arrow

नेपाल आएको चिनियाँ टोलीले एजेन्डा सुन्यो कि नाडी छाम्यो ?

प्रधानमन्त्री ओलीको चीन भ्रमण पुरानै एजेन्डामा केन्द्रीत

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
oli-xi-jing-ping.jpg.jpeg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी तीव्र भइरहेको छ। नेपाल सरकारले पनि चीन जाँदा आफूले राख्ने एजेन्डाको तयारी गरिरहेको छ भने चिनियाँ पक्षले पनि तयारीलाई तीव्र पारेको छ। 

प्रधानमन्त्री ओली असार ५ गतेदेखि चीन भ्रमणमा जाँदै छन्। उनी चीन जाँदा गरिने सहमति र सम्झौताका लागि कतिपय एजेन्डा मन्त्रीपरिषदबाट पारित भइसकेका छन् भने कतिपय विषयमा आन्तरिक छलफल चलिरहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाका अनुसार यसअघि भइसकेका १० वटा सम्झौताका बुँदालाई कार्यान्वयनमा लैजानका लागि नेपालले पहल गर्नेछ।

त्यसैगरी भ्रमणका समयमा नाका खुलाउनेदेखि यातायात तथा रेलमार्ग अनि उर्जा र जलस्रोतमा विशेष जोड दिइने छ। थप केही सहमति पनि गरिने प्रवक्ता बाँस्कोटाले बताएका छन्। आइतबार बसेको मन्त्रीपरिषदको बैठकले दुई देशबीच उर्जा सहयोग तथा समन्वय सम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने निर्णयलाई पारित गरेको थियो। 

नेपालले बनाएका एजेन्डामा तातोपानी मितेरी पुल र रसुवागढी स्याफ्रुबेँसी जोड्ने पुल निर्माणको प्राविधिक र आर्थिक सम्बन्धी सम्झौता हुनेछ। त्यसैगरी गल्छी–रसुवागढी–केरुङ चार सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन आयोजनाबारे पनि छलफल हुन सक्नेछ। त्यस्तै बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत ४ सय ५० मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव गर्ने तयारी रहेको स्रोत बताउँछ। 

हिमाली क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा विकास, निर्माण तथा सामान ढुवानीसम्बन्धी पुरानो सम्झौतालाई अझ स्तरोन्नति गर्ने र नाका थप गर्ने विषय पनि भ्रमणको एजेन्डा बन्न सक्ने बुझिएको छ। काठमाडौंदेखि केरुङसम्मको रेलमार्ग निर्माणको समझदारी (मेमोरेन्डम अफ अन्डरस्ट्याडिङ) हुने सम्भावना रहेको बताइन्छ। 

रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको एजेन्डाले पनि प्राथमिकता पाउन सक्नेछ। नेपाल र चीनबीच लगानी प्रवद्र्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता बिप्पालाई नेपालले प्राथमिकतामा राखेको छ भने योसंगै निजी क्षेत्रबीच नेपालमा ४० अर्ब रुपैयाँ लगानी गर्नेबारे समझदारी हुने स्रोतको दावी छ। 

हुनत प्रधानमन्त्री अघिल्लो पटक प्रधानमन्त्री भएका बेलामा चीनसंग भएका सहमति र सम्झौता कार्यान्वयनमा आउन सकेका छैनन्। त्यसबाट पनि सहमति कार्यान्वयनमा आउने प्रक्रिया नहुँदासम्म हुने सहमति र सम्झौता केबल औपचारिकता मात्र हुन्। तर पुराना सहमति र सम्झौता कार्यान्वयनका लागि विशेष पहल गर्ने हो भने भ्रमण फलदायी हुन सक्ने विष्लेषकहरु बताउँछन्। उनीहरुका अनुसार भ्रमणलाई फलदायी बनाउनु पर्यो, औपचारिकता मात्र होइन। 

नेपालको राजनीतिलाई लिएर चीन दुई खेमामा

चिनियाँ टोली के गरेर गयो ?
नेपालले चीन भ्रमणका बेलामा हुने सहमति र सम्झौताको खाका बनाइरहँदा चिनियाँ एक टोली नेपाल आई यहाँका कुरा सुनेर गएको छ। उच्चतहको एक टोली नेपाल आएर यहाँका नेताहरुसंगै उद्योगी, वरिष्ठ संचारकर्मी एवं चीनका लागि निकटस्थ नेपालीहरुसंग भेटेर गएको हो। एउटा खाका बनाइनेपालले चीनबाट जे पाइन्छ त्यही ल्याउने मनस्थितिले चीन जाने सोच बनाइरहँदा चिनियाँ टोली भने नेपाल आई ओलीको नाडी छामेर गएको छ। 

चिनियाँ उच्च तहको टोली गत हप्ता नेपाल आई केही दिनको बसाई सकेर फर्केको हो। उक्त टोलीसंग छलफलमा रहेका एक विज्ञका अनुसार उक्त टोलीले चीन नेपाललाई के कुरामा सघाउन तयार छ त भन्ने कुरामा भन्दा पनि नेपालको चाहना के रहेछ त भनेर बुझ्नु रहेको थियो। प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भन्दा पनि बढी जोड उनीहरुको नेपालको राजनीतिको भित्री कुरो बुझ्नु थियो।

चीनले पाँच वर्षका लागि स्पष्ट बहुमतको नेपाल सरकार खोजे पनि अहिले भने विचारमा केही परिवर्तन आएको हुन सक्ने आँकलन गरिएको छ। व्यापारका लागि भन्दै नेपाल छिरेको उक्त टोलीले नेपालमा ओलीको राजनीतिक प्रभावसमेत बुझेको छ। छलफलमा सहभागी उनले भने, ‘हामीलाई के छन् त अहिलेका कुरा भन्दै सोधियो तर उनीहरुले सुन्नेमात्र काम गरे।’

उनका अनुसार चिनियाँ पक्ष प्रधानमन्त्री ओलीप्रति खासै रुची राख्न खोजिरहेको छैन। ओलीलाई त्यतिधेरै विश्वास गर्न नसकेको उनको बुझाइ छ।उक्त समुहले ओलीको भारत भ्रमण तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछिको अवस्थाका बारेमा समेत जानकारी लिएको छ।नेताहरुबाट उक्त टोलीले ओली भ्रमणका बेलामा हुन सक्ने एजेन्डा पनि सुनेर गएको छ। 

उक्त टोलीले एजेन्डा सुन्यो कि नेपालीहरुको नाडी छामेर गयो उही बुझोस्। तर त्यति सकारात्मक भएर जान नसकेको स्रोत बताउँछ। यो टोलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको सम्भाव्यता बारे समेत केही बताएको छैन। ओलीको भ्रमण सफल बनाउन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन गइसकेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ