arrow

राजतन्त्र गयो तर सामन्तवाद गएन, नेताको कार्यशैली उस्तै

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
sripech.jpg

काठमाडौं । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत् छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई स्थापित गराइसकेको छ ।

गणतन्त्र स्थापना गरी नेपालको राजनीतिलाई नयाँ उचाइमा पुर्याउँदै सार्वभौमसत्ता, राजकीय सत्ता जनतामै स्थापित भएको दिनका रूपमा लोकतन्त्र दिवसलाई स्मरण गरिन्छ ।

तत्कालीन सात राजनीतिक दल र माओवादी विद्रोहीले १२ बुँदे सहमति गर्दै संयुक्त जनआन्दोलन गरेपछि लोकतन्त्र प्राप्त भएको थियो । यो आन्दोलनले विघटित संसद् पुनःस्थापित गराएको थियो । पुनःस्थापित संसद्ले राजतन्त्रलाई निलम्बन मात्र गरेन, राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

०६२–६३ को जनआन्दोलनले निरंकुश राजतन्त्र अन्त्य गरे पनि नेतामा रहेको सामन्तवादी चिन्तन अझै नगएको कतिपय नेताको बुझाइ छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको भनाइमा निरंकुश राजतन्त्र अन्त्य ००७ साल देखिको आन्दोलनको पृष्ठभूमिमा दोस्रो जनआन्दोलनले गरे पनि राज्य सञ्चालकमा अझै सामन्ती संस्कारले जरा गाडिरहेको छ ।

‘सबै राजनीतिक दलका नेतृत्व सामन्ती हुन खोजेको अहिले पनि देखिन्छ । म भन्छु तिमी मान है १ भनेर हुकुम दिन खोजिएको पाइन्छ । यो एउटा दलमा मात्र होइन, सबै राजनीतिक दलमा देखिएको छ,’ कांग्रेस नेता सिटौला भन्छन्, ‘सामन्ती व्यवस्था अन्त्य गर्ने तर त्यस्तो संस्कार आफैं बोक्ने कुरा राम्रो होइन, यसविरुद्ध पनि हरेक राजनीतिक दलभित्रै आन्तरिक संघर्ष आवश्यक छ ।’

तर, पार्टीभित्र देखिएका त्यस्ता प्रवृत्ति सधैं निर्णायक हुन नसक्ने ठान्छन्, पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल । उनी नेपालमा सामन्तवाद राजनीतिक, आर्थिक रुपले समाप्त भइसकेकाले राजनीतिक दलका नेतामा यदाकदा देखिन खोज्ने सामन्तवाद अवशेष मात्र भएको टिप्पणी गर्छन् ।

खनाल भन्छन्, ‘निरंकुश राजतन्त्र सकिएको छ । देश स्वतन्त्र, लोकतान्त्रिक गणतान्त्रिक नेपालमा रुपान्तरण भइसकेको छ । यस्तो बेला व्यक्तिका स्वार्थ आदि-इत्यादिमा त्यस्तो प्रवृति हुन सक्छन् तर ती अवशेष मात्र हुन् । निर्णायक हुन सक्दैनन् ।’

संविधानसभाबाट निर्माण भएको संविधान अझै कार्यान्वयनको चरणमै रहेको र कतिपयले संविधानका प्रावधानमा असन्तुष्टि राखिरहेका कारण त्यसको सही व्यवस्थापन राजनीतिक दलसामु नयाँ चुनौती भएको माओवादी नेता अमिक शेरचन बताउँछन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ