arrow

यी हुन् अन्तिमपटक रुस विश्वकपमा देखिन लागेका चर्चित खेलाडीहरु 

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
footballers.jpg

काठमाडौं । केही समयमा रुसमा विश्वकप फुटबलको महाकुम्भ सुरु हुँदैछ । यस्तोमा सबै खेलाडीहरु यो प्रतियोगिता केही विशेष बनाउनका लागि लागिपरेका छन् तर यो विश्वकपमा यस्ता केही खेलाडीहरु छन्, जो अन्तिमपटक अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका हुनेछन् । 

राफेल माक्र्युज, मेक्सिको
गएको अप्रिल महिनामा क्लब फुटबलबाट सन्यास लिएका राफेल अहिले ३९ वर्षका भएका छन् । २२ वर्षअघि आफ्नो व्यावसायिक फुटबलको करियर सुरु गरेका खेलाडीको लागि रसिया विश्वकप अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । यो विश्वकपमा सबैभन्दा धेरैपटक विश्वकपमा सहभागी हुने खेलाडीको कीर्तिमानमा पनि उनले बराबरी गर्नेछन् । यसपटक उनी पाँचौपटक विश्वकप प्रतियोगितामा सहभागी हुन गइरहेका हुन् । 

उनले सन् २००२, २००६, २०१० र २०१४ गरी चारपटक विश्वकपमा सहभागिता जनाइसकेका छन् । जसमध्ये दक्षिण अफ्रिकामा भएको सन् २०१० को विश्वकप भने उनको लागि यादगार बन्न पुगेको थियो । 

आन्द्रेस इनिस्टा, स्पेन
सन् २०१० को विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाको जोहान्सवर्गमा भएको फाइनल खेलमा नेदरल्याण्डस्लाई हराउँदै स्पेन विश्वविजेता बनेको थियो । सो खेलका नायक थिए–आन्द्रेस इनिस्टा । यो खेलाडीलाई जुनसुकै अवस्थामा पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने खेलाडीको रुपमा चिनिन्छ । 

दुई दशकको बार्सिलोनाको यात्रा पनि पूर्णविराम लगाइसकेका ३४ वर्षीय खेलाडीको लागि रुस विश्वकप अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । इनिस्टाले सन् २००६ को विश्वकपमा साउदी अरेबिया विरुद्धको खेलमा डेब्यु गरेका थिए । त्यसको चार वर्षपछि भएको विश्वकप उनको लागि निकै यादगार बन्न पुग्यो । उनले अहिलेसम्म तीनपटक विश्वकपमा सिहभागिता जनाइसकेका छन् । 

टिम काहिल, अष्ट्रेलिया
अष्ट्रेलियाको लागि आधुनिक विश्वकपमा एकैनासको खेल पस्किने एकमात्र खेलाडी हुन्, टिम काहिल । उनले अष्ट्रेलियालाई अहिलेको अवस्थामा ल्याउनका लागि निकै ठुलो योगदान दिएका छन् । अहिलेसम्म उनले पाँच गोल आफ्नो नाममा गरिसकेका छन् । 

सन् २०१४ मा भएको चिलीविरुद्धको खेलमा गोल गर्दै तीन विश्वकपमा गोल गर्ने पहिलो अष्ट्रेलियन खेलाडी बनिसकेका काहिलको लागि यो विश्वकपमा गोल गर्दै आफ्नो कीर्तिमानमा अर्को इँटा थप्ने सुनौलो अवसर पनि रहेको छ । उनले सन् २००६ को विश्वकपमा डेब्यु गरेका थिए भने २०१० र २०१४ मा पनि निकै राम्रो प्रदर्शन गरेका थिए । 

जेभियर मास्केरानो, अर्जेन्टिना 
बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका थिए, “जेभियर मैले आफ्नो करियरमा देखेकोमध्ये सबैभन्दा बुद्धिमान् खेलाडी हो ।” अर्जेन्टिनाका जेभियर मास्केरानोको लागि पनि यो विश्वकप अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । 

यससँगै अर्जेन्टिनाको लागि ३३ वर्षीय यी खेलाडीको कस्तो महत्व छ भन्ने विषयमा पनि बहस सुरु भएको थियो । अर्जेन्टिनाका पूर्व फुटबलर तथा प्रशिक्षक डिएगो म्याराडोनाले अर्जेन्टिनामा ‘मास्केरानो र बाँकी १० खेलाडी’ रहेको भन्दै उनले प्रशंसा गरेका थिए । 

चार वर्षअघि विश्वकप उपाधिको निकै नजिक पुगेर पनि उपाधि हासिल गर्न नसकेको अर्जेन्टिना यसपटक भने उपाधि हासिल गर्ने अठोटका साथमा मैदानमा उत्रिनेछ । यस्तोमा मास्केरानोको लागि पनि आफ्नो अन्तिम प्रतियोगिता यादगार बनाउने मौका हुनेछ । 

उनले अहिलेसम्म अर्जेन्टिनाको १६ विश्वकपको खेलहरुमा सहभागिता जनाइसकेका छन् । सन् २००६ मा डेब्यु गरेका उनले तीन विश्वकपमा सहभागिता जनाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ