arrow

गुरुत्वाकर्षणले तानिएका एक युवा

logo
(अन्जली रम्तेल)
प्रकाशित २०७७ पुष १७ शुक्रबार
गुरुत्वाकर्षण.jpg.jpeg
काठमाडौं। नेपालमा सधैँ भइरहने विद्युत् भार कटौती र इन्धन अभावको समस्या अहिले सामान्यझैँ भइसकेको छ । मानिस अब यही अभावमा नै आफ्नै दैनिक चलाउन अभ्यस्तसमेत भइसकेका छन् । अभावले नै मानिसलाई नयाँ कुराको सिर्जना गर्न अभिप्रेरित गर्छ । यसको ज्वलन्त उदाहरण बनेका छन् ३५ वर्षीय किशोर केसी । जसलाई यही अभावले वैज्ञानिक बनाइदियो । वैज्ञानिक त उनी बने तर आफ्नो सर्वस्व नै गुमाए झैँ भएको छ अहिले । 
 
दश वर्षअघिदेखि ललितपुरको नख्खुमा उनी साइबर क्याफे सञ्चालन गरी बसेका थिए । एक वर्षसम्म साइबर चलाउँदा विद्युत् भार कटौतीको समस्याले आक्रान्त बने । विद्युत् भार कटौती र इन्धनको अभाव र यस समस्यासँग जुध्ने क्रममा उनको दिमागमा पृथ्वीको गुरुत्व बलबाट विद्युत् निकाल्ने इन्धन बनाउने सोच आयो । त्यसपछि उनले यसबारे अध्ययन गर्न थाले । 
 
विश्वमा कसैले पनि अहिलेसम्म गुरुत्व बलबाट विद्युत् निकालेका छैनन् उनले दाबी गरे । सुरुवातको क्रममा रु ७० हजारको लगानीबाट उनले विद्युत् निकाल्ने काम गरे पनि त्यो कहिल्यै सकिएन । “मलाई थाह नै भएन कति छिटो समय बितिसकेछ । आज फर्केर हेर्दा अचम्म लाग्छ । यति समय र पैसा खर्च हुन्छ भन्ने थाह भएको भए सायद मैले सुरुवात नै गर्दिन कि ?”उनले आफैँसँग भने । 
 
रु ७० हजार लगानीबाट सुरु भएको उनले विद्युत् निकाल्ने कामले अहिले रु दुई करोडको ऋण लगाइसकेको छ । तर पनि उनी यो कामबाट भने पछि हट्ने वाला छैनन् । उनले भने“मेरो अहिले ९० प्रतिशत काम सकिसकेको छ । आठ युनिट काममध्ये सात युनिट सकियो । अब एक युनिट काम हुनेबित्तिकै सबैको अगाडि प्रदर्शनी गर्नेछु ।” 
 
पैसा, समय र मेहेनत जति सके पनि थालेको काम सम्पन्न गरिछाड्ने आत्मविश्वासी युवा किशोरले सहयोग गर्ने हात भने निकै कम मात्र भेटेका छन् । “मेरो काम नै केही छैन । यही थाले अब यो नसकेसम्म अरु गर्दिन । तर बेला बेलामा पैसाको अभावले भने निकै सताउँछ । मैले मेरो नख्खुमा भएको घर धितो राखेको छु । त्यतिले पनि सकिएको छैन । धेरै मानिस आउँछन् सहयोग गर्ने आस देखाउँछन् तर त्यो कहिल्यै पूरा हुन सकेको छैन ।”उनले निराशा पोखे । 
 
एक छोरा र एक छोरीका पिता किशोर काममा दत्तचित्त लागे पनि कहिलेकाहीँ छोरीले विद्यालयबाट फोन गर्दा भने काम छाडेर त्यतिकै रुमल्लिन्छन् । उनी भन्छन्“छोरीले फोन गर्छे र भन्छे बाबा स्कुलमा फि नै तिरेको रहेनछ, लाइनबाट निकालेर छुट्टै राखे । भाइलाई पनि त्यसरी नै राखेका छन् । यसरी फोन आउँदा दुईचार दिन काम नै गर्दिन् ।
 
मन नै लाग्दैन केका लागि काम गर्नु जस्तो हुन्छ । तर केही दिनपछि यो काममा लाग्दा नै मेरो सम्पत्ति सबै गुम्यो भने यो कामलाई किन सम्पन्न नगरुँ जस्तो हुन्छ अनि फेरि त्यही काम सुरु हुन्छ ।” “घरका मानिसले सधैँ कहिले सकिन्छ तेरो काम भनेर सोध्छन्”, उनले सुनाए“म दसैँ तिहारमा त पक्कै सकिन्छ भनेर सधैँ भन्छु । तर त्यस्ता दसैँ तिहार र ८÷९ वटा नै गइसके । तर मेरो काम भने सकिएन ।” 
 
औपचारिक अध्ययन एसएलसीसम्म मात्र भए पनि उनले स्वअध्ययनबाट नै प्रगति हासिल गरेका हुन् । एसएलसीपछि पाटन क्याम्पसमा व्यवस्थापन विषय लिएर पढ्दै थिए त्यसै बेला उनलाई वैदेशिक रोजगारीको अवसर आयो । उनले त्यो अवसरलाई गुमाउन चाहेनन् र दुबईका लागि उडे । ‘सेक्युरिटी’ का लागि गए पनि त्यहाँ आइटीमा मात्र दब्बल राखेकाले त्यहीअनुसारको उनले काम पाए । नेपाल फर्केर केही गर्ने उत्साहले उनलाई त्यहाँ धेरै बस्न दिएन र केही वर्षमा नै उनी फर्के ।
 
कहिल्यै आर्थिक अभावसँग जुध्न नपरेका किशोरलाई गुरुत्वबलबाट विद्युत् निकाल्ने इन्धन बनाउन थालेपछि मात्र आर्थिक अभावको महसुस हुन थाल्यो । उनले उक्त इन्धनलाई व्यवहारमा ल्याउने हो भने विद्युत् भार कटौतीको समस्या धेरै हदसम्म समाधान हुने देखिन्छ । उनले अहिले तीन हजार २०० वाटको बिजुली निकाल्ने इन्धन बनाइरहेका छन् । सरकारीस्तरबाट र अन्य निकायबाट समेत इन्धन बनाउन पर्याप्त सहयोग मिल्ने हो भने यस्ता इन्धन अरु पनि बनाउने र विद्युत्मा नेपालले अरुको भर पर्ने समस्याबाट मुक्ति दिलाउने उनले दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ