arrow

वाम एकता कहिले घाम कहिले पानी

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
oli-prachanda2.jpg

काठमाडौं । दुई ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया कहिले सहमति नजिक त कहिले अलिक टाढा बन्दै अघि बढिरहेको छ । दुई पार्टी कहिले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् भने उनीहरूले नै पुनः सहमति नजुटिसकेको अभिव्यक्ति दिने गरेका छन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका दुई दलबीचको एकता प्रक्रिया अहिलेसम्म कहिले घाम कहिले पानी जस्तै देखिएको छ । कार्यदल, एकता संयोजन समितिमा सहमति नजुटेपछि विवाद हल गर्ने जिम्मा दुई अध्यक्षमा पुगे पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच नै सहमतिको गाँठो नफुक्दा एकता प्रक्रिया नै जाममा परेको छ । 

दुई पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३–२५ चैत अगावै एकता घोषणा गर्ने तयारी गरेका थिए । त्यसपछि ९ वैशाख अर्थात् नेपाल कम्युनिस्ट पार्टी स्थापना तथा लेनिन दिवसको दिन एकता घोषणा गर्ने तयारी गरे पनि विवादका कारण सफल भएन ।

९ वैशाखमा एकता संयोजन समितिको आयोजनामा एकता सन्देश दिने भन्दै आयोजित कार्यक्रममा ब्यानरका कारण विवादसमेत उब्जियो । त्यसको एक सातापछि ओलीले ब्यानरमा विवाद गर्नेलाई ‘केटाकेटी’ को संज्ञा दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा केही दिनअघि मात्र एकताका लागि एमाले नेताहरू लचक हुनुपर्ने जनाएका थिए । त्यसलगत्तै ओलीको ट्विटरबाट विवास्पद अभिव्यक्ति सार्वजनिक भएको थियो ।

ओली–दाहालबीच बुधबार भएको भेटमा दाहालले ओलीसमक्ष ट्विटर अभिव्यक्तिमाथि प्रश्न गरेका थिए । ओलीले उक्त अभिव्यक्ति अर्कै प्रसंगमा लेखिएको भए पनि प्रसंग मिल्दो भएको भन्दै क्षमा मागे ।

ओली र दाहालबीच बुधबार भएको भेटमा एकताको विषयमा छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेको छैन । गत २० वैशाखमा बसेको दुई अध्यक्षबीचको छलफलपछि दुवै पक्षले ठोस सहमति नजिक पुगेको र चाँडै एकता मिति तोक्ने बताएका थिए । स्रोतका अनुसार दुवै पक्ष अहिलेसम्म एकता संयोजन समितिमा मिल्न बाँकी विषयमा सहमति नजिक थोरै पनि अघि बढ्न सकेका छैनन् ।

दुई पार्टीबीच एकतामा कुन पार्टीबाट कति अनुपातमा एकता हुने भन्ने विषयमा सहमति हुन सकेको छैन । माओवादी केन्द्रले ५०–५० प्रतिशतमा एकता हुनुपर्ने अडान राख्दै आएको छ । एमालेले भने यसअघिका सहमतिअनुसार अनुपात हुने गरी एकता हुनुपर्ने जनाउँदै आएको छ ।

दुई पार्टीबीच महाधिवेशनपछि सरकार र पार्टी नेतृत्वका विषयमा पनि सहमति जुट्न सकेको छैन । माओवादीले प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पाँच वर्ष नै सरकारको नेतृत्व गर्न र पार्टी नेतृत्व दाहाललाई दिन प्रस्ताव गरेको छ । तर, एमालेले पार्टी अध्यक्षको जिम्मा महाधिवेशनबाट नै टुंगो लगाउनुपर्ने जनाउँदै आएको छ ।

एमाले उपमहासचिव विष्णु पौडेलले पदकै कारण एकता प्रक्रिया अवरोध नहुने बताएका छन् । उनले एकता दुई साताभित्र सम्पन्न हुने भन्दै पार्टी एकता बिथोल्ने कुनै प्रयास पनि सफल नहुने दाबीसमेत गरे ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण समय व्यस्तताले मात्र एकता ढिलाइ भएको भन्दै चाँडै एकता हुने दाबी गरिन् । ‘आन्तरिक रूपमा एकताको तयारी भइरहेको छ, अहिले भारतीय प्रधानमन्त्रीको भ्रमणका कारण दुई अध्यक्ष व्यस्त हुँदा मात्र रोकिएको हो,’ उनले भनिन् ।

दुई पार्टीबीच सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति जुटे पनि नेतृत्व तथा सांगठनिक व्यवस्थापनमा सहमति हुन सकेको छैन । गत ७ फागुनमा नै पार्टीको लक्ष्य समाजवाद रहने र विचार तथा मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) रहने सहमति भयो । त्यसपछि नेतृत्व र एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने भन्ने विषयमा पुगेर अड्किएको छ । चुनाव चिह्न, पार्टी विधानमा जनयुद्धको विश्लेषणको विषय पनि मिल्न बाँकी छ ।

पार्टी एकताको खाका तय गर्न गठित दुई कार्यदलमध्ये सांगठनिक तथा विधान मस्यौदा कार्यदलले चुनाव चिह्न र विधानमा जनयुद्धको विश्लेषणको विषय टुंग्याउन बाँकी राखेर प्रतिवेदन बुझाएको थियो । एकता संयोजन समितिको बैठकमा चुनाव चिह्न र जनयुद्धको विषय अझै पनि मिल्न बाँकी छ ।

 समितिमा सहमति जुट्न नसकेपछि ४ वैशाखमा बसेको समितिको बैठकले विवादित विषय टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिएको छ । त्यसयता पटकपटक दुई अध्यक्ष छलफलमा जुटे पनि सहमतिमा पुग्न सकेका छैनन् ।

यसैबीच, प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आपसी समझदारीकै आधारमा बजेटलाई अन्तिम रूप दिने सहमति भएको छ ।

बुधबार भएको भेटमा उनीहरूले संयुक्त चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धतालाई समेटेर बजेटलाई अन्तिम रूप दिने समझदारी भने गरेका छन् । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ