arrow

राष्ट्रपतिको शिष्टाचार नीति ‘परिवर्तन’ भएको हो ?

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । पछिल्लो समयमा राष्ट्रपतिको शिष्टाचार नीति परिवर्तन भएको हो ? यो प्रश्न राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका सांसदहरुको हो । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका सांसदहरुका अनुसार शिष्टाचारका लागि राष्ट्रपतिले औपचारिक रुपमा नमस्कार गर्ने गरेकी छन्।

राजनीतिक सक्रियता बढाउन यसअघि उनले सांसदहरुसँग हात मिलाउने गरेकी थिइन् । राष्ट्रपति निवासमा शिष्टाचारका लागि आएका सबै विदेशी कूटनीतिज्ञहरुसँग पनि उनले हात मिलाउँथिन् । राष्ट्रपति भण्डारीसँग भेट गरेका सांसदहरुले उनको शिष्टाचार नीति परिवर्तन भएको बताए ।

उनीसँग शिष्टाचारका लागि नेपाली नागरिकले नमस्कार र विदेशीले हात मिलाउँछन् । ‘राष्ट्रपति भण्डारीले पछिल्लो समय देखाएको शिष्टाचारले तत्कालीन नारायणहिटी दरबारको झल्को दिन्छ । यो गणतान्त्रिक राष्ट्रप्रमुखका लागि हाम्रो कल्पनाबाहिरको कुरा हो,’ नाम नखुलाउने सर्तमा एक सांसदले भने ।

आमजनताबाट आएका गुनासोलाई ध्यानमा राखेर राष्ट्रपति कार्यालयले शिष्टाचार नीति परिवर्तन गरे पनि जनताबाट चुनिएर आएका सांसदका लागि भने अप्ठ्यारो स्थिति उत्पन्न भएको छ । राष्ट्रपतिले निरंकुश राजाको कदम सुरु गर्न लागेको अनुमान गरिएको छ । राष्ट्रपतिको कुनै प्रकारको औपचारिक भ्रमणका अवधिमा सर्वसाधारण आधा घण्टासम्म ट्राफिक जाममा पर्नुपर्ने अवस्था छ।

गत मंगलबार राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले जनताले गणतन्त्रका राष्ट्रपति ‘श्रीपेच नभएको सार्वभौमसत्ता सम्पन्न’ जस्तो भएको गुनासो गरेको बताएका थिए । ‘राष्ट्रपति र उपराष्ट्रपतिका कार्यालयले जनतालाई बेवास्ता गरेका छन् । राजतन्त्रको जस्तो पारिवारिक सदस्यलाई विभिन्न राष्ट्रिय सम्मान दिने नयाँ चलनको थालनी गरिएको छ,’ सुवालले भनेका थिए ।

राष्ट्रपति कार्यालयले शिष्टाचार नीतिमा कुनै परिवर्तन नगरेको जानकारी राष्ट्रपतिका सल्लाहकार सुशिल प्याकुरेलले दिए । ‘यसबारेमा मलाई कुनै जानकारी गराइएको छैन । विभिन्न सन्दर्भअनुसार राष्ट्रपतिबाट शिष्टाचार प्रस्तुत हुन्छ । गत बुधबार ओहदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रममा राष्ट्रपतिले शिष्टाचारका लागि हात मिलाएकी थिइन्,’ उनले भने, ‘भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटमा शिष्टाचारका लागि नमस्ते गरिएको थियो।’ (नागरिक दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ