arrow

किन छैन सीमा क्षेत्रमा सुरक्षा निगरानी ?

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
nepal-bharat-simana.jpg

पाँचथर । पाँचथरको चाररातेसँग जोडिएको भारत पश्चिम बंगालको सीमामा भारतीय सुरक्षा बल (एसएसबी) को क्याम्प छ। भारततर्फ सीमाक्षेत्रमा सडक बनेको छ। यो सडक भएर आफ्नो भूभाग छिर्न नेपालीले एसएसबीलाई पूरा विवरण बुझाउनुपर्छ। तर यही सडक भएर भारतीय गाडी नेपालको भूभागमा पसी निर्बाध गुड्छन्। यसरी चेकजाँचबिना भारतीय गाडी नेपाली बस्तीसम्म आइपुग्छन् तर नेपाली भने भारतीय सुरक्षाकर्मीको कडा निगरानीमा पर्छन्।

सन्दकपुरदेखि तिम्बु पोखरीसम्म भारतसँग जोडिएको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन। यही कारण नेपालीले सास्ती बेहोरिरहेका छन्। 

नेपाली प्रशासनले सीमा क्षेत्रको संरक्षण, सीमा सुरक्षा तथा यहाँका बासिन्दाको सुरक्षाको ख्याल गरेको देखिँदैन। खुला सिमानाका कारण भारतीयले सहजै नेपाली भूमिको उपभोग गरिरहेका छन्। भारतले सिमानाछेउमै सडक बनाएकाले भारतीयको व्यापार व्यवसाय पनि फस्टाएको छ। भारतीय व्यापारी गाडीमा सामान राखेर बिक्री गर्न नेपाली भूमिमा आइरहन्छन्। तर नेपालतर्फ भने बहुमूल्य जडिबुटीको समेत संरक्षण हुन सकेको छैन।

सीमाको हरेक ६ किलोमिटरमा भारतीय सीमा सुरक्षा बलको चौकी छ। तिनले नेपालतर्फ निरन्तर निगरानी गर्छन्। यस क्रममा बेलाबेला भारतीय सुरक्षाकर्मीले नेपालीलाई दुःखसमेत दिने गरेको गुनासो सुनिन्छ। सीमा क्षेत्रमा नेपाली सुरक्षकर्मीको आडभरोसा नपाएको गोठ सञ्चालक जंग राई बताउँछन्। सीमा क्षेत्रको संरक्षण गोठ सञ्चालन गर्नेहरूले गरिरहेको उनले बताए।

 सीमाको हरेक ६ किलोमिटरमा भारतीय सीमा सुरक्षा बलको चौकी छ। तिनले नेपालतर्फ निरन्तर निगरानी गर्छन्। नेपालतर्फ भने सुरक्षाकर्मीको उपस्थिति नै छैन।

तीनपल्ट सांसद भए पनि पहिलो पल्ट चारराते पुगेका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले सीमा क्षेत्रमा नेपालको सरकारी उपस्थिति शून्य भएको अनुभव प्राप्त गरेको सुनाए। सुरक्षामात्र नभई अन्य विभिन्न किसिमका समस्या देखिएको उनको भनाइ थियो। 

सीमा क्षेत्रमा पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र नेपाल प्रहरीका प्रमुखले सीमा क्षेत्रको अवस्था अवलोकन गरेका थिए। उनीहरुसँग स्थानीयको सोधाइ थियो– सीमा क्षेत्रमा कहिले नेपाली सुरक्षाकर्मीको उपस्थिति हुन्छ ?

केही दिनअघि पाँचथर र भारतको सिक्किमको सिमाना चिवाभन्ज्याङ पुगेका नेकपा एमालेका सचिव योगेश भट्टराईले फेसबुकमा स्टाटस लेखेका छन्, ‘भारतीय पक्षको सुरक्षा निकाय सिमानामा रहे पनि नेपालतर्फ सुरक्षा निकाय नहुँदा थुप्रै समस्या देखापरेका छन्। सीमा सुरक्षा पोस्ट स्थापना गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्छु।’

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प राख्ने कुरा चलेको एक दशक हुन लाग्यो तर कार्यान्वयन हुन सकेको छैन। पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति बढाउने बताए।

भारतको पश्चिम बंगाल र सिक्किमसँग पाँचथरको याङवरक र फालेलुङ गाँउपालिका जोडिएका छन्। जिल्लामा भारतसँगको सीमा ४५ दशमलव १६९ किलोमीटर लामो छ। 

यहाँ जंगे, मझौला र साना गरी १ सय १७ सीमास्तम्भमध्ये केही हराएको पाइएको छ। फलैंचा, च्याङथापु र प्राङबुङका सीमास्तम्भको नेपाल प्रहरीले हालै अनुगमन गरेको थियो। ९९ वटा सीमास्तम्भ हुनुपर्ने ठाउँमा ११ वटा नभेटिएको अनुगमन टोलीले जनाएको छ । भएकाहरु पनि भत्किने अवस्थामा छन्। सिदिन र मेमेङमा पर्ने १८ स्तम्भको अनुगमन बाँकी छ । चाररोत, महले भन्ज्याङ, थोकम, बन्दुके, चिवाभन्ज्याङ, बिर्खे, कालापानी, कयाटार, गैरीवासजस्ता ठाउँबाट नेपाल–भारत ओहोरदोहोर हुन्छ । वारिपारि पारिवारिक सम्बन्धसमेत रहेको छ।

उजाडिँदै नेपाल, हराभरा भारत
भारततर्फ सिंहलिला नेसनल पार्क बनाएर वन क्षेत्रको संरक्षण गरिएको छ। नेपालतर्फ भने वन क्षेत्र उजाडिँदैछ। उच्च पहाडी क्षेत्र भएकाले बहुमूल्य जडीबुटी तथा लोपोन्मुख बन्यजन्तु पाइने भए पनि नेपाली सम्पदाको संरक्षण हुन सकेको छैन।

भारतले निकै मेहनत गरेर जैविक विविधताको संरक्षण गरिरहेको छ। नेपालतर्फ गैरसरकारी संस्थाबाहेक सरकारले संरक्षणमा ध्यान दिन सकेको देखिँदैन। नेपाली वन क्षेत्र मासिँदै गएको छ। 

जडीबुटीलगायतका वनस्पति भारतीय बजारमा सहजै पुगिरहेका छन्। नेपाली क्षेत्रको जैविक विविधिता जोगाउन सरकारी तबरबाट प्रयास हुन नसकेको संरक्षणमा क्रियाशील दीपज्योति युवा क्लबका निर्देशक सुनील वान्तवाले बताए। भारतीय क्षेत्रमा वन क्षेत्रमा पस्न, रुख काट्न, सिकार खेल्न पाइँदैन तर नेपालतर्फ सहजै यस्ता गतिवधि हुने गरेका छन्।

भारतीयले सहजै नेपाली भूमिका प्राकृतिक स्रोतसाधन उपभोग गर्छन्। सतुवा, बिख, बिख्मा, पाखनवेद, पाँचऔंले, टुड्की, टिमुर, जटामसी, लोठसल्ला, वन लसुन, केन्जो, चिम्फिङलगायतका जडीबुटी जोखिममा पर्न थालेका छन्। रेडपान्डालगायतका वन्यजन्तुको चोरी निकासी हुने गरेको छ। 

नेपालतर्फका सुरक्षा पोस्ट सीमा क्षेत्रदेखि निकै टाढा छन्। प्रहरीको संख्या र स्रोतसाधनको अभाव छ। सीमा क्षेत्रको अनुगमन भएको पाइँदैन। विशेष अवस्थामा मात्र सुरक्षाकर्मी सीमा क्षेत्रमा पुग्छन्। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ