arrow

राष्ट्रपतिका तीनै जना उम्मेदवार भन्छन् 'चुनाव म नै जित्छु'

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1929099043.jpeg
काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि बुधबार हुने निर्वाचनमा तीन जनाले उमेदवारी दिनुभएको छ । मुलुकको राष्ट्राध्यक्ष एवम् संविधानको संरक्षकका रुपमा रहेको उक्त पदमा सत्तारुढ दल नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले उम्मेदवारी दिनुभएको हो । 
 
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा उहाँहरुले आज उमेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दलका तर्फबाट उम्मेदवारी दिनुभएका भण्डारीले आफू विजयी भएमा राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई अझ उँचो बनाउने अठोट व्यक्त भयो । उहाँले भन्नुभयो, “मलाई जुन विश्वासका साथ राष्ट्रिय ठूलो जिम्मेवारी सुम्पिन लागिएको छ, त्यो विश्वासलाई अझ उँचो राख्ने प्रयास म गर्नेछु ।” 
 
नयाँ संविधान जारी भएपछि नेपाल नयाँ ढङ्गले अगाडि बढ्ने, नेपाली महिलाको पनि सहभागिता बढ्ने तथा संविधानको मर्म र भावनाअनुरुप मुलुक अगाडि बढ्न लागेको सन्देश आफ्नो उम्मेदवारीले दिएको नेत्री भण्डारीले बताउनुभयो । 
 
राष्ट्रपति जस्तो जिम्मेवार पदमा आफूलाई पार्टीहरुले अगाडि सारेर जिम्मेवारी दिने प्रयास गर्नुलाई आफूप्रतिको विश्वासका रुपमा लिएको बताउँदै उहाँले दलहरुबीचको सहमति र विश्वासलाई कसैले पनि डगमगाउन दिनु नहुने धारणा राख्नुभयो । 
 
“हामी सङ्क्रमणकालमै छौँ, हाम्रा सामु थुप्रै चुनौती छन्, त्यसैले राष्ट्रपति चयनका लागि सकेसम्म मिलेर जाँदा राम्रो हुन्थ्यो भन्ने मेरो धारणा रहेको छ,” उहाँले भन्नुभयो । आफ्नो उमेदवारीलाई अहिले गठबन्धनमा रहेका सबै दलले समर्थन गरेको र बुधबारसम्ममा संसद्मा रहेका सबै दलको समर्थन प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
 
नेपालको एकता, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समृद्ध लोकतन्त्र र समृद्ध जीवनका लागि आफ्नो उम्मेदवारीले नयाँ मार्गप्रशस्त गरेको उहाँको भनाइ थियो । 
 
नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दिनुभएका नेता गुरुङले काँग्रेस लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको पुरानो पार्टी भएकाले विजयी हुने विश्वासका साथ पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको बताउनुभयो । “जित हार भन्ने कुरा लोकतान्त्रिक प्रक्रियामा भइरहन्छ, जित हारको कुरा होइन, पार्टीमा लागेपछि निर्वाचन लड्नुपर्छ, निर्वाचन लड्ने जित्छु भनेर नै हो”– उहाँले भन्नुभयो । 
 
काँग्रेसको इतिहास र भूमिकालाई सम्झेर सबै पार्टीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्दै उहाँले आफू व्यक्तिगत रुपमा नभई काँग्रेस नै निर्वाचनमा लडेकाले विजयी हुने आधार धेरै भएको बताउनुभयो । व्यवस्थापिका–संसद्मा काँग्रेस जस्तै अरु पनि लोकतान्त्रिक पार्टी भएकाले उनीहरुबाट आफूले समर्थन प्राप्त गर्ने उहाँको भनाइ थियो । सहमतिको प्रयास अझै भइरहेकाले बुधबार मतदान गर्ने बेलासम्ममा सहमति हुन सक्ने उहाँले बताउनुभयो । 
 
त्यसैगरी नेमकिपाका तर्फबाट उम्मेदवार बन्नुभएका महर्जनले संवैधानिक व्यवस्था र आफ्नो पार्टीले संसद्मार्फत खेलेको भूमिकालाई विचार पु¥याएर अरु राजनीतिक दलले आफ्नो उमेदवारीलाई सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ