arrow

राष्ट्रपतिमा तीन उमेद्वारः काँग्रेसबाट केबी, एमालेबाट विद्या र नेमकिपाबाट नारायण

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
622684657.jpeg
काठमाडौँ। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा तीन उमेद्वारको मनोनयन परेको छ। नेपाली काँग्रेसबाट केबी गुरुङ, एमालेबाट विद्या भण्डारी र नेमकिपाबाट नारायण
महर्जनको उमेद्वारी परेको हो। 
 
नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर उहाँले आज अपराह्न १२:१५ मा उम्मेदवारी दर्ता गराउनुभएको हो । गुरुङको प्रस्तावमा काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ । 
 
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले काँग्रेस पुरानो एवम् लोकतान्त्रिक पार्टी भएको र आफू त्यसको सक्रिय र पुरानो कार्यकर्ता भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिएको बताउनुभयो । 
 
आफू विगतदेखि नै लोकतन्त्रको पक्षमा लगातार लड्दै आएकाले विजय सुनिश्चित भएको र संसद्मा रहेका सबै दलले सहयोग गर्ने समेत उहाँको भनाइ छ । संसद्को सार्वजनिक सुनुवाइ समितिका सभापतिसमेत रहनु भएका गुरुङ काँग्रेसका पुराना नेता हुनुहुन्छ । 
 
यसअघी नेपाली काँग्रेसले बुधबार हुने राष्ट्रपतिको निर्वाचनमा नेता कुलबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पूर्वमहामन्त्री गुरुङलाई राष्ट्रपति र अमियकुमार यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । 
 
गुरुङ काँग्रेसमा इमान्दार छविका पाका नेताका रुपमा परिचित हुनुहुन्छ भने यादवले काँग्रेसमा मधेसबाट प्रतिनिधित्व गर्नुहुन्छ । काँग्रेसले आफ्ना उम्मेदवारलाई विजयी गराउन संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय पनि गरेको छ । 
 
नयाँ संविधान जारी भएसँगै संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन भइसकेको छ भने राष्ट्रपतिको निर्वाचन बुधबार र उपराष्ट्रपतिको निर्वाचन यही असोज १४ गते हुने तय भएको छ । 
 
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले यसअघि प्रधानमन्त्रीको निर्वाचनमा सभापति सुशील कोइरालालाई उम्मेदवार बनाएको थियो भने सभामुख र उपसभामुखमा क्रमशः एकीकृत नेकपा (माओवादी) ओनसरी घर्ती र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गङ्गाप्रसाद यादवलाई सहयोग गरेको थियो । 
 
यसअघि आजै काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा बसेको पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको थियो । आजै राष्ट्रपतिको निर्वाचनका बारेमा काँग्रेस नेताले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उहाँकै निवासमा पुगी छलफल गरेका थिए । 
 
प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले सोमबार मात्र आफ्नो पार्टीबाट तर्फबाट उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तथा एमाओवादीले नन्दबहादुर पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका छन् । 
 
भण्डारीको उम्मेदवारी दर्ता, प्रस्तावकमा दाहाल
काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा नेकपा(एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता भएको छ । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ बजेर ५ मिनेट जाँदा सो उम्मेदवारी दर्ता गरिएको हो । भण्डारीका प्रस्तावकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ । 
 
त्यस्तै समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरी, नेकपा(माले)का महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(संयुक्त)का सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल हुनुहुन्छ। 
 
सत्ता गठबन्धनमा सहभागी दलका तर्फबाट संयुक्त उम्मेदवारको रुपमा भण्डारीको उम्मेदवारी दर्ता गराइएको एमालेका सचेतक गोकुल घर्तीले जानकारी दिनुभयो । एमालेको सोमबार बसेको स्थायी समितिको बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सहमतिका आधारमा राष्ट्राध्यक्ष चयन हुन नसकेपछि दलहरुले बहुमतीय प्रक्रियाका आधारमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् । 
 
राष्ट्रपतिमा महर्जनको उम्मेदवारी दर्ता
काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा आज अपराह्न १२:१५ मा नेता महर्जनले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा सोही पार्टीका सांसद प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले रहनुभएको छ । 
 
उम्मेदवारी दर्ता गराएपछि महर्जनले संवैधानिक व्यवस्थानुसार नै आफूले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिनुभयो । संविधान लेखन प्रक्रिया र राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले खेलेको भूमिकालाई संसद्मा रहेका सबै राजनीतिक दलले सम्मान गर्ने र आफूलाई विजयी गराउने जिकिर उहाँले गर्नुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ