arrow

कांग्रेस बैठकमा देउवाको काम – टाउको हल्लाउने, सुन्ने

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
congress-office.jpg.gif

काठमाडौं । निर्वाचन समीक्षामा केन्द्रित रहन बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृत्वमाथिको आरोप पेचिलो बन्न थालेको छ । नेतृत्वको कार्यशैली र व्यवहारका कारण पार्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हार बेहोर्नुस् परेको भन्दै संस्थापन इतरका नेताहरू खनिँदा सभापति शेरबहादुर देउवा आरोप सुन्दै टाउको हल्लाउँदै बसेका छन् ।

देउवा पक्षका नेताहरू भने वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला समूहसहितका युवा नेताहरूबाट भएको आलोचनाको बचाउमा व्यस्त छन् ।

सोमबारको बैठकमा नेतृ किरण यादवले सभापतिका कारण निर्वाचनमा हार बेहोर्नुर्‘ परेको भन्दै देउवाको आलोचना गरिन् । हारको जिम्मेवारी कमान्डरले स्विकार्नुपर्ने भन्दै उनले टिकट वितरणको प्रक्रिया गलत भएको बताइन् । उनले भनिन्, ‘त्यसै कारणले गठबन्धन गरिएका स्थानमा तालमेल हुन नसक्दा कांग्रेस पछारियो ।’

यादवले राजधानीसँग भनिन्, ‘टिकट वितरणमा देशभर एउटै प्रक्रिया अपनाइएन, मनोमानी भयो, प्रदेश २ मा त झनै रडाको देखाउने काम भयो । यसको जिम्मेवारी नेतृत्वले लिनै पर्छ । बैठकमा पनि यही कुरा उठाएँ ।’

उम्मेदवारले पार्टी नभई व्यक्ति निर्वाचनमा होमिएको जस्तो व्यवहारको सिकार हुनुपरेको भन्दै उनले निर्वाचनमा पैसाको शक्ति प्रदर्शन गर्ने काम मात्रै भएको बताइन् ।

केन्द्रीय सदस्य अम्बिका बस्नेतले भने निर्वाचनमा भएको हारको दोष सभापतिलाई मात्र थोपर्न नमिल्ने भन्दै सबैले आआफ्नो भूमिकाअनुसारको जिम्मेवारी स्विकार्नुपर्ने बताइन् ।

‘सभापतिको कारण मात्र यो परिणाम आएको होइन, हारको जिम्मेवारी सबैले पोजिसनअनुसार स्वीकार्नु पर्छ, धेरथोर सबैको दोष छ,’ उनले भनिन् ।

९ वैशाखबाट पुनः जारी बैठकमा हालसम्म ५५ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वको कमजोरी औंल्याएका छन् ।

आइतबारको बैठकमा त नेता कुलबहादुर गुरुङले देउवाको गलत प्रवृत्तिबाट हैरान भएको भन्दै महाधिवेशनका बखत सभापतिमा गरेको समर्थनसमेत फिर्ता लिने घोषणा गरेका थिए । 

पार्टी सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको १३औं महाधिवेशनमा उनकै पक्षमा खुलेर लागेका कतिपय नेताले देउवाको साथ छोड्दै आएका छन् ।

बैठकमा पार्टीका सबै कमिटी तत्काल भंग गरी महाधिवेशन गर्न माग गरिएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामका विषयमा केन्द्रीय सदस्यहरूबाट धारणा राख्नेक्रम जारी रहेको बताए ।

उनका अनुसार बैठकमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने विषयमा समेत नेताहरूको धारणा आएको छ । जारी बैठकले महासमितिको मिति तय गर्ने शर्माले बताए ।

सोमबारको बैठकमा मानबहादुर विश्वकर्मा, चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, रत्न शेरचन, सुजाता परियार, ध्यानगोविन्द रञ्जित र आमन्त्रित सदस्य आनन्द विष्टले पनि धारणा राखेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ