arrow

कस्तो तरकारी खान्छौं ? वार्षिक ५५ करोडको विषादी तरकारीमा 

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
Vegetables.jpg

पोखरा । नेपालमा बार्षिक ५५ करोड २० लाख रुपैयाँ बराबरको विषादी तरकारीमा प्रयोग हुनेगरेको तथ्य सार्वजनिक भएको छ । बाली संरक्षण निर्देशनालयका निर्देशक अच्यूतप्रसाद ढकालका अनुसार नेपालमा वार्षिक ५९ करोड बराबरको बिषदी खपत हुने गरेको छ । जसमध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको हो ।

ढकालले सन २०१५–१६ मा ५ सय ७५ टन बिषादी खपत भएको जानकारी दिए । मंगलबार पोखरामा बाली संरक्षण निर्देशनालय, बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई पोखरा र ब्यवसायीक कृषि तथा ब्यापार आयोजना (प्याक्ट)को संयुक्त आयोजनामा मंगलबार पोखरामा आयोजित ‘तरकारी र फलफुलमा बिषादीको अवशेष र द्रुत विश्लेषण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

एक हेक्टरमा १ केजी ६ ग्राम विषादी
नेपालमा तरकारी बालीमा प्रयोग भएको विषको अवस्था हेर्ने हो भने १ हेक्टर बराबर प्रति वर्ष १ केजी ६ सय ५ ग्राम बिषादी प्रयोग गर्ने गरिएको कार्यक्रममा जानकारी दिइएको छ । यो दर हरेक वर्ष बढ्दै गइरहेको बताइएको छ ।

अन्य देशको तुलनामा नेपालमा कम प्रयोग
अन्य देशको तुलनामा नेपालमा कम मात्रामा विषादी प्रयोग भईरहेको निर्देशक ढकालको दाबी छ । उनका अनुसार एक हेक्टर जमिनमा प्रति वर्ष जापानमा ११ केजी, कोरियामा १६ केजी, ईटालीमा साढे १३ केजी र छिमेकी देश भारतमा साढे ४ केजी बिषादी प्रयोग गर्ने गरिएको छ । 

नेपालमा तरकारी बाली सहित समग्रमा हेर्दा एक हेक्टर जमिनमा प्रति वर्ष ३ सय ९६ ग्राम बिष प्रयोग हुने गरेको उनले तथ्यांक सार्वजनिक गरेका छन् ।

‘विषादी औषधी होइन’
किसानले विषादीलाई औषधीको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । तर विषादी विष नै भएको ढकाल बताउँछन् । ‘बिषादी औषधी होईन, बिष हो’ उनले भने, ‘त्यसैले यसको प्रयोगमा सचेत हुनुपर्छ ।’ बिषादीले वातावरण र पानीलाई दुषित बनाउँदै पशुपन्छी र मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने बताए ।

बिषादी प्रयोगका कारण क्यान्सरसमेत हुन सक्ने र मिर्गौला, कलेजो तथा मुटुमा प्रत्यक्ष असर गर्ने उनको भनाइ रहेको छ ।

जैविक विषादी प्रयोगमा जोड
तरकारी तथा अन्य बाली लगाउँदा रासायनिक तथा जैविक बिषादी प्रयोग गर्नेतर्फ सबैको ध्यान जानुपर्ने निर्देशक ढकालले बताए । त्यसका लागि बिषादीको प्रभावबारे सचेतना जगाउन आवश्यक रहेको र त्यसमा निर्देशनालय लागिरहेको उनको भनाई छ । 

उनले बिषादीको मात्रा ३५ प्रतिशतसम्म भए उपभोग योग्य, ३५ देखी ४५ प्रतिशत सम्मलाई केहि दिन राखेर खान योग्य र ४५ प्रतिशत भन्दा माथी बिषादी भएमा त्यो खान अयोग्य अर्थात नष्ट गर्नुपर्ने जानकारी दिए ।

उपभोक्ता सचेत भए विषादी प्रयोग कम हुने
कार्यक्रममा प्रदेश नम्बर ४ का कृषि, वन, वातावरण तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले उपभोक्ता सचेत भएर अत्यधिक बिषादी प्रयोग भएका वस्तु प्रयोग नगरिदिए किसान र ब्यवसायीलाई बिषादी प्रयोग नगर्न मनोवैज्ञानिक दवाब दिने बताए । 

उपभोक्ता सचेत हुने वित्तिकै उत्पादक किसान र ब्यबसायी जैविक बिषादी प्रयोग गर्न बाध्य हुने उनको जिकिर छ । उनले भारतबाट आयातित वस्तु नेपाल भित्राउँदा वा अर्को प्रदेशबाट प्रदेश नम्बर ४ मा खाद्य वस्तु भित्राउँदा प्रमाणिकरण गरिएको मात्र भित्राउनका लागि ब्यबसायीलाई आग्रह गरे ।

जानकार भएर प्रयोग गर्नुपर्ने
बरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बिषादी प्रयोग गर्नै नहुने वस्तु नभएको बताउँदै बरु यसको प्रयोग गर्दा कुन समयमा हाल्ने, कति हाल्ने, कति पटक हाल्ने तथा बिषादी हालेको कति समयपछि मात्र खान योग्य हुन्छ भन्नेबारे जानकारी लिएर मात्र बिषादी प्रयोग गर्नुपर्ने बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ