arrow

कर्णालीमा खडेरीको कहर, नांगा खेत हेर्दै चाउचाउ सुप

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
karnali.jpeg

बाजुरा । ‘डिलभिटा तीनताउन हुँदोबीच धानबाली, म सम्झिँदा फल्न्याँ दाल अहिले भयो खाली ।’ पाँच दशकअघि आफ्नो जवानीको समयकाल सम्झिँदै बाजुरा त्रिवेणी नगरपालिका–३ पुर्वुताकी ७५ वर्षीया रासकला शाहीले देउडा गीतमार्फत भनिन्, ‘खेतका आलीमा दलन बाली नहुँदा दालसमेत देख्न पाइएन ।’ उनी जवान हुँदा खेतका आलीमा भटमास, गहत, मुसुरी र मास प्रशस्त फल्थे ।

दक्षिणी क्षेत्रका बूढीगंगा, त्रिवेणी नगरपालिकाका ब्रह्मतोला, तोली, कुल्देवमाडौं, कैलाशमाडौंलगायतका गाउँहरूमा पाँच वर्षदेखि दलहन बाली हुन छाडेको छ । यसैकारण यहाँका बासिन्दाले दालका खान बजारमा निर्भर हुनुपर्छ । बूढीगंगा–३ का बलबहादुर शाही भन्छन्, ‘लामो समय भयो अब पहाडमा बाली हुन छाडे ।’

शाही आफ्नो विवाहको वर्षतिर घोत्लिँदै थप्छन्, ‘ढुंगामा एक मुठो माटो हुन्थ्यो त्यहाँ पनि गहत दाल फल्थे, हामी छाक टाथ्र्यौं ।’ जलवायु परिवर्तनका कारण दलहन बालीका लागि मौसमअनुकूल हुन छाडेको छ । गाउँमा पानीको पनि हाहाकार हुन थालेको छ । बूढीगंगा–१ अम्कोटका लक्ष्मीराज उपाध्याय भन्छन्, ‘गाउँमा खानेपानी छैन, आकाशे पानीको भर हो वर्षा परेको दिन गाउँ नै बगाउला भन्ने त्रास पनि हुन्छ ।’ पाँच वर्षअघि सोही गाउँमा पहिरोले ६ जनाको ज्यान गएको थियो ।

गाउँमा बाली हुन छाडेपछि दैनिक छाकमा समस्या नै हुने गरेको छ । अति विपन्न परिवारले पिठोको फाँडोसँग भात खान्छन् । बूढीगंगा–५ की ५६ वर्षीया कलु देउवा खेततिर देखाउँदै भन्छिन्, ‘आलीभरी भटमास, सिमी, मास, गहत, गुरासलगायतका दालहरू फल्थ्यो र बीचको भागमा धान फल्थ्यो अहिले पैसा हुनेले बजारबाट चाउचाउ, सोयाबिन र देशी दाल किनेर खाने बाध्यता छ ।’

यस्तो खेती मौसमको प्रतिकूलताका कारण हुन नसकेको स्थानीय तिलख पुरी बताउँछन् । अकासे पानीको भरमा खेती गर्न बाध्य भएका गाउँमा समयको प्रतिकूलतामा पानी बर्सिन्छ । पुरी थप्छन्, ‘मौसम परिवर्तनले गर्दा पहिले फल्ने फलफूलसमेत हुन छाडेका छन् ।’पूर्वोत्तर पाण्डुसैन, जुकोट र गोत्रीमा हुने स्याउका बोटहरूमा फल लाग्न छोडेका छन् । लटरम्म फुल्ने स्याउका बोटहरू अहिले नांगा छन् ।
बूढीगंगा–८ का नन्दबहादुर रोकया भन्छन्, ‘बगैंचामा स्याउ नभएको केही वर्ष भयो यहाँभन्दा माथिका गाउँमा मात्र आजभोलि स्याउ फल्छ ।’

वडाध्यक्ष डम्मर महतका अनुसार बडिमालिका नगरपालिकाको–२ जुगाडामा केही वर्षदेखि चुकिला जातका फलफूल हुन छाडेका छन् । पछिल्लो समय तापक्रम बढेका कारण यहाँका किसानले लगाउँदै आएका फलफूल हुन छाडेको कृषि विकास कार्यालय बाजुरा प्रमुख युगकिशोर तिवारीले बताए ।

स्याउको चक्रमै परिवर्तन
गत वर्ष बूढीगंगा–८ काँधका नन्दबहादुर रावतको बारीमा स्याउको फूल लागेर पुस महिनामै ढकमक्क भएपछि स्थानीय किसानहरू अचम्मित भए । जिल्ला कृषि विकास कार्यालयमा खबर गरे । सदरमुकामबाट कृषि अधिकृतसहितको टोली पाण्डुसैन पुगेपछि पुस महिनामै स्याउबारी फुलेको देख्दा उनीहरू पनि छक्क परे ।

चैत–वैशाख महिनामा फुल्ने र असोजमा फल पाक्ने खेती किन अघि स¥यो भन्ने कारण बताउन सरकारी अधिकारीलाई पनि समस्या भयो । अनुगमनमा गएका बागवानी अधिकृत दिलबहादुर सिंहले भने, ‘जलवायु परिवर्तनको असरका कारणले यस्तो भएको ठम्यायौं ।’

खप्तड छेडेदह गाउँपालिकाका जगतबहादुर रावत यस वर्ष मेहल स्याउ चाँडै फुल्दा छक्क परे । बाजुरा र बझाङ जिल्लाको सिमानामा उनले २० वर्षदेखि पसल चलाउँदै आएका छन् ।

लामो समयदेखि चलेको खडेरीले आधुनिक जातका बालीमा समस्या आउँदा यस्तो अचम्म हुने गरेको रुगीन–९ का ज्ञानबहादुर बुढाले बताए । जिल्लाका सबै स्थानीय तहमा बर्खे र हिउँदे बाली खडेरीको मारमा परे ।

जिल्ला कृषि विकास कार्यालय बाजुराले दिएको जानकारीअनुसार जिल्लाको पूरा क्षेत्रफलको ९ दशमलव २१ प्रतिशत खेतीयोग्य जमीन रहेको छ । सिञ्चित क्षेत्र १ दशमलव ४२ प्रतिशत मात्र रहेको छ । अर्थात्, ७ दशमलव ७९ प्रतिशत जमीनमा सिँचाइ सुविधा छैन ।
बाजुरा जिल्लाको वाई, जुकोट, साप्पाटा ,रुगीन, बाँधु, गोत्री, जगन्नाथ गाउँमा खाद्य संकट चुलिएको छ । हुम्लाको श्रीनगर, कालिका, मैला, मदना, जइरलगायत गाउँ खाद्य संकटको सूचीमा परेका छन् । लामो खडेरीका कारण मुगु, बाजुरा र हुम्लालगायतका जिल्ला प्रभावित भएका छन् । खडेरीका कारण मुगुको भीई, नाथर्पु, जिमा, कालै, धैनकोट, ह्याङ्लु, सुकाढिक, कोटडाँडा, माग्री, पुलु, किम्री र डोल्फु गाउँ ठूलो खाद्य संकटग्रस्त सूचीमा रहेका छन् ।

मुगुकै श्रीनगर, कार्किवाडा, रोवा, रुगा, पिना, रारा, फोतु, सेरी, श्रीकोट, खमाले, गम्था र कालिकोटको धौलागोह, नानिकोट गाउँ खाद्य संकट उन्मुख देखिएका छन् । यी क्षेत्रमा समयमा बाली नहुने र उत्पादन नहुनुको कारण जलवायु परिवर्तन नै रहेको कृषि अधिकारीहरू बताउँछन् । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ