arrow

ओझेलमा परेको गुर्जा तातोपानीमा पुर्वाधार निर्माण

logo
निर्मल खत्री,
प्रकाशित २०७५ जेठ २ बुधबार
Gurja-tatopani-kunda-2.jpg

म्याग्दी । प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको गुर्जा र मुदीको सिमा क्षेत्रमा पर्ने तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्न गरिएको छ ।

 धौलागिरि गाउँपालिका एक गुर्जा र ४ नम्बर वडा मुदीको सीमा क्षेत्रमा रहेको खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानको  पूर्वाधार निर्माण गरिएको हो । गुर्जा खोलाको किनार र पहाडको फेदीमा रहेको मुहानबाट प्राकृतिक रुपमा निस्कने तातोपानीलाई संकलन गरी स्नानका लागि पक्की पोखरी बनाइएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिएका छन ।

गाउँपालिकाको रु ११ लाख अनुदान र स्थानीयवासीको रु तीन लाखभन्दा बढीको श्रमदानमा पूर्वाधार निर्माण भएको हो । प्राकृतिकरुपमा नूनिलो स्वादको ५० डिग्रीभन्दा बढी तातो पानी निस्कने मुहान रहेको छ । गुर्जा र मुदीदेखि चार घण्टा पैदल यात्रा गरेपछि तातोपानीको मुहान रहेको ठाउँमा पुग्न सकिन्छ । करीब १० मिटर लम्बाइ, पाँच मिटर चौडाइ र एक मिटर गहिराइको पक्की पोखरी बनाइएको हो । पोखरीमा एक पटकमा कम्तीमा ३५ जनासम्मले स्नान गर्न सक्ने क्षमता रहेको छ ।

स्नान तथा भ्रमणका लागि पुग्ने सर्वसाधारण र पर्यटकको सुविधाका लागि दुई वटा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ । अस्थायी टहरा हालेर बसोबास गर्ने व्यवस्थाका लागि भिरालो पाखोलाई सम्याइएको छ । गुर्जा गाउँदेखि मुहानसम्म जाने व्यवस्थित पदमार्ग निर्माण भएको छ ।

भौगोलिक विकटता, पूर्वाधारको कमी र प्रचारप्रसारको अभावमा ओझेलमा परेको तातोपानी कुण्डलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । सो तातोपानीलाई स्थानीयवासीले अस्थायी पोखरीमा संकलन गरेर स्नान गर्दै आएका थिए । वार्षिक १५० जनाको हाराहारीमा मानिस तातोपानी स्नानका लागि जाने गरेका छन् । तातोपानीमा स्नान गरेपछि हाडजोर्नी दुख्ने, ग्यास्ट्रिक, चोटपटक लागेकोजस्ता स्वास्थ्य समस्या निको हुने गरेको स्थानीयवासी बताउँछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ