arrow

मोदीको मुक्तिनाथ भ्रमणसंगै पर्यटकको चाप बढ्यो

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
modi-muktinath-worship.jpg

बागलुङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथमा विशेष पूजा र भ्रमणसंगै मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ भएको छ ।  मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।  धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र जेठ पनि पर्यटकीय याम हो ।

सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या नौ हजार १०५ रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्म १६ हजार ९८४ बाह्य पर्यटक मुक्तिनाथ पुगेका छन् । सबैभन्दा बढी आठ हजार ५५६ पर्यटक भारतीय रहेका छन् ।

मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिमसम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताए ।

“अहिले दैनिक सयौं बाह्य पर्यटक मुक्तिनाथ आइरहेका छन्, आन्तरिक पर्यटकको पनि घुइँचो छ,’ उनले भने, “पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटललाई भ्याइनभ्याइ छ ।”

मुक्तिनाथ, रानीपौवास्थित ‘स्रेने गेष्ट हाउस’ का सञ्चालक रामहरि फुयाँल बास बस्ने पर्यटक बढेको बताउछन् ।  पर्यटकको चाप बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि उत्तिकै बढेको छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटकले रात बिताउने गरेका छन् । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँ जान्छन् ।

जोमसोमका होटल व्यवसायी अनिता शेरचन पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको बताउछन् ।  “मुस्ताङ घुम्ने नेपालीको संख्या वर्षेनी बढ्दो छ, पर्यटकीय याममा हाम्रो पनि व्यस्तता बढ्छ,’ उनले भने । “मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।

एक्याप जोमसोमका प्रमुख दाहालका अनुसार म्याग्दीहुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको संख्या सबैभन्दा बढी छ । यस्तै, मनाङहुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । सूचना केन्द्रका अनुसार वर्षेनी मुक्तिनाथ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।

गत वर्ष कूल ४६ हजार ६७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त संख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गतवर्ष ५२ हजार बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

नरेन्द्र मोदीले धेरै वर्षअघि मुक्तिनाथमा बसेर भक्ति गरेको र सिद्धि प्राप्त गरेको बताइन्छ । नेपाल र भारतमा यसको चर्चा छ । उनको मुक्तिनाथ मोह र शनिबार बिहान विशेष ध्यानका साथ उनले गरेको पूजा र भ्रमणले उनी पहिले त्यहीं गएरै निकै नजिक रहेको बुझिन्छ ।  मोदीले झण्डै डेढ वर्षसम्म मुक्तिनाथमा बसेको बताइन्छ । मुक्तिनाथमा हिन्दू र बौद्धधर्माबलम्बीले उनलाई त्यहाँका बारेमा जानकारी दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ