arrow

देवताका पुजारी खड्काले भत्काए छाउगोठ

logo
प्रेम रौले,
प्रकाशित २०७५ वैशाख १६ आइतबार
cheugoth.jpg

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काएका छन् ।  

धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् । छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ । वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले भत्काउन बाध्य भएको खड्काले बताए ।

नजिकै देवताको मन्दिर र घरमै पनि देवता राखिएकाले शुरुमा डर लाग्यो तर सबैतिरबाट दबाब आउन थालेपछि एक्लै बाधक भएर बस्नु उचित होइन भनेर आफैँले भत्काएको पुजारी खड्को भनाइ छ ।

पीपलगाउँमा सात परिवार बस्छन् । गाउँको साझा छाउगोठ भत्काएपछि सबैजना घरमै बस्न थालेका हुन् । खान पकाउन र देवताको नजिक जान भने नदिएको उनले बताए  ।

सफा सुग्धर भएमा केही हुँदैन भन्ने थाहा पाएपछि वडा कार्यालय, निगरानी समूह, महिला समूहसहित सबैले गोठ भत्काउन संयुक्त आन्दोलन गर्ने बताएपछि वडाका सबै छाउगोठ भत्काइएको वडा सदस्य विमला खड्काको भनाइ छ ।

छाउगोठ धामी, झाँक्री र पुजारी भएको घरमा बढी देखिएको पिसविन आस्था परियोजनाका अधिकृत तुलाराम जैशी बताउछन् । पुजारी स्वयंले गोठ भत्काएर घरमा बसाउन तयार भएपछि स्थानीयवासी पनि त्यसै गर्न मञ्जुर भएका छन् ।

महिनावारी भएको बेला काम गर्नसमेत जान नपाइने अवस्थामा पनि सुधार आएको नगर उपप्रमुख कविता विष्ट जानकारी दिइन् ।  नगरपालिकाका नौवटै वडामा महिलासँग उपप्रमुख कार्यक्रमले छाउ, बाल विवाहलगायतका सामाजिक कुप्रथाको विरुद्धमा सचेतनामुलक अभियान सञ्चालन भइरहेको छ ।

धामीझाँक्री पुजारी तथा ब्राह्मण सबैलाई एकैठाउँ राख्ने, गोठ भत्काउन लगाउने र छाउजस्ता कुप्रथा नमान्न शपथ गराउने गरिएको छ । आजै छाउगोठको अवस्थाबारे नगरपालिकास्तरीय संयन्त्रले अनुगमन गरेको छ । छाउगोठको अवस्था, स्थानीयवासीको धारणा र महिला सुरक्षाबारे जानकारी लिन सर्वपक्षीय संयन्त्रबाट अनुगमन गरिएको हो ।

नगर उपप्रमुख विष्टको नेतृत्वमा रहेको टोलीले गोठ भत्काइएपछि महिनावारी भएका महिला बस्ने स्थान र गोठको अवस्थाबारे शुक्रबार जानकारी लिएको छ । गोठ देखावटी रुपमा भत्काउने र अवस्था पुरानै देखिए नगरपालिका र वडा कार्यालयले दिने सुविधा रोक्ने निर्णय गरेको छ ।

शुक्रबार अनुगमनका क्रममा महिला, सासू–ससुरा, धामीझाँक्री, पुजारीलगायतका व्यक्तिसँग प्रत्यक्ष छलफल तथा अन्तक्र्रिया गरिएको टोलीमा सहभागी सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताइन् ।  

टोलीमा नगर उपप्रमुख विष्ट, वडाध्यक्ष वीरबहादुर रावलसहित वडा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय धामीसहितको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ