arrow

एमाले - माओवादीको बेग्लाबेग्लै बैठकपछि संयुक्त केन्द्रीय समितिको बैठक

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
baithak.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा केन्द्रीय समितिको बैठकलाई जानकारी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहना बमोजिम दुई पार्टीको बीचमा एकता भएको बताएका थिए ।

उनले टुटफुटको विगतको इतिहासलाई समेत आफूहरुले नजिकबाट नियालेको र भोगेको भन्दै देश र जनतालाई समृद्धिको दिशामा अगाडि लैजाने लक्ष्यका साथ एकता प्रक्रिया अगाडि बढेको जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन भएका प्रयासका बारेमा केन्द्रीय समितिलाई जानकारी गराउँदै आगामी दिन एकताबद्ध भएर जानसमेत केन्द्रीय सदस्यहरुसँग आग्रह गरे।

संघीय संसद्, प्रदेश, स्थानीय तहमा समेत वाम शक्तिको सुविधाजनक बहुमत रहेको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले दुई ठूला पार्टीको एकताले स्वदेशी तथा विदेशी समुदायमा समेत खुशीको सञ्चार भएको बताए । उनले एकीकृत पार्टीले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने र तत्कालीन कार्यक्रमका रुपमा ‘समाजवाद उन्मुख जनताको जनवाद’ लाई अंगिकार गर्ने सहमति भएको जानकारी दिएका थिए ।

नौजनाको हेडक्वार्टर बन्ने

एमाले र माओवादी केन्द्रको एकतापछि नौ सदस्यीय हेडक्वार्टर बन्ने भएको छ । एकता संयोजन समितिमा रहेका आठजना र थप एक सदस्य रहने गरी सो व्यवस्था गरिएको सचिव भट्टराईले जानकारी दिए ।

एकता संयोजन समितिमा रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा हेडक्वार्टरमा रहनेछन् । सो समितिमा विष्णु पौडेललाई थप गरिएको छ । पौडेललाई संगठनको काम गर्ने गरी महासचिव एवं नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ता रहने सहमति भएको छ ।

माओवादीको केन्द्रीय सचिवालय बैठक

यस्तै, पार्टी एकताका बारेमा माओवादी केन्द्रको सचिवालयको बैठकमा अध्यक्ष दाहालले पार्टी एकताको विषयमा जानकारी गराएका छन् ।  अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको बैठकमा एकताका बारेमा जानकारी गराएका थिए । बैठकमा स्थायी समिति र केन्द्रीय समितिमा रहने सदस्यका बारेमा छलफल भएको थियो ।

संयुक्त केन्द्रीय समितिको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समितिको बैठक बसेको छ । बैठकमा एकता प्रक्रियाका बारेमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी गराउने कार्यक्रम रहेको छ । सो बैठकमा दुवै पार्टी विघटन भएको र नयाँ पार्टी गठन गरिएको जानकारी दिइने सचिव भट्टराईले बताए  ।

दुबै पार्टीले आज मात्रै एकता प्रक्रियालाई अन्तिम रुप दिने निर्णय गरेका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ