arrow

तुलसीपुर उपमहानगरमा लागेको ताला खुल्यो

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
tala2.jpg

तुलसीपुर। तुलसीपुर  उपमहानगरपालिकाको शिक्षा शाखामा तीन विद्यार्थी संगठनहरुले लगाएको ताला खोलेका छन् । शिक्षामा सरोकारवालाले ध्यान नदिएको  तथा सामुदायिक विद्यालयहरुले मनोमानी शुल्क लिएको विरोधमा ५ दिनदेखि लागेको ताला मंगलवार भएको सहमति पश्चात खुलेको उपमहानगरका प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

  उपमहानगरपालिका, प्याव्सन, एन प्याव्सन र विद्यार्थी संगठनका विचमा सामुदायिक र संस्थागत विद्यालयहरुले लिइरहेको शुल्कको यथार्थ विवरण संकलन गर्ने र त्यसको वारेमा जेठ २० गतेसम्म निष्कर्षमा पुग्ने निर्णय भएको छ । यसैगरी सरकारले घोषणा गरेको १० प्रतिशत छात्रवृत्ति हरेक विद्यालयमा लागु गर्नका लागि कडाई गर्ने, शुल्कका विषयमा निश्कर्षमा नपुग्दासम्म कुनै पनि विद्यालयले कुनै पनि खालको शुल्क लिन नहुने कुरा सहमतिमा उल्लेख गरिएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाको शिक्षा सम्वन्धि कुराको अध्ययन र अनुगमन गर्नका लागि उपमहानगरका शिक्षा समिति संयोजक देवराज विश्वकर्माको संयोजकत्वमा समिति समेत वनाइएको छ । समितिका सदस्यहरुमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीकाका एक एक जना प्रतिनिधि,प्याव्सन , एन , नेपाल पत्रकार महासंघ, नगर प्रवक्ता र सदस्य सचिवमा प्रेस संयोजक वसन्त विवश आचार्य रहेका छन् ।

उपमहानगरपालिकाको नेतृत्वमा उपमहानगरका प्रवक्ता, शिक्षा शाखा अधिकृत र विद्यार्थी संगठनहरुले मंगलवार नै तुलसीपुरका विभिन्न विद्यालयको अनुगमन गरेका थिए । उनीहरुले अनुगमनमा क्रममा विद्यालयको शुल्क, सेवा सुविधा र छात्रवृत्तिका वारेमा जानकारी संकलन गरेको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ