लीले पर्खेको उनीहरूले बताउँदै आएका थिए। भारत भ्रमणमा एक किसिमका प्रतिबद्धता गर्ने र चीनसँग ठीकविपरीत जोडदार प्रतिबद्धता गर्ने भन्दै ओलीको विगतको छविप्रति दिल्ली अझै विश्वस्त हुन सकेको छैन।

आन्तरिक राजनीतिमा मोदीलाई छिमेकी देशसँग सम्बन्ध सुधार गर्नुपर्ने बाध्यता छ भने ओलीले पनि घरेलु राजनीतिमा माओवादी केन्द्रसँग पार्टी एकतामा बढ्दै गएका चुनौती झेल्नु छ। फलस्वरूप ओलीको भारत भ्रमण सत्ता सुरक्षित गर्ने आधार र मोदीको आसन्न नेपाल भ्रमण आन्तरिक राजनीतिक सन्तुलनको प्रयास रहेको बुझाइ विश्लेषकको छ।

कर्नाटक राज्यको चुनावअघि नै नेपाल भ्रमण गराउने भारतको कूटनीतिक प्रयास भइरहे पनि प्रधानमन्त्री मोदीको चाहना कर्नाटकको चुनावपछि भ्रमण गर्ने बुझिएको छ। नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीको आक्रामक कूटनीति र भारतीय सत्तापक्षबीचको समन्वयले नेपाल–भारत सम्बन्धमा पछिल्ला घटनाक्रम विकसित भइरहेको बुझाइ दिल्लीको छ। 

दुई देशबीचको सम्बन्ध एकअर्काका लागि उत्तिकै महत्वपूर्ण भए पनि दिल्लीको अनुकूलताबमोजिम नै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको थियो भने अहिले पनि मोदीको अनुकूलताअनुसार भ्रमण योजना बन्दै छ। 

कार्यकालको अन्तिम वर्षमा रहेका मोदीले भर्खरै स्विडेन, बेलायत र जर्मनी भ्रमण गरेका थिए। नेपालसँग सम्बन्ध सुधार अहिले मोदीको बाध्यात्मक प्राथमिकता बनेको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ