arrow

केपी ओलीको विरुद्धमा एमालेकै मुखपत्र

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं। लामो समयदेखि नेकपा एमालेकै मुखपत्रका रुपमा चर्चामा रहेको दृष्टि साप्ताहिकले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्ध उत्रिएको छ। प्रधानमन्त्री ओलीको सचिवालय बिरुद्ध सो पत्रिका खनिएको  छ।

दृष्टिले अस्तव्यस्त प्रम सचिवालय शिर्षकमा समाचार लेख्दै सल्लाहकार बिष्णु रिमालको कटु आलोचना गरेको छ।  पत्रिकाले लेखेको छ - केपी शर्मा ओली प्रधानमन्त्री पदमा बहाल भएको चार महिना बितिसकेको छ । यो चार महिनामा जनताले अनुभूत गर्ने गरी कुनै काम भएको देखिदैन । सरकारका मन्त्रीहरु सस्तो लोकप्रियताका लागि कहिले यातायात सिन्डिकेट तोड्ने त कहिले म्यानपावर व्यवसायीलाई पूर्वाग्रह राखेर कारवाही गर्ने काममा जुटेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ३३ किलो सुन प्रकरणको छानविनलाई अगाडि बढाए पनि संसदमा भनेजस्तो ठूला माछा समात्न उनी असफल  जस्तै देखिएका छन् । काम नगर्ने ठेकेदारलाई थापाले कारवाहीको दायरामा ल्याए पनि राजधानीको बौद्ध–जोरपाटीलगायतका सडकमा स्थानीय जनताले रोपाइ गरेका छन् । प्रधानमन्त्री ओलीप्रति सिंगो नेपाली जनताको जुन आशा र भरोसा थियो, सरकारको पछिल्लो काम कारवाहीबाट ओली पार्टीभित्र र बाहिर आलोचित बन्दै गएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीलाई समन्वय गर्ने संयन्त्र चुस्त दुरुस्त नहुँदा यस्तो अवस्था आएको हो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारका रुपमा विष्णु रिमाल चौबिसै घण्टा प्रधानमन्त्रीसँगै हुन्छन् । तर, प्रधानमन्त्रीलाई भेट्न आउनेहरुलाई रिमालले भेट नै गराउँदैनन् । रिमालले त्यो काम मेरो होइन, राजेशलाई भन्नुस् भनेर सांसददेखि कार्यकर्ताहरुलाई हर्काछन् । हुटिट्याउले आकाश थामेजस्तो सिंगो प्रधानमन्त्री कार्यालय तिनै रिमालले थामेका छन् । प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न बालुवाटार जाने मुख्यसचिवदेखि सेना प्रमुखसम्मले सबैभन्दा पहिला रिमाललाई भेटेर ब्रिफिङ गर्नुपर्ने अवस्था खडा गरिएको छ । रिमालको यस्तो हर्कतले ओली निकट एमाले सांसद, प्रदेशका सभासद्लगायत देशभरका कार्यकर्ता रुष्ट भएका छन् । प्रधानमन्त्री ओलीपछि आफैँलाई शक्तिशाली ठान्ने रिमालले प्रधानमन्त्रीको सचिवालयसँग पनि कुनै समन्वय गरेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललाई समेत पंगु बनाएर राखेका छन् । अर्याललाई दिइएको नियुक्तिपत्रमा उनी प्रधानमन्त्रीका होइनन्, विष्णु रिमालका सचिवालय सल्लाहकार हुन् भन्ने कुरा २०७४ चैत २९ को अर्यालको नियुक्तिपत्र पढ्दा थाहा हुन्छ । प्रधानमन्त्रीले नियुक्त गरेका अन्य सहयोगीहरुलाई पनि रिमालले निकम्मा बनाएका छन् ।

प्रधानमन्त्रीलाई सहयोग गर्ने मुख्य भूमिकामा रहेका रिमाल स्वयं आफैँलाई प्रधानमन्त्री भन्दा बलियो ठान्ने गरेकाले प्रधानमन्त्रीको आलोचना चौतर्फी बढ्दै गएको हो । जुम्लामा अनसनरत डा. गोविन्द केसीको विषयलाई लिएर प्रधानमन्त्रीसँग भेट्न खोज्ने चिकित्सक संघका पदाधिकारीलाई समय नदिने पनि तिनै विष्णु रिमाल हुन् भने क्यानडा उड्न लागेका उपकुलपतिलाई एयरपोर्टबाट फर्काएर ग्यारेजमा थुन्न लगाउने पनि तिनै रिमाल हुन् । आठौं राष्ट्रिय महाधिवेशनसम्म ओलीका विरोधी रहेका रिमाल नवौं महाधिवेशनबाट ओलीका निकट भएका थिए । लामो समय ट्रेड युनियनको राजनीति गरेका रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुन योग्य व्यक्ति होइनन् । तर, उनले ओलीलाई के जादू देखाएका छन्, रिमाल भन्नासाथ ओली गरुडको छायाँमा परेजस्तो हुन्छन् ।

स्रोतका अनुसार, रिमालले ई–सेवाका कार्यकारी प्रमुख अस्कर अलीलाई प्रधानमन्त्रीको विज्ञमा नियुक्त गरेका छन् । अलीलाई प्रधानमन्त्रीको आइटी विज्ञमा किन नियुक्ति गरियो भन्ने कुरा नै रहस्यमय छ । त्यसैगरी प्रधानमन्त्रीलाई सस्तो प्रचारको वस्तु बनाउन रिमालले मनोज पाण्डेलाई ‘हेल्लो प्रधानमन्त्री’ कार्यक्रमको संयोजक बनाएका छन् । प्रधानमन्त्रीको १००  दिने उपलब्धि नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्नुपर्नेमा रिमाल आफैँले तयार पारेको ‘फेसबुक’बाट लाइभ गराए । जुन कुराले प्रधानमन्त्रीको व्यापक आलोचना भयो । अब सुनिँदैछ, प्रधानमन्त्री ‘एप्स’ बन्दैछ रे । अब नेपाली जनतालाई प्रधानमन्त्रीसँग कुनै गुनासो भए बालुवाटार वा सिंहदरबार धाउन पर्दैन । हुम्ला, जुम्लाका कार्यकर्ताले पनि अब मोबाइलबाटै सोझै प्रम ओलीसँग गुनासो गर्न सक्नेछन् । यो सबै काम रिमालले प्रधानमन्त्री ओलीलाई ओली निकट नेता, कार्यकर्ताबाट अलग्याउन गरिएको षड्यन्त्र हो भनेर ओलीले कहिले बुझ्ने ? देश हाँक्न प्रधानमन्त्री बनेका ओली, एप्स, फेसबुक, ‘ट्वीट’ हेल्लो प्रधानमन्त्री कार्यक्रममै व्यस्त हुने हो भने देश कहिले चलाउने भनेर कार्यकर्ताहरु स्वयंले व्यंग्य गर्न थालेका छन् ।

टृष्टि थप लेख्छ - त्यति मात्र होइन, रिमालले प्रधानमन्त्रीको चीन भ्रमणमा सामेल प्रधानमन्त्रीलाई थाहै नदिई आफ्ना मानिसलाई  प्रतिनिधिमण्डलमा समावेश गरेको आरोप छ । प्रधानमन्त्रीको फोटो पत्रकारमा नियुक्ति लिएका कृष्ण पौडेलको ठाउँमा जिफन्टका कार्यकर्ता गएको कुराले पत्रकार जगतमा व्यापक आलोचना भएको छ । त्यति मात्रै होइन, प्रधानमन्त्रीको चीन भ्रमणमा प्रधानमन्त्रीलाई जानकारी नै नदिएर परराष्ट्र सचिव शंकरदास बैगारीले पत्रकार ऋषि धमलालाई समावेश गरेका थिए भने यति एयरका आङछिरिङले दश जना व्यापारीको नाम समावेश गरेका थिए । आङछिरिङले सिफारिस गरेका सचिनलाल आचार्य एनसेलका राजस्व ठगी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी हुन् । त्यसैगरी सुहृत घिमिरे, गौतमदास श्रेष्ठ, पूर्णबहादुर राई, निरा पुलामी, अन्जु पौडेल, मोहन डाँगी, शशी पौडेल, गोरे शेर्पालगायत छन् । चीन भ्रमणमा अफिसियल मिडियाबाट एबिसी टेलिभिजनका शुभशंकर कँडेल समावेश थिए । एबिसी टेलिभिजन प्रधानमन्त्रीको ‘अफिसियल’ टिभी कहिलेदेखि भयो भनेर पत्रकारहरुले प्रश्न उठाएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा हिमालयन एयरलाइन्सको जहाज चार्टड गरिएको थियो । सरकारी प्रतिनिधिबाहेक अन्यले आफैँले पैसा तिर्नुपर्छ भनिएको भए पनि सरकार स्वयंले तिर्नुपर्ने रकमको भुक्तानीसमेत गरिएको छैन भने, केही मिडियाले रकम नै नभएको चेक दिएर एयरलाइन्सलाई ठगी गरेको चर्चा परराष्ट्र मन्त्रालयमा व्याप्त छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ