arrow

मोदीको घोषणाबाट क्यान्सर अस्पतालमा आशाको सञ्चार

logo
रमेश गिरी,
प्रकाशित २०७५ जेठ २ बुधबार
modi_7593.jpg.jpeg

भक्तपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमणका बेला भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा भएसँगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी सेवा दिन सकिने आशा पलाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीबाट क्यान्सर बिरामीको उपचारमा सहयोग हुने अत्याधुनिक भाभाट्रोन रेडियो थेरापी उपकरण (कोबाल्ट ६० विथ सिमुलेटर) दिने घोषणा भएसँगै क्यान्सर बिरामीलाई अब सहजरुपमा सेवा दिन सकिने बताए ।

उनले भने, “भारतीय प्रधानमन्त्रीले घोषणा गरेसँगै यो मेशिन जतिसक्दो छिटो आउँला भन्नेमा हामी विश्वस्त छौँ । यो मेशिन आएपछि रेडियो थेरापीमा अझै गुणस्तरीय सेवा दिन सक्नेछौँ ।” करीब  १० करोड पर्ने यो मेशिन आएपछि हाल सञ्चालनमा रहेको २० वर्ष पुरानो रेडियो थेरापी मेशिनलाई हट्ने उनले बताए ।

विसं २०५५ मा रोटरी क्लब अफ युकेलगायतको सहयोगमा अस्पताललाई प्राप्त साइरस रेडियो थेरापी कोबाल्ट मेशिनले हालसम्म सेवा दिँदै आए पनि पुरानो भएकाले पछिल्लो समयमा अपेक्षित सेवा दिन सकिएको छैन ।

अस्पतालले नेपाल सरकारको अनुदानमा अत्याधुनिक रेडियो थेरापी लिनायक मेशिन पनि ल्याउने भएको छ । करीब  १९ करोड पर्ने यो मेशिन आगामी छ महिनाभित्र नेपाल ल्याएर सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए  । यसका लागि नेपाल सरकारले रु पाँच करोड अनुदान उपलब्ध गराइसकेको छ ।

भारत सरकारले प्रदान गर्ने मेशिन र नेपाल सरकारको अनुदानमा ल्याउन लागिएको अत्याधुनिक लिनायक मेशिन सञ्चालन भएपछि भने रेडियो थेरापी गर्नुपर्ने बिरामीले पालो कुर्नु नपर्ने उनको भनाइ छ ।

अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले हाल रेडियो थेरापीको सेवा लिन क्यान्सरका बिरामीले दुई महिना कुर्दै पर्ने वाध्यता रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको मेशिन आएलगत्तै बिरामीले छिटो र सहजरुपमा सेवा दिन सकिने बताइन्छ ।

प्रशासन प्रमुख तजलेले भन्नुभयो, “पुरानो मेशिनबाट हाल दैनिक १०० देखि ११५ जनासम्मको थेरापी हुँदै आएको छ । अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको मेशिन आएर सञ्चालन भएलगत्तै रेडियो थेरापी गर्ने बिरामीले सजिलो र अझै गुणस्तरीय सेवा दिन सक्नेछौँ ।”

भारतले दिने मेशिन र लिनायक मेशिन सञ्चालनमा ल्याउन सकिए दैनिक २०० भन्दा बढी बिरामीको रेडियो थेरापी गर्न सकिने बताइन्छ । यस्तो भएमा क्यान्सरका बिरामी थेरापीका लागि पालो कुर्नुपर्ने समस्याबाट भने मुक्त हुनेछन् ।

अस्पतालले यसअघि नै भारतीय राजदूतावासमार्फत रेडियो थेरापी मेशिन सहयोग गरिदिन अनुरोध गरेको थियो । सोही अनुरोधस्वरुप नेपालको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले मेशिन भक्तपुर क्यान्सर अस्पताल उपलब्ध गराउने घोषणा गरेका हुन् ।  

अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको घोषणाले अस्पताल प्रशासन, कर्मचारी र बिरामीमा नयाँ आशा र खुशी पलाएको जनाएको छ । हाल ओपिडी, फलोअप र रेडियो थेरापीलगायतको सेवा लिन अस्पतालमा दैनिक ४५० जनाभन्दा बढी बिरामी आउने गरेका छन् ।

प्रसूति, नाक, कान, घाँटी, पेट, हाडजोर्नीलगायत विभिन्न रोगको दैनिक छ वटासम्म शल्यक्रिया गर्दै आएको यस अस्पतालमा बिरामीको चापको अनुपातमा यन्त्र उपकरणको अभाव रहँदैआएको छ ।

यसअघि पनि भारतीय दूतावासले नेपाल अर्बुद रोग निवारण संस्थाका विभिन्न शाखाका लागि एम्बुलेन्स, जेनेरेटर उपहार दिएको थियो भने अस्पतालमा उपचार गराउँदै आएका गरीब, असहाय बच्चा तथा महिलाका लागि इन्डियन ओमन क्लबबाट प्रत्येक वर्ष एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराइँदै आइएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ