arrow

यसरी भयो असम्भव मानिएको थाइल्याण्डको गुफाबाट उद्धार 

logo
प्रकाशित २०७५ असार २७ बुधबार
thailand.jpg

काठमाडौं । केही दिनअघिसम्म पनि थाइल्याण्डको गुफामा थुनिएका १३ जनाको उद्धारकार्य असम्भव देखिँदै आएको थियो । १२ जना फुटबल खेलाडी र उनीहरुका प्रशिक्षक सो गुफामा थुनिएका थिए । लगातारको वर्षा र पर्याप्त अक्सिजन नपुग्ने स्थानमा उनीहरु रहेको अवस्थामा उनीहरुको उद्धारको सम्भावना क्षीण बनेको थियो ।  यो घटनापछि विश्वको ध्यान थाइल्याण्डमा तानिएको थियो 

मंगलबार भने थाइल्याण्डले थुनिएका सबैको सकुशल उद्धार गरेको छ । यद्यपि यो उद्धारकार्यमा अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग गरेका थिए । अधिकारीहरुले यसरी भएको उद्धारको कार्य अन्तर्राष्ट्रिय समन्वयको एक झलक रहेको बताएका छन् । 

कहिलेबाट हराएका थिए उनीहरु ?

यो कहानीको सुरुवात गएको जुन २३ बाट सुरु भएको थियो । जहाँ विल्ड बोअर्स फुटबल टिमका ११ देखि १६ वर्षसम्मका खेलाडीहरु र उनीहरुका २५ वर्षीय प्रशिक्षक यो गुफामा छिरेका थिए । पानीको सतह बढ्दै गएपछि बच्नका लागि प्रशिक्षकले टोलीलार्इ गुफाभित्र लगेका थिए । सबैभन्दा पहिला १३ जनाको टोली हराउँदा थाइल्याण्डमा उनीहरु कहाँ गए भन्ने कुराको नै अन्योल बढेको थियो र उनीहरु पत्ता लाग्ने सम्भावना साँघुरो बन्दै गएको भन्दै चिन्ता छाएको थियो तर हराएको नौ दिनपछि अधिकारीहरुले उनीहरुलाई फेला पारेका थिए । उनीहरुलाई फेला पारिए पनि उनीहरुको बाहिर आउने सम्भावना अझै पनि क्षीण थियो । उनीहरुको लागि बाहिर आउन मनसुन सकिने बेलासम्मको प्रतीक्षा गर्नुपर्ने सरकारी अधिकारीहरुले बताएका थिए । 

किन उद्धारमा समस्या भयो ?

जुन गुफाभित्र उनीहरु पसेका थिए त्यहाँसम्म पुग्नका लागि उनीहरुले धेरै लामो दूरीको सुरुङको यात्रा पार गरेका थिए । भित्र पुगेपछि भने उनीहरुको फर्किने बाटो पनि पानीले भरिएको थियो । जसको कारण उनीहरु गएको बाटो फिर्ता आउन सकेनन् । साथै पाैडी खेलेर बाहिर आउनका लागि पनि धेरै समयसम्म पाैडिनु सम्भव नभएकाले उनीहरु बाहिर आउन नसकेका हुन् । 

पानीको अत्यधिक बहाव तथा पानी पूरै धमिलो भएको कारण पनि उनीहरुलाई सो गुफाबाट बाहिर निकाल्नका लागि निकै कठिन भएको थियो । साथै यो गुफामा रहेका ठुला चट्टानहरुले पनि उनीहरुलाई लाइफज्याकेट लगाएर पानीमा हामफाल्न लगाउने अवस्था पनि थिएन । 

साथै अक्सिजनको मात्रा कम हुँदै जानु अर्को समस्या रहेको थियो । यस्तो अवस्थामा भित्र रहेका मानिसहरु धेरै लामो समयसम्म बाँच्नसक्ने अवस्था पनि थिएन । यस्तोमा उद्धारको महत्वपूर्ण चरणको रुपमा यो गुफाबाट धेरै पानी बाहिर निकालिएको थियो । बाढीबाट आएको पानी नजिकैको खेतमा जम्मा गरी उनीहरुको उद्धार गरिएको थियो । पछि भने यसरी जम्मा गरिएको पानी टाढा फ्याँकिएको थियो । 

उद्धारका लागि के के प्रयास भए ?

सबैभन्दा पहिले उद्धारका लागि पौडी खेल्न सहयोग हुने किसिमका सामग्रीहरु उक्त गुफामा पठाइएको थियो भने भित्र रहेका खेलाडीहरुलाई पनि पौडीको तालिम दिइएको थियो । साथै उनीहरुलाई अनुभवी पौडीबाजलाई पनि निस्किन गाह्रो हुने सुरुङमार्गबाट बाहिर निकालिएको थियो । 

थाइल्याण्डको जलसेनाले सबैलाई सकुशल उद्धार गरेसँगै आफूहरुले यस किसिमको चमत्कार हुने अनुमान नगरेको बताएको छ । उद्धार भइसकेपछि सामाजिक सञ्जालहरुमा पनि यसको खुसी मनाइएको छ । यो कार्यमा अष्ट्रेलिया, बेलायत तथा स्पेसएक्सका सम्बन्धित विज्ञहरुको भूमिका निकै महत्वपूर्ण रहेको थियो । थाइल्याण्डका स्वयंसेवकहरुले भित्र रहेका मानिसहरुको खाना तथा अक्सिजनका लागि गुफाको सोझो माथि एक प्वाल पनि खोपेका थिए ।

यसअघि एक नोटमा प्रशिक्षकले मनसुनको मौसम सुरु भएपछि उक्त गुफाभित्र बच्चाहरुलाई लैजानु आफ्नो भूल भएको प्रशिक्षकले स्वीकार गरेका थिए । यो गुफाको उद्धार गर्ने महत्वपूर्ण विन्दु निकै साँघुरो रहेकोले उद्धारकार्यमा कठिनाइ देखिएको थियो । मंगलबारको उद्धारकार्य निकै चुनौतीपूर्ण रहेको थियो । आइतबार र सोमबार चारचार जनालाई उद्धार गरिएकोमा बाँकी पाँचजनालाई मंगलबार उद्धार गरिएको थियो ।  मंगलबार यो कहानीको सुखद अन्त्य भएको हो । यो उद्धारको कार्य निकै साहसिक कार्य थियो । मंगलबार सो गुफाबाट बाहिर आउने अन्तिम व्यक्ति ११ वर्षीय खेलाडी रहेका थिए । उनको विषयमा भने व्यापक मात्रमा चिन्ता फैलिएको थियो ।

उद्धारपछिको अवस्था ?

यो उद्धारकार्यको विश्वका नेताहरुले पनि प्रशंसा गरेका छन् । फिफाले १२ जनालार्इ आइतबार हुने विश्वकपको फाइनल खेल हेर्नको लागि प्रस्ताव गरेको छ । साथै बेलायती क्लब म्यानचेस्टर युनाइटेडले उद्धार गरिएको टोलीलाई आफ्नो क्लबमा भ्रमणको लागि निमन्त्रणा दिएको छ । उद्धार गरिएकाहरुमध्ये सुरुवातमा उद्धार गरिएका आठजनाको स्वास्थ्य निकै राम्रो अवस्थामा भए पनि मंगलबार उद्धार गरिएकाहरुको स्वास्थ्यमा भने केही समस्या रहेको देखिएको थियो । जसको कारण फिफाको प्रस्ताव उनीहरुले स्वीकार गर्नसक्ने सम्भावना निकै कमजोर देखिएको छ ।
अहिले सबैजनालार्इ अस्पतालमा राखिएको छ । उनीहरुलार्इ आफ्ना आफन्तहरुसँग पनि भेट गर्न दिइएको छैन । उनीहरुमा कुनै सङ्क्रमण नभएको पाइएमा उनीहरुलार्इ परिवारसँग भेट्न दिइने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ