arrow

अर्जुनचौपारीलाई नमुना बनाउने अठोट

गाँउ छाडेकालाई फर्काउने अभियान

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ २४ बिहिबार
arjunchoupari_gaupalika.jpg

स्याङ्जा ।  स्थानीयतह निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले कामकाज समालेको एक बर्ष पुरा भएको छ । सिंहदरवारको अधिकार गाँउतह सम्म आएको अनुभुति लिएका गाँउपालिकामा निर्वाचित भएका जनप्रतिनिधिले आफ्नो एक बर्ष पुरा गरेका छन् । गाँउ छाडेर शहर पसेका गाउपालिकाबासी पछिल्लो समय गाँउपालिकाको समग्र विकासमा हातेमालो गर्न तम्सिएका छन् ।

“समृद्ध अर्जुनचौपारी, सुखी गाँउपालिका” परिलक्षित गरेर गाँउपालिकाबाट पोखरा बसोवास गर्दै आएका स्थानीयले गाँउपालिकालाई समृद्ध बनाउने लक्ष्य हाम्रो हातमा रहेको भन्दै सरोकारवालाहरुलाई राखेर एक दिने विचार गोष्ठिको आयोजना गरी सम्भावना र चुनौतिको खोजी गरेका छन् । अर्जुनचौपारी गाँउपालिका, पोखरा सम्पर्क समाजले आयोजना गरेको स्याङ्जा अर्जुनचौपारी गाँउपालिकाको विकासका संभावना र चुनौतिका विषयमका विभिन्न शिर्षकमा छलफल गरिएको थियो । पुर्वमा पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत, उत्तरमा आँधीखोला गाँउपालिका र दक्षिणमा भीरकोट नगरपालिका सिमाना रहेको अर्जुनचौपारी गाँउपालिका कृषि र पर्यटकीय सम्भावना बोकेको गाँउपालिका हो । सोली जस्तो आकार परेको गाँउपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि,पशुपालन, पर्यटन, यातायात, संचार र खेलकुद क्षेत्रमा के कस्ता कार्य गर्न सकिन्छ भन्ने विषयमा समुहगत छलफल गरीएको छ ।

स्थानीय, प्रदेश र संघिय सरकारबाट हुन सक्ने बिकासे योजनाको तर्जुमा गरी स्थानीयतहबाट गर्न सक्ने सम्भावनालाई बढी प्रथामिकता दिइएको छ । समग्र गाँउपालिकाको आर्थिक, सम्भावना र चुनौतिका विषयमा गाँउपालिकाका प्रवक्ता ख्यामनारायण खनालले जानकारी दिए । गएको आर्थिक बर्षको बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, खेलुकदको विकास लगायतमा खर्च गरिएको उल्लेख गर्दै अवको बजेटले पर्यटन विकास र कृषिलाई प्रथामिकतामा राखेर अगाडी बढ्ने योजनामा रहेको बताए ।

कृषि र पर्यटनको विकासका लागि सडक महत्वपूर्ण हुने देखिएकाले सबै भन्दा पहिला सडकको स्तरोन्नती गर्न सरोकारवालाले गाँउपालिकालाई सुझाएका छन् । गाँउ छाडेर अन्यन्त्र गए पनि केही आर्यआर्जनका लागि बाहिर गएपनि सधै आफ्नो गाँउपालिकाको विकास र भविष्यमा नै हामी केन्द्रित हुने गरेको सहभागीहरुले बताएका थिए । अव गाँउपालिकाको मुहार फेर्न स्थानीय सरकार र सबै स्थानीयवासी एक भएर विकासको ज्वाला फुटायौ भने बाहिर बसेका सबै स्थानीय गाँउ फर्कने अवस्था सिर्जनागर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको अर्जुनचौपारी गाँउपालिका—पोखरा सम्पर्क समाजका अध्यक्ष डाक्टर भवानीशंकर पौडेलले बताए ।

संविधानले सिंहदरवारको अधिकार स्थानीयतहलाई दिएको भएपनि संघिय, प्रदेश सरकारको स्पष्ट खाँका नआउदा काम गर्न कठिनाई हुने गरेको जनप्रतिनिधिहरुको गुनासो छ । गत बर्षको भन्दा पनि यो आर्थिक बर्षमा बजेट घटेर आउनुले पनि विकास निमार्णमा कठिनाई हुने देखिएको छ । जनताको माग धेरै गाँउपालिकामा आएको बजेट थोरै हुने गरेकाले भएको बजेटको सदुपयोग गरी गाँउपालिकालाई नमुना बनाउने लक्ष्य हाम्रो रहेको गाँउपालिका प्रमुख दिर्घनारायण अर्यालले बताए । हामी पनि चिन्तित छौं गाँउपालिका प्रमुख अर्यालले भने,‘बजेटको पुर्ण सदुपयोगमा हाम्रो ध्यान जानेछ र गाँउपालिकालाई समृद्ध बनाउन हातेमालो गर्ने छौं ।’ यहाँ भएका सम्पदाको खोजी गरि प्रचारप्रसार र संरक्षणमा गाँउपालिकाको ध्यान जाने छ अर्यालले भने ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख चिनमाया गुरुङ, पूर्व जिल्ला विकास समिति उपसभापति लक्ष्मीपति पौडेल, नेपाल कम्युनिष्ट पार्टीका मोहनबहादुर अधिकारी, नेपाली कांग्रेसका बोधनारायण रेग्मी , अर्जुनचौपारी गाउँपालिका पोखरा सम्पर्क समाजका अध्यक्ष भवानी शंकर पौडेल, उपाध्यक्ष गोविन्द काफ्ले, सल्लाहकार उमाकान्त पौडेल, वेदप्रसाद पौडेल, लक्ष्मीप्रसाद गुरुङ, हेमनारायण चापागाई, प्रताप पौडेल  लगायतले जनताको आवश्यकताको आधारमा योजना ल्याएर समयमा नै कार्यान्वयन भए विकासको ढोका खोलिने बताएका थिए । कृष्णप्रसाद चापागाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।   

विभिन्न कारणले बसाइसराई र रोजगारीले बाहिर बसेपनि आफ्नो गाँउपालिकाको चिन्ता लिएर गाँउपालिकाको आर्थिक र विकासोन्मुख रुपले सम्पन्न गराउने स्थानीयले देखाएको चासो सर्हानीय रहेको छ । सरकारको मात्रै मुख ताक्नु भन्दा पनि आफ्नो गाँउपालिकाको विकासमा स्थानीय नै चनाखो हुन सके स्थानीयतहले मुहार फेर्ने र सिंहदरवारको अधिकार गाँउमै पाएको अनुभुति हुने देखिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ