arrow

तरकारीको फरक फरक मूल्य, विक्रेताकै बदमासी

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
vegetables-market.jpg

काठमाडौं । काठमाडौं उपत्यकाभित्रै रहेका तरकारी बजारमा तरकारीको मूल्य फरक फरक  पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार र अन्य तरकारी बजारमा अनुगमन गर्दा एउटै तरकारीको मूल्य पनि फरक फरक पाइएको हो ।

तरकारी व्यवसायीहरूले तरकारीको मूल्य निर्धारणमा मनोमानी गर्दा आपसमा जोडिएर रहेका पसलमै समेत तरकारीको मूल्य फरक फरक हुने गरेको छ । कालीमाटी तरकारी बजारमा हरियो खुर्सानीको खुद्रा मूल्य ४८ रुपैयाँ प्रतिकिलो  छ । तर, त्यही खुर्सानी मैतीदेवीमा ७० रुपैयाँ र कुपण्डोलमा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको पाइयो । त्यस्तै, कालीमाटीमा खुद्रा मूल्य ३८ रुपैयाँ प्रतिकिलोेका दरले रहेको ठूलो गोलभेंडा कुपुण्डोलमा ५० रुपैयाँ प्रतिकिलो र मैतीदेवीमा ४० रुपैयाँ प्रतिकिलोेका दरले बिक्री भइरहेको थियो ।

कालीमाटी तरकारी बजारमा प्रतिकिलो ५५ रुपैयाँका दरले रहेको भन्टा कुपुण्डोलमा उपभोक्ताले ७० रुपैयाँमा खरिद गरिरहेको देखियो । खुद्रा विक्रेताहरूले ग्राहकले खरिद गर्ने परिमाणका आधारमा तरकारीको मूल्य निर्धारण गरिने बताएका छन् ।

त्यस्तै, सानो गोलभेंडाको मूल्य ठाउँअनुसार २२ रुपैयाँदेखि ४५ रुपैयाँसम्ममा बिक्री गरेको पाइयो । कालीमाटी फलफूल तथा तरकारी बजारमा ३३ रुपैयाँ प्रतिकिलोेका दरले रहेको काउली अन्य बजारमा ६० रुपैयाँसम्म पर्ने गरेको छ । सोही काउली काभ्रेका किसानले १५ रुपैयाँ प्रतिकिलोेका दरले बिक्री गर्ने गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले तरकारीको गुणस्तर, खरिदको स्रोत र तरकारी खरिद बिक्रीको तहका आधारमा तरकारीको मूल्य फरक हुने गरेको बताए ।

‘छिट्टै कुहिने तरकारी भएमा बिहान एउटा मूल्य र बेलुका एउटा मूल्य हुनु स्वाभाविकै हो,’ उनले भने, ‘विक्रेताले खरिद गर्ने स्रोत कस्तो हो र कति तहबाट विक्रेतासम्म आइपुगेको छ भन्ने कुराले पनि तरकारी मूल्य फरक हुन्छ ।’

त्यस्तै, थोक विक्रेतासम्म आइपुग्दा कति तह पार गरेर आउने तथा सिधै किसानबाट खरिद गरेर बिक्री गरेमा तरकारी केही सस्तो हुने उनको भनाइ थियो । खुद्रा विक्रेतासम्म आइपुग्दा बढी चरण पार गरेर आएमा  उपभोक्तालाई पनि केही महँगो पर्ने पौडेलेको भनाइ थियो ।

त्यस्तै, कालीमाटी फलफूल तथा तकारी बजार व्यवस्थापन समितिले तरकारीको मूल्य विक्रेताहरूले आफैं निर्धारण गर्ने गरेको समेत बताएको छ । समितिका निर्देशक पौडेलले कुनै पनि वस्तुको मूल्य माग र आपूर्तिमा भर पर्ने स्मरण गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिने तरकारीको मूल्य विक्रेताहरू आफैंले निर्धारण गर्ने दाबी गरे ।

उनका अनुसार तरकारीको मूल्य निर्धारण गर्ने कुनै पनि सरकारी निकाय छैन । ‘तरकारीको मूल्य निर्धारण गर्ने छुट्टै निकाय छैन, मूल्य निर्धारण गर्न अप्ठ्यारो पनि छ,’ उनले भने, ‘कुनै कुनै तरकारी एक दुई घण्टामै सडेर वा कुहिएर पनि खेर जाने हुन्छ, त्यस्तो तरकारीको मूल्य आफैं परिवर्तन हुन्छ ।’ कुनै तरकारी लामो समयसम्म मौज्दात राख्न मिल्ने र कुनै छोटो समयमै कुहिने भएकाले तरकारीको मूल्यमा एकरूपता नभएको उनको स्वीकारोक्ति छ ।

 ‘लामो समय राख्न मिल्ने र छोटो समयमै कुहिने तरकारीको मूल्य फरक हुनु स्वाभाविकै हो,’ उनले थपे । तरकारीमा मात्रै होइन, सबै किसिमका खाद्य वस्तुको मूल्य निर्धारणमा व्यवसायीकै मनोमानी छ ।

कुनै पनि कृषिजन्य वस्तुको मूल्य निर्धारणका लागि सरकारले चासो दिएको छैन । ‘कृषिजन्य उपजको मूल्य निर्धारणका लागि छुट्टै निकाय गठन गरिएको छैन,’ समितिका निर्देशक पौडेलले भने, ‘कृषि उपजको मूल्य निर्धारणका लागि खासै वैज्ञानिक विधि छैन ।’
तरकारीको मूल्य निर्धारणका लागि कुनै तरकारीको वर्गीकरण हुनु पर्नेमा त्यो पनि हुन सकेको छैन । किसानले बिक्री गरेपछि विभिन्न चरणमा आइपुग्दा कुन तरकारीको अवस्था कस्तो छ भनेर अनुगमन गर्ने निकाय हुनुपर्ने र तरकारीको अवस्था हेरेर वर्गीकरण हुनुपर्ने उनको तर्क थियो । किसानदेखि उपभोक्तासम्म तरकारी पुगुन्जेल कुन तरकारीको अवस्था कस्तो छ, खान मिल्ने वा नमिल्ने, सडेको, कुहिएको, छुट्याएर वर्गीकरण हुनु पर्ने उनको भनाइ थियो ।

‘किसानले जस्तो तरकारी बिक्री गर्छन्, त्यस्तै तरकारी विक्रेताले लिएर आउँछन् । विक्रेताकहाँ आइपुगेपछि कुहिएर खेर जान्छ । खेर गएको तरकारीको मूल्यसमेत असुल्ने किसिमले विक्रेताले मूल्य निर्धारण गर्छन्,’ उनले थपे । तरकारी बजारको अनुगमन तथा नियमनका छुट्टै निकाय नभएको र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले नै अनुगमन गर्नुपर्ने पौडेलको भनाइ थियो ।

कालोबजारी, कार्टेलिङ भएको वाणिज्य विभागले नै हेर्ने र तरकारी बजार अनुगमनकै लागि भनेर छुट्टै निकाय नभएको उनले बताए । तरकारी बजारमा भएका अधिकांश समितिले बजारको व्यवस्थापन, मूल्यसूची संकलन गरी उपभोक्तालाई जानकारी दिने, बिक्री स्टल व्यवस्थापन, स्टल दर्ता, नवीकरणलगायतका सेवा सुविधा दिँदै आएको र समितिले अनुगमन तथा नियमन गर्ने कार्य नगर्ने उनको  भनाइ छ ।कालीमाटी फलफूल तथा तरकारी व्यवस्थापन समितिले पनि बजार व्यवस्थापन, बिक्री स्थल दर्ता, नवीकरण, ट्राफिक व्यवस्थापनलगायतका सेवासुविधा उपलब्ध गराउँदै आएको  उनले बताए । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ