arrow

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
cave-boys.jpg

माइ साइ, थाइल्याण्ड ।  थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ ।

सोमबार गरिएको उद्धारबाट चारजना बालक बाहिर निकालिएको थियो । अधिकारीहरुले बताएअनुसार सोमबार पनि भारी वर्षाका कारण सबैजनालाई निकाल्न सकिएको थिएन ।

मङ्गलबार पनि भारी वर्षा जारी छ । गए रातिदेखिको अविरल वर्षाका कारण गुफाभित्रको पानीको सतह थप बढेको छ । यसले गर्दा आजको उद्धारको काम पनि निकै कठिन हुने अधिकारीहरुले बताएका छन् ।

तर पनि मङ्गलबार बिहानैदेखि अधिकारीहरुले गुफाको बाहिर निर्माण गरिएका चिम्नीहरुबाट गुफाभित्र अक्सिजन पठाउने काम शुरु गरिसकेका छन् । गोताखोरहरुले भित्र छिर्ने प्रयास थालेका छन् ।

दक्षिणी थाइल्याण्डको चियाङ राइ प्रान्तमा रहेको एउटा गुफामा करीब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चारजना र सोमबार चार जनालाई सकुशल उद्धार गरिएको थियो ।

उद्धारको कार्य अति कठिन भएको मङ्गलबार अधिकारीहरुले जनाएका छन् । उनीहरुले आज भने बाँकी रहेका सबै पाँच जनालाई नै बाहिर निकाल्ने बताएका छन् ।

आइतवार पहिलो दिन उद्धार गरेर सकुशल निकालिएका चारजना बालकलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनीहरुलाई आफ्ना आमाबुबालाई भेट्न पनि दिइएको छैन ।

गत जुन २३ देखि गुफाभित्र फसेका १२ बालक र उनीहरूका फुटबल प्रशिक्षक कहाँ छन् भन्ने कुरा हराएको नौ दिनपछि मात्र पत्ता लागेको थियो ।

एकजना बेलायती गोताखोरले सो कुरा पत्ता लगाएका थिए । तर उनीहरुलाई बाहिर ल्याउने एउटा चुनौतीपूर्ण र जटिल काम भएको छ ।

यो उद्धार अभियान आइतवार थालिएको थियो । उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा दुई वटा एम्बुलेन्स राखिएको छ ।

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।

गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार र सोमबार यिनै चिम्नीबाट आठजनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले आज नै बाँकी रहेका पाँच जनालाई निकालिने जानकारी दिएका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ