arrow

पुर्वराजा ज्ञानेन्द्रले मिलाए केपी ओली, प्रचण्ड र कमल थापालाई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
635425448.jpeg
काठमाडौं। तत्कालिन एमाले नेता मदन भण्डारीले भनेका थिए ‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन’। हुनपनि नेपाली राजनीति उनकै यही भनाईलाई निरन्तर प्रमाणित गर्ने गरी यही भनाई कै वरीपरी घुलिरहेको छ ।
 
नेपाली राजनीतिमा यतिसम्म भयोकि, प्रचण्ड र केपी ओली राजनीतिको लामो कालखण्डसम्म पानी पनि नचल्ने जस्तो दुश्मनीमा रहे । कुनै बेला प्रचण्ड नेतृत्वको ३० दलिय गठबन्धनले त ओलीलाई पागल भएकोले उपचारको व्यवस्था गर्न माग गर्दै उपचारको लागी राँची लैजान प्रेस बिज्ञप्ती नै निकाल्ने काम सम्म गर्यो । तर अहिले उनीहरुको बिचको सम्बन्ध नवबिबाहिता जोडीको जस्तो छ ।
 
कमल थापा, नेपालको जनपक्षिय आन्दोलनलाई दबाउने व्यक्ति हुन । उनलाई दोश्रो जनआन्दोलन पछि बनेको छानबिन समितीले जनआन्दोलनको अपराधी ठहर गर्दै कारबाही सिफारिश गरेको छ । उनी बर्तमान राजनीतिक परिवर्तनका बिरोधी हुन । अहिलेको राजनीतिक परिवर्तनका कुनै पनि एजेण्डा उनको पाटीको राजनीतिक एजेण्डासँग मिल्दैन । तर अचम्म उनै कमल थापा बर्तमान सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री छन । आखिर यो गठबन्धन कसरी बन्यो ? यो गर्भमै रहेको बिषय हो । यसबारे केही रहस्योद्ध्घाटन भएको छ ।
 
एमाओबादीका एक जना प्रभावशाली नेताका अनुसार प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन साँझ पुर्वराजा ज्ञानेन्द्र शाह, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कमल थापाका बिचमा राजधानीको लाजिम्पाटमा अवस्थित एक होटलमा करिब २ घण्टा लामो डिनर सहितको मिटिङ्ग भएको थियो । उक्त मिटिङ्गमा पुर्वराजा ज्ञानेन्द्र शाह आफ्ना एकजना सहयोगी सहित गएका थिए भने प्रचण्ड एक्लै उपस्थित भएका थिए । ज्ञानेन्द्र शाह र प्रचण्ड करिब करिब एउटै समयमा पुगेका थिए भने एमाले अध्यक्ष ओली केही ढिला गरी पुगेका थिए ।
 
यो छलफल हुनु भन्दा करिब ५ दिन अघिदेखी पुर्व राजा ज्ञानेन्द्र शाह प्रचण्ड र ओलीसँग परामर्शमा रहेका थिए । शाहले ओलीलाई कमल थापालाई आँफुले कन्भिन्स गरेर सरकारको समर्थन गर्न लगाउने बताउँदै आएका थिए । खासगरी सरकार गठनको पछिल्लो समयमा प्रधानमन्त्रीमा कांग्रेस नेता शेरबहादुर देउवाले बाजी मार्ने सम्भावना बढेको भनेर स्वयं एमाले नेताहरुले समेत ओलीको आशा मारी सकेको अवस्थामा पुर्व राजा ज्ञानेन्द्र शाह प्रारम्भमा डा. तुल्सी गिरीको माध्यमबाट ओली र प्रचण्डसँगको सम्बादमा पुगेको ज्ञानेन्द्र साह निकटको स्रोत बताउँछ ।
 
प्रारम्भमा कमल थापासँगको सहकार्य गर्ने बिषयमा प्रचण्ड केही हच्किएका थिए तर भारतको बिरुद्ध खुलामञ्च देखी अन्य माध्यमहरुबाट समेत कडा रुपमा प्रस्तुत भएका प्रचण्डका लागी जसरी पनि ओलीको नेतृत्वमा सरकार बनाउनु पर्ने इगो रहेको थियो । यो अवस्थामा ओलीले प्रचण्डलाई थापासँग सहकार्य गर्ने सन्दर्भमा सम्झाएपछि प्रचण्ड समेत सहमत भएका थिए ।
 
संबिधान जारी भए लगत्तै नयाँ सरकार बनाउने सन्दर्भमा भारतले देउवालाई प्रधानमन्त्री बनाउन लबिङ्ग गरिरहँदा कमल थापालाई पनि कांग्रेस नेतृत्वको सरकारमा महत्वपुर्ण मन्त्रालय दिलाईदिने आश्वासन भारतले दिएको थियो । त्यसो त धार्मिक आस्थाका कारण पनि कमल थापा भारतिय जनता पाटीसँग नजिक नै भएका नेता हुन । भाजपाले यो प्रस्ताव उनी समक्ष गरेपछि उनले नमान्ने कुरै भएन । उनीले देउवाको नेतृत्वलाई समर्थन गर्ने करिब करिब ढुक्क गराएपछि देउवाको सम्भावना बढेको चर्चा बजारमा आउन थालेको थियो ।
 
आँफुलाई कुनै जानकारी बेगर कमल थापालाई भारतले प्रयोग गर्न लागेको बुझेपछि पुर्व राजा ज्ञानेन्द्र शाहले यो गेमलाई बदल्न पटक पटक थापालाई आफ्नै निवासमा बोलाएका थिए । उनले कमल थापालाई ओलीको नेतृत्वमा सरकारमा जान भनेका थिए । उनले थापालाई कन्भिन्स गर्न सरकारमा गएमा मात्र आफ्ना एजेण्डाहरु स्थापित गर्न सकिने भन्दै सुझाएपछि थापाले ज्ञानेन्द्र समक्ष उपप्रधान सहित महत्वपुर्ण मन्त्रालय पाउनु पर्ने बताएका थिए । प्रतिउत्तरमा ज्ञानेन्द्रले पुरानो राजसंस्थाको बिरासत र हिन्दु राष्ट्रको गरिमालाई अन्तराष्ट्रिय स्तरमा मनोबैज्ञानिक रुपमा प्रबाह गर्नपनि परराष्ट्र मन्त्रालय लिनु पर्ने भन्दै त्यसैमा अडान लिन भनेका थिए । त्यसपछि रातारात थापा केपी ओली र प्रचण्डको लाईनमा नजिकिँदै गएका थिए ।
 
प्रधानमन्त्रीको उमेद्धवारी दर्ताको अघिल्लो साँझको पुर्व राजा सहितको डिनर मिटिङ्गमा ४ जना बिच सरकारको बिषयमा गहन छलफल भएको थियो । बैठकको प्रारम्भमा केही बेर मजाक पनि चलेको थियो । थापालाई उपप्रधान तथा परराष्ट्र मन्त्रालय दिने सहमती भएपछि ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्ड ओलीको प्रस्तावक र कमल थापा समर्थक बन्ने गरी निर्णय भएको बिशेष स्रोत बताउँछ । स्रोतका अनुसार पुर्व राजा ज्ञानेन्द्रले आफ्ना सहयोगी मार्फत ओली समक्ष ओली प्रधानमन्त्री भएमा सरकारी स्तरबाट आँफुलाई केही सेवा सुबिधा थप गरिदिन माग गरेको र ओलीले पनि त्यसमा सहमति जनाए पछि पुर्व राजा ज्ञानेन्द्र शाहले थापालाई ओलीको समर्थन गर्ने बातावरण बनाई दिएका थिए । पुर्व राजा ज्ञानेन्द्र शाह लामो समयदेखी नागार्जुन दरबारमा आम नागरिक सरह बस्दै आएका छन ।
 
खासगरी एमाले–माओबादीको राजनीतिक गठबन्धन बन्नु त्यति धेरै आश्चर्यको बिषय नभएपनि कमल थापासँगको सत्ता गठबन्धन कसरी सम्भव भयो भन्ने कुरा धेरैका लागी रहस्यकै कुरा बनेको थियो । सायद यस रहस्योद्धघाटनले केही हदसम्म गर्भमा लुकेको तथ्यलाई सामान्यिकरण गराउँनेछ ।
 
आर्थिक न्यूज डटकमबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ