arrow

सरसफाई अभियानमा बालबालिका अभियन्ता

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ वैशाख ३० आइतबार
cleaning-campaign-kids-kanchanpur.jpg

पुनर्वास। शनिवार विद्यालय विदाको सामय पारेर पश्चिम नेपालको कञ्चनपुरस्थित पुनर्वासमा भोजपुरे बाल क्लबका बालबालिकाले आफ्नो टोलमा सरसफाई सम्बन्धि स्थलगत अनुगमन गरेका छन् । पुनर्वास नगरपालिकाले वडा नं ५ लाई पूर्ण सरसफाईयुक्त नमूना वडा बनाउने निर्णय गरे पछि उक्त वडामा सरसफाईका कार्यक्रम तिब्र भएका छन् । 

वडा कार्यालय र सुआहाराको संयुक्त टोलीले घर–घरमा गई अनुगमन तथा जनचेतना जगाउने अभियान संचालन गरेको छ। वडाको घर–घर पुगी चर्पीको गुणस्तर र प्रयोग, जोखिमपूर्ण समयमा साबुन पानीले हात धुने अभ्यास, महिनावारी सरसफाई, हात धुने स्थान, खाने पानीको सुरक्षा, खाना स्वच्छता र एवं सुरक्षा, घर तथा आँगनको सरसफाई जस्ता विषयको अनुगमन गरि प्रत्येक घरलाई स्वच्छताको आधारमा नम्बरिङ गरेको नगर कार्यपालिका सदस्य सुरेश गजुरेलले बताए । यस्तो अनुगमन अब निरन्तर गरिने हुँदा अर्को पटक फेरी स्वच्छताको अवस्था हेरी नम्बर घट्ने वा बढ्ने हुन्छ र स्वच्छता स्थायित्व भए पनि वडालाई पूर्ण सरसफाई घोषणा गरिने गजुरेलले बताए ।

वडाका घरधुरी सर्वेक्षण गरि चर्पी नभएको घरहरुको एकिन गरि चर्पी बनाउन दवाव दिने र चर्पी बनाउन नसक्ने अवस्थाका वडाबासीलाई अतिविपन्न, एकल महिला घरमूली भएको, हजार दिने आमा, दलित, जनजाति, अपाङ जस्ता आधारहरु तय गरि ४० जनालाई प्राथमिकिकरण गरेर नगरपालिका र सुआहाराले चर्पी सामाग्री उपलब्ध गराएको छ। साथै पानी शुद्धिकरणका लागि १५ थान फिल्टर तथा धुवारहित सुधारिएको चुलोहरु समेत सुआहाराले उपलब्ध गराएको छ।  

शनिवार विहानै ‘तपाईको घरमा शौचालय छ ?’ ‘सरसफाई कस्तो छ हेरौन् ?’, ‘चर्पी प्रयोग गरे पछि साबुन पानीले हात धुनु हुन्छ ? ‘ दिसा गरे हात धुने साबुन र नुहाउने साबुन अलग अलग छ ?’ ‘ बच्चाको दिसा चर्पी फाल्नु हुन्छ की बारीमा फाल्नु हुन्छ ?’ आदि भन्ने प्रश्न गर्दै बालबालिका घर घरमा पुगे पछि स्थानीयहरु केहिबेर अलमलिएका थिए ।

बालबालिकाले भने अनुसार कतिले गर्ने गरेको र कतिले अब देखि लागू गर्ने स्थानीयले प्रतिवद्धता जनाएका थिए । आफु र आफ्नो घरको सरसफाई नियमित गर्नु राम्रा काम भएको भोजपुरे बाल क्लबकी अध्यक्ष गरिमा गजुरेलले बताईन् । त्यसै गरि हाम्रा सबै सदस्यहरुलाई आफु पनि सफा बस्ने र घरलाई पनि सफा राख्न हामी हाम्रो बाल क्लबको बैठकमा छलफल गरेर लागू गर्ने र आफ्नो गाउँको सरसफाईको अवस्थाबारे अनुगमन गरि र जनचेतना पनि जगाउने क्लबका सचिव सोहन गजुरेलले बताए ।

बालबालिकाको सहयोगले हामीलाई समुदायमा गएर काम गर्न धेरै सहयोग पुगेको सुआहाराका कर्मचारी राजेश चौधरीले बताए । सरसफाईले सबैभन्दा वढि प्रभावित पार्ने बालबालिका नै हुन् । त्यसैले यो कार्यक्रमलाई बालबालिकासंग जोडेर लाने हो भने सफल र दिगो हुने चौधरीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ