arrow

आइसिटी सम्मेलन असार ३ बाट

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
can1.JPG

काठमाडौँ । सूचना प्रविधिको उच्चतम अभ्यासबारे जानकारी गराउने उद्देश्यले यहाँ अन्तर्राष्ट्रियस्तरको ‘सूचना तथा सञ्चार प्रविधि सम्मेलन(आइसिटी) –२०१८’आगामी असार पहिलो हप्तामा यहाँ हुने भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आगामी असार ३ र ४ गते सम्मेलन आयोजना गर्न लागेको सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यान महासंघका महासचिव रञ्जीत पोदारले बताए । क्यान महासंघले यसअघिका सत्रौँ संस्करणसम्म आइसिटी कन्फ्रेन्सलाई क्यान इन्फोटेकको एउटा भागका रुपमा अघि बढाइरहेकामा यस वर्षदेखि विशेष प्राथमिकताका साथ अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञसमेतको उपस्थितिमा छुट्टै कार्यक्रमका रुपमा आयोजना गर्न लागेको हो ।

स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारा दिइएको आइसिटी सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास लक्ष्यमा प्रयोगतर्फ सरकारका तर्फबाट अहिलेसम्म भइरहेका प्रयास र सरकारले हालै सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषय कार्यान्वयनका लागि आगामी कार्ययोजनाबारे प्रस्तुति दिने आयोजकले जनाएको छ ।

सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका, मलेसिया, सिंगापुर र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का विषयगत विशेषज्ञले पनि कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । दुईदिने सम्मेलनमा विशेषज्ञले पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवातर्फ सूचना प्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसैगरी स्मार्ट सोसाइटी, सूचना प्रविधिविज्ञ, उच्च सरकारी प्रतिनिधि, राजनीतिक नेतृत्व, स्थानीय तहका प्रतिनिधि तथा सम्बन्धित अन्य विज्ञको सहभागितामा समूहगत उच्चस्तरीय छलफल हुनेछ । सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, युएनडिपीलगायत सूचनासँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको मुख्य प्रायोजक सुविसु केबल नेट प्रालि रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ