arrow

प्रधानमन्त्री ओलीले मोदी भ्रमणमा प्रोटोकल नतोड्ने

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
oli-modi_new.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रोटोकल’ नतोड्ने भएका छन् । पटना हुँदै जनकपुर उत्रिन लागेका मोदीलाई जानकी मन्दिरमा भने ओलीले नै स्वागत गर्ने कार्यक्रम तय भएको छ । 

ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले हेलिकोप्टरबाट जनकपुर उत्रिने मोदीलाई विमानस्थलमा स्वागत गर्न प्रधानमन्त्री ओली नजाने पुष्टि गरे । मोदीको स्वागतका लागि ओलीले वरिष्ठ मन्त्रीसमेत रहेका रक्षामन्त्री इश्वर पोखरेललाई विमानस्थल पठाउने तयारी गरेका छन् । 

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा पनि मोदीले त्यहाँका वरिष्ठ मन्त्री गृहमन्त्री राजनाथ सिंह पठाएका थिए । मोदी दुई दिने नेपाल भ्रमणका लागि २८ वैशाखमा जनकपुर उत्रिनेछन् । उनी भारतीय वायुसेनाको हेलिकोप्टरमार्फत जनकपुर रंगभूमि मैदानमा उत्रिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले यसपटक जनकपुर, काठमाडौं हुँदै मुक्तिनाथको दर्शन गर्नेछन् । दुई दिने भ्रमणका क्रममा विशेष सम्बोधनका साथै जनकपुरदेखि अयोध्यासम्म बस सेवाको उद्घाटन हुनेछ ।

धार्मिक र पौराणिक सम्बन्धको आधारलाई लिएर यो बस सेवा सञ्चालन गर्न लागिएको हो । अयोध्या भगवान् राम र जनकपुर सीताको जन्मथलो हो ।

जानकी मन्दिरमा दुवै प्रधानमन्त्रीले संयुक्त पूजा अर्चना गर्नेछन् । प्रधानमन्त्री ओली जानकी मन्दिरमा पूजापाठ गरेर काठमाडौं फर्कनेछन् भने मोदी जनकपुर उपमहानगरपालिकाले तयार गरेको नागरिक अभिनन्द लिन बाह्रबिघा मैदान जानेछन् । काठमाडौं महानगरपालिकाले पनि त्यही दिन मोदीलाई नागरिक अभिनन्दन गर्नेछ ।

त्यसका लागि काठमाडौं महानगरपालिका भृकुटीमण्डपस्थिति राष्ट्रिय सभा गृहमा रंगरोगनदेखि मर्मत सम्भार गरेको छ । सडकको सरसफाइमा समेत महानगरले विशेष ध्यान दिइरहेको बताइएको छ ।

शुक्रबार २ः४५ बजे महानगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो । जनकपुरबाट काठमाडौं आएपछि उनलाई टुँडिखेलमा गार्ड अफ अर्नर दिइनेछ । त्यसमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । काठमाडौं आएलगत्तै मोदीले द्वारिकाज होटलमा नेपालका उच्च अधिकारी तथा विभिन्न दलका नेताहरूसँग भेट गर्नेछन् ।सोही होटलबाट प्रधानमन्त्री ओली र मोदीले स्वीच थिचेर अरुण तेस्रो हाइड्रोपावरको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

जनकपुरदेखि काठमाडौंसम्म स्वागतको तयारी नै तयारी
मोदीको भ्रमण तयारीको व्यवस्थापनको जानकारी लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार एड्भान्स लाइट हेलिकोप्टरमा नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीका साथ जनकपुर पुगेका थिए । जनकपुरबाटै प्रधानमन्त्री ओली र मोदीले रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

मोदीलाई ५ घेराको सुरक्षा
मोदी भ्रमणलाई ध्यान दिएर सुरक्षा व्यवस्था कडा गरिएको छ । मोदीलाई पाँच घेराको सुरक्षा व्यवस्था मिलाइएको छ ।  भारतीय सुरक्षा अधिकारी नेपाल आइसकेका छन् । भारतीय सुरक्षा घेरापछि नेपाली सेनाले सुरक्षा दिनेछ । 

त्यसपछि प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका अधिकारीहरु मोदीको सुरक्षामा खटिनेछन् । करिब ७ हजार सुरक्षाकर्मी मोदीको भ्रमणका लागि परिचालन गरिने भएको छ । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ