arrow

रुस विश्वकप : इतिहास रच्ने दाउमा यी पाँच कप्तान

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
nemar.jpg

काठमाडौं । रुस विश्वकपको लागि अब केही समय मात्र बाँकी रहेको छ । सबै पुस्ताका मानिसहरुलाई मनपर्ने खेलको महाकुम्भमा विभिन्न ३२ मुलुकहरु उपाधि हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछन् । ६४ खेलहरु हुने प्रतियोगिताको अन्तिम खेलमा मात्र यो उपाधि कसले लैजान्छ भन्ने कुराको निश्चित हुन्छ । यद्यपि यो उपाधिको दौडमा अघि बढिरहेका केही टोलीका कप्तानहरुको भने छुट्टै किसिमको कथा रहेको छ ।

१. एसाम एल हेडरी (इजिप्ट)

इजिप्टका यी खेलाडी अहिले विश्व कीर्तिमान गर्ने तरखरमा रहेका छन् । अहिलेसम्म विश्वकपमा सबैभन्दा पाको उमेरको गोलकिपरको रुपमा कोलम्बियाका गोलकिपर फार्यड मन्ड्रागोनले सन् २०१४ मा ४३ वर्ष तीन दिनको उमेरमा विश्वकप खेल्दै कीर्तिमान राखेका थिए । यो कीर्तिमान चार वर्षभन्दा कम समयमा नै भङ्ग हुने भएको छ । हेडरी ४५ वर्ष एक सय ५० दिनका छन् । साथै उनी यो विश्वकपमा उत्कृष्ट प्रदर्शनको वाचासहित रुस पुगेका छन् ।

२. ह्यारी केन (इंगल्याण्ड)
इंगल्याण्डका स्ट्राइकर ह्यारी केन पनि यसपटकको विश्वकपमा सबैको आखाँमा परेका कप्तान हुन् । २४ वर्षीय यी स्ट्राइकरको प्रदर्शन पनि निकै राम्रो रहेको छ । यी खेलाडीको यो पटकको विशेषता भने सबैभन्दा कम उमेरको कप्तान बन्नसक्ने हो । इंगल्याण्डको लागि यसअघिका कप्तानहरु वार्यन रोनी, जोन टेरी, डेभिड बेकह्याम र ग्यारी लिंकरभन्दा पनि ह्यारी केन महत्वपूर्ण कप्तान रहेको भन्दै उनको प्रशंसा गरिएको छ । उनले क्लबस्तरीय चार खेलमा एक सयभन्दा बढी गोल गरिसकेका छन् ।

३. नेयमार (ब्राजिल)
ब्राजिलियन स्ट्राइकर नेयमार विश्व फुटबलका एक महत्वपूर्ण खेलाडी हुन् । २६ वर्षीय यी खेलाडीले ब्राजिलको कप्तानीको जिम्मेवारी पाएका छन् । यससँगै उनी आफ्नो टोलीलाई छैठौं पटक विश्वकपको उपाधि जिताउने लक्ष्यमा अघि बढेका छन् । चार वर्षअघिको ब्राजिलको नराम्रो हारको इतिहासलाई यसपटक स्वर्णिम बनाउने जिम्मेवारी उनको काँधमा रहेको छ । केही समयअघिमात्र उनी लामो समयको खुट्टाको चोटपछि मैदानमा फर्किएका छन् ।

४. अरोन गुनार्सन (आइसल्याण्ड)
आइसल्याण्डको लागि अरोन गुनार्सनको कप्तानी फापेको देखिन्छ । पछिल्लो केही वर्षमा उनले आइसल्याण्डको लागि निकै खेलहरुमा कप्तानीको भूमिका निर्वाह गर्दै आएका छन् । यो मुलुक उनकै कप्तानीमा सन् २०१५ मा युरोपियन च्याम्पियन्सको लागि छनोट भएको थियो । साथै क्वार्टरफाइनलमा पनि पुगेको थियो । क्वार्टरफाइनलमा घरेलु टोली फ्रान्ससँग हारेर घर फर्किएको टोलीले रुस विश्वकपमा पनि उनकै नेतृत्वमा छनोट भएको थियो । दुईवर्षअघि फ्रान्समा गरेको प्रदर्शन यसपटकको विश्वकपमा देखाउने अपेक्षा उनीमाथि गरिएको छ ।

५. राडामेल फाल्काओ (कोलम्बिया)
सन् २०१४ को जनवरी २२ मा राडामेल फाल्काओले घुँडाको चोटको सामना गर्नपुगे, जसको कारण उनले ब्राजिलमा भएको विश्वकप गुमाउन पुगे । त्यसपछि कोलम्बियाले क्वार्टरफाइनलसम्मको यात्रा पनि तय गर्न सकेन । कोलम्बियाका स्ट्राइकरको लागि यसपटकको विश्वकपमा अघिल्लो विश्वकपको अधुरा कामहरु पूरा गर्ने महत्वपूर्ण अवसर रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ