arrow

यसरी धनी बन्दैछन् नेपाली

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
nepali-rupees.jpg.jpeg

काठमाडौं । पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार अमेरिकी डलर भन्दा बढी पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो।  

मुलुकको कुल ग्राहस्थ उत्पादन ३० खर्ब रुपैयाँमाथि पुगेपछि प्रतिव्यक्ति आम्दानी पनि त्यसै अनुसार बढेको हो । कुल ग्राहस्थ उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ५.८९ प्रतिशत हुने अनुमान गरिएको छ।

भारतीय नाकाबन्दी र त्यसअघिको विनाशकारी भूकम्पका कारण प्रतिव्यक्ति आम्दानी वृद्धि हुन नसक्ने अनुमान गरिएको बेला केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणमा  प्रतिव्यक्ति आम्दानी वृद्धि भएको देखाइएको छ।प्रतिव्यक्ति आम्दानी वृद्धिलाई विज्ञले देशको अर्थतन्त्र सकारात्मक र उत्साहपूर्वक दिशामा अघि बढेको विश्लेषण गरेका छन् ।

विभागका अनुसार यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार चार अमेरिकी डलर (बुधबारको सटही रेट अनुसार एक लाख पाँच हजार रुपैयाँ) पुगेको छ । अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी आठ सय ६६ अमेरिकी डलर थियो ।

आर्थिक वर्ष २०७४-७५ का राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै विभागका महानिर्देशक सुमनराज अर्यालले गैरकृषि क्षेत्रको आर्थिक क्रियाकलाप वृद्धि हुँदा प्रतिव्यक्ति आम्दानी बढेको बताए । विभागले सार्वजनिक गरेको प्रतिव्यक्ति आम्दानी विवरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्सलाई जोडिएको छैन । रोजगारीमा जाने नेपाली दुई वर्ष भन्दा बढी विदेशमा बस्ने गरेकाले नौ महिनाको अध्ययनमा रेमिट्यान्सलाई नसमेटिएको विभागले जनायो।

अघिल्लो वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीले छ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका थिए भने चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीबाट चार खर्ब ७१ अर्ब २६ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्सलाई समेत जोड्ने हो भने प्रतिव्यक्ति आम्दानी एक हजार दुई सय अमेरिकी डलर हाराहारीमा पुग्ने अनुमान गरिएको छ । 

विभागका तथ्यांक अधिकृत नन्दलाल सापकोटाले प्रतिव्यक्ति आम्दानी वृद्धि हुनुमा आर्थिक गतिविधि वृद्धिको कारण मात्र नभई जनसंख्या वृद्धिदर घटेकाले पनि मद्दत पुर्याएको बताए ।

विभागले प्रतिव्यक्ति आम्दानी वृद्धि भएको जनाए पनि त्यो समग्र जनसंख्यामा हो या सीमित व्यक्तिको मात्र वृद्धि भएको हो भन्नेबारे भने एकिन छैन ।

कतिपय गरिब देशमा धनीको मात्र आम्दानी वृद्धि हुने र त्यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने गरेका उदाहरण छन् । ‘अहिले नेपालमा कुन वर्गको कति आम्दानी वृद्धि भयो भन्नेबारे अध्ययन गरिएको छैन,’ सापकोटाले भने, ‘समानुपातिक रूपले गरिबको पनि आम्दानी बढेको रहेछ भने त्यसले गरिबी घटाउन सघाएको हुन्छ । नत्र गरिब र धनीबीचको खाडल बढाएको पनि हुन सक्छ ।’गरिब परिवारको आम्दानी वृद्धि नहुँदासम्म गरिबी घटेको मान्न नसकिने अर्थविद बताउँछन् । सर्वसाधारणको आम्दानी वृद्धि हुनका लागि लोडसेडिङको अन्त्य र निर्माण क्षेत्रको तीव्रताले  सघाएको महानिर्देशक अर्यालले बताए ।

‘विद्युत् आपूर्तिमा भएको सहजताले होटल, रेष्टुरेन्ट, यातायात, सञ्चार क्षेत्रको उल्लेखनीय रूपमा आर्थिक प्रगति भएको हो,’ उनले भने ।अर्थमन्त्री युवराज खतिवडाले प्रतिव्यक्ति आम्दानी वृद्धि र आर्थिक क्रियाकलाप हरेक वर्ष झै यसपटक पनि वृद्धि हुनु स्वभाविक रहेको बताए । प्रतिव्यक्ति आय वृद्धि हुनु सबैका लागि खुशी र सकारात्मक रहेको उनको भनाइ छ। तथ्यांक विभागले प्रकाशित गरेको  विवरण आर्थिक क्षेत्रको सबै सूचकका लागि पर्याप्तता नभएको खतिवडाले बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले चार अंकको प्रतिव्यक्ति आम्दानी वृद्धिले निजी क्षेत्र खुशी र उत्साही भएको बताए।

 पछिल्ला वर्ष नेपालले ५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल गर्दा खुशी मान्नुपर्ने अवस्था छ । जबकि सन् ५० को दसकमा नेपाल र भारतको आर्थिक वृद्धिदर एकै थियो भने कोरियाको वृद्धिदर नेपालको भन्दा कम थियो । तर, पछिल्लो समयमा ती मुलुकले आर्थिक वृद्धिदरलाई फराकिलो रूपले बढाउँदै लिएर उच्च आर्थिक प्रगति गरेका छन्।

पूर्व अर्थमन्त्री रामशरण महतले यो वर्ष आर्थिक वृद्धिदर हुन नसक्ने कुनै  कारण नरहेकाले उक्त आर्थिक प्रगति स्वभाविक रहेको बताए । ‘यतिखेर प्रतिव्यक्ति आम्दानी वृद्धि भयो भनेर खुशी मनाउने भन्दा पनि दक्षिण एसियामा नेपालको स्थान कहाँनेर छ भन्नेबारे खोज्ने बेला हो,’ महतले भने।

धान उत्पादन घट्यो
चालु आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा २७.१० प्रतिशतले योगदान कृषि क्षेत्रबाट भए पनि धान उत्पादन भने घटेको छ । अघिल्लो वर्षको तुलनमा साढे एक प्रतिशतले धान उत्पादन घटेको छ । आलु, मकैमा भने उत्पादन वृद्धि भएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रले २७.१० प्रतिशत र गैर कृषि क्षेत्रले ७२.९० प्रतिशतले कुल ग्राहस्थ उत्पादनमा योगदान पुर्याएको छ।

विभागका महानिर्देशक अर्यालले धानको उत्पादन वृद्धिका लागि आधुनिक र व्यवसायिक खेतीको आवश्यकता देखिएको बताए । कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा पु-याएको योगदानमा अघिल्लो वर्षको तुलनामा केही कमी आए पनि अझै प्रमुख हिस्सा भने कायमै  छ । रेमिट्यान्सको योगदान पनि केही घटेको छ । कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा २४।२५ प्रतिशतमा सीमित भएको विभागले जनाएको छ। (नागरिक दैनिक)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ