arrow

कोरेक्स बार खुलेपछि रक्सौल बन्यो लागुऔषधको ट्रान्जिट प्वाइन्ट

logo
वीरेन्द्र कर्ण,
प्रकाशित २०७५ असार १२ मंगलबार
drug.JPG

वीरगञ्ज । सीमावर्ती भारतको रक्सौल बजारमा लागुऔषध प्रयोगकर्ताका लागि कोरेक्स बार (पसल) खुलेपछि लागुऔषध सेवनकर्ताको आकर्षण बढेको छ ।

कुलतमा फसेका युवालाई लक्षित गरी भारतीय औषधि विक्रेताले कोरेक्स बार सञ्चालनमा ल्याउँदा भारतीय भूमि रक्सौल लागुऔषधको ट्रान्जिट प्वाइन्टका रुपमा विकसित हुन थालेको छ ।

रक्सौल बजारबाट लागुऔषध सेवन तथा ओसारपसार गर्नेको उल्लेखनीय संख्यामा वृद्धि भएपछि प्रहरीलाई थप चुनौतीको सामना गर्नुपरेको सुरक्षा अधिकारीको गुनासो रहेको छ । लागुऔषध सेवनकर्तालाई लक्षित गरी सीमावर्ती शहर रक्सौलमा यस्ता बारहरु सञ्चालनमा आएका छन, जहाँ लागुऔषध सेवनकर्ताले टेबलमा बसेर लागुऔषध सेवन गर्ने गरेका छन् ।

भारतीय शहरको रक्सौलको मयुरी गल्ली, डंकन रोड, आश्रम रोड, स्टेशन रोड, पोस्ट अफिस रोडमा रहेका करीब एक दर्जन औषधि पसलमा कोरेक्स बार सञ्चालन गरी ग्राहकलाई सेवा दिँदै आएका छन् ।

यस्ता बारमा नियमित ग्राहकका रुपमा लागुऔषध सेवनकर्ता नेपाली युवा रहेको पसलेहरु बताउँछन् । वीरगञ्जलगायत आसपासका क्षेत्रबाट लागुऔषध सेवन गर्न जाने युवाका लागि औषधि पसल पछाडिको बारमा सबै व्यवस्था मिलाइएको हुन्छ । त्यहाँ टेबल, कुर्सी, पानी, राखिएको हुन्छ । जहाँ नेपाली युवा भारतीय प्रहरीको आँखा छल्दै लागुऔषध सेवन गरी पुनः नेपाल फर्कन्छन् ।

कुलतमा फसेका युवाका लागि नयाँ गन्तव्यका रुपमा विकसित हुँदै गएको रक्सौलका यस्ता बारका कारण युवा पनि सुरक्षित हुने गरेको नाम नछाप्ने शर्तमा वीरगञ्ज छपकैयाका एक लागुऔषध प्रयोगकर्ताले बताए ।

नेपाल–भारतबीच रहेको खुल्ला सिमाना तथा औषधि पसलमा रहेका चिकित्सकले औषधि भनेर पूर्जीमै लेखेर दिने गरेकाले भारतीय प्रहरीको समेत डर हुँदैन । अर्का लागुऔषध प्रयोगकर्ताले भने, नेपालमा खाँदा प्रहरीले समात्ने भएकाले हामी भारततर्फ आउने गरेका छौँ ।

यस सम्बन्धमा रक्सौल पुलिस थानामा बुझ्दा चिकित्सकहरुले नै औषधि भनेर लेखेर दिएपछि प्रहरी निरीह बनेको एक अधिकारीले बताए । अहिले वीरगञ्ज तथा आसपासका क्षेत्रबाट दैनिकजसो दुई दर्जनभन्दा बढी युवा रक्सौलमा गएर लागुऔषध सेवन गर्ने गरेको वीरगञ्ज भन्सार कार्यालयमा खटेका एक सुरक्षाकर्मीको भनाइ छ । भारतीय बजारमा कोरेक्स, फेन्सिड्रिल, नाइट्रोभेट टेबलेटजस्ता प्रतिबन्धित औषधि सेवन र खरिद गर्न सकिने भएकाले नेपाली युवाको रोजाइमा रक्सौल परेको हो ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा १३३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको पर्सा प्रहरीले जनाएको छ । त्यसैगरी यी मुद्दामा १८२ जना पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । यसैगरी अघिल्लो वर्षको तथ्यांक हेर्दा जेठ मसान्तसम्म ११६ वटा लागुऔषधको मुद्दा दर्ता भएको छ भने १५० जना लागुऔषध सेवन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । लागुऔषध सेवनकर्ता तथा कारोवारीमा २३ वर्षदेखि २९ वर्षसम्मका युवा संलग्न रहेको पाइएको छ । उनीहरु खासगरी वीरगञ्ज, सिमरा, हेटौँडालगायत क्षेत्रका बासिन्दा रहेका छन् भने उक्त काममा महिला तथा गर्भवती पनि बढिरहेको बताइएको छ ।

भारतको रक्सौलमा आएर लागुऔषध सेवन गर्ने नेपाली युवाको संख्या बढ्दै गएकामा रक्सौलका व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । रक्सौल टेक्सटाइल्स चेम्बर अफ कमर्शका अध्यक्ष अरुण गुप्ताले यसलाई रोक्न नेपाल र भारतका प्रहरी गम्भीर हुनु जरुरी रहेको बताउनुभयो । वीरगञ्ज कारागारमा रहेका एक हजार १८१ कैदीबन्दीमध्ये ५० प्रतिशत कैदीबन्दी लागुऔषध अपराधमा मुद्दा खेपिरहेका छन् ।

बढ्दो लागुऔषधका घटनालाई प्रहरीले सूक्ष्म तरिकाले लिएको भन्दै पर्सा प्रहरी नायब उपरीक्षक मानबहादुर राईले भने, “लागुऔषध नियन्त्रण अभियान जिल्लाभरि सञ्चालन गरिएको छ । उनले लागुऔषध निषेधित क्षेत्र घोषणा गरी प्रहरी कारवाही तीव्र पारिएको बताए । भारतीय बजारबाट प्रतिबन्धित लागुऔषध सेवन तथा ओसारपसार गर्नेहरुको सञ्जाल भत्काउन प्रहरी सक्रिय रहेको दाबी गरिएको छ ।  रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ