arrow

'डाक्टर केसीका माग पूरा गर्न सरकार तयार'

logo
प्रकाशित २०७५ असार २७ बुधबार
dr.kc_.jpg

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको कुरा स्पष्ट पारेकी छिन् ।  बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन । उनले भनिन्,‘डा.गोविन्द केसीले अनशन सूरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो, सूरुमा उहाँ आँफै वार्तामा आउन चाहनुभएन, डाक्टर केसी हिजोदेखि केही लचकतामा आउनुभएको छ, उहाँले उठाएका मागहरुको बारेमा सरकार गम्भिर छ, केही मागहरुको बारेमा विवाद पनि छ, पक्ष र विपक्ष भएर समस्या समाधान हुँदैन, मैले भनेकै हुनुपर्छ भनेरपनि हुँदैन ।’

उनले भनिन्,‘चिकित्सा शिक्षा विद्येयक संसदमा पुगेको छ, संसदले नै उहाँले उठाएका मागहरुलाई बैधानिकता दिने हो, उहाँले चाहेको संशोधनलाई सांसदहरुमार्फत कुराहरु राख्न सक्नुहन्छ, कानूनी बाटोबाट मात्रै समस्या समाधान हुन्छ, अनशन बसेर हुँदैन, हिजोका दिनहरुले पनि यही कुराहरु देखाईसकेको छ ।’

मन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराख्ने जनाईन्। उनले भनिन्,‘उहाँको स्वास्थ्य अवस्था बिग्रिँदै गैरहेको छ, काठमाडौंमा ल्याएर उहाँको स्वास्थ्य उपचार गर्ने र वार्ता गर्ने सरकारले तयारी गरिसकेको छ, यदि उहाँ काठमाडौं आउन मान्नुभएन भनेपनि सरकारी टोली जुम्ला गएर वार्ता तथा सम्वादमार्फत सहमति गरेर उहाँको अनशन तोडाउँछ।’

उनले अघि थपिन्,‘डा. केसीको समर्थन गर्दै चिकित्सकहरुले आन्दोलनको घोषणा गर्नुभएको छ, कृपया तपाईहरुको काम बिरामीको सेवा गर्ने हो, आन्दोलन होईन, यसो भन्दैमा तपाईहरुले आन्दोलन गर्न पाउनुहुन्न भनेको होईन, सरकार समस्या समाधानका लागि तयार छ, यस्तो स्थितिमा तपाईहरुले आन्दोलन गरेर समस्या समाधान हुँदैन ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे । डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाण्डौ आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । “तपाई काठमाण्डौ आउनुस् । वार्ता गर्न सरकार तयार छ । अनशन बसिरहनु पर्दैन ।”–उनले भने ।

जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाण्डौ र कहिले जुम्ला पुगेर अनशन बस्न नपर्ने बताए । “गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुला मञ्चमा बसेर वार्ता गर्न तयार छौँ । सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रशारण गर्दै वार्ता गरौँ । यसका लागि अनशन तोड्नुस, स्वस्थ हुनुस् ।” भट्टारईले भने ।

हरेक पटकको अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उनले केसीको अनशनको उद्देश्य नै शंकास्पद रहेको दाबी समेत गरेका छन् ।जायज मागलाई सकारात्मक रुपमा लिन सकिने भएपनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोपसमेत लगाए ।

आक्रोषित हुँदै भट्टराईले भने,“फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ? देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने ? मनमोहनसँग के दुश्मनी छ ?”

“मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरु चाँही राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाँही माफिया ?” भट्टराईले भने । अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भट्टराईको तर्क छ । संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने भट्टराईले बताए ।

माथेमा प्रतिवेदन सुझाबमात्रै भएकाले हुबहु त्यसैका आधारमा नियम बनाउनुपर्छ भन्ने कुरा जायज नभएको उनको भनाई छ । नेपाल चिकित्सक संघले केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन गरेकामा भट्टराइले आपत्ति जनाएका छन् । “गोविन्द केसीलाई लडाएर अनशन बस्न लगाउने अनि आफू आन्दोलन गर्ने ? अरुको जीवनमाथि किन खेलवाड ? सक्नुहुन्छ भने तपाईहरु आफै अनशन बस्नुस् ।” उनले चुनौति दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले गोविन्द केसीले उठाएका माग कुनै राजनीतिक दल वा समुहका पक्षमा नभई नेपाली जनताको पक्षमा रहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।  माथेमा प्रतिवेदनले दिएका सुझाबका आधारमा ल्याईएको अध्यादेशको साटो प्रतिवेदनको भावनाविपरित सरकारले प्रतिस्थापन विधेयक ल्याएकाले अहिलेको समस्या निम्तिएको पाण्डेले बताए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि १५ औँ पटक अनशनमा बसेका गोविन्द केसीको माग जायज भएकाले कांग्रेसले समर्थन गरेका बताउँदै पाण्डेले केसीको जीवनरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।  केसीलाई कांग्रेसले उछालेको भन्ने आरोपको खण्डन गर्दै पाण्डेले भने,“केसीलाई हामीले उचालेका छैनौँ । उहाँलाई देखाएर कांग्रेसले राजनीति गरेको होईन । त्यो अवस्था आइसकेको छैन । कांग्रेस कमजोर छैन । जनताको हितमा भएका जायज मागको पक्ष लिएका मात्रै हौँ ।”

प्रधानमन्त्री केपी ओलीले केसीको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै पाण्डेले अधिनायकवादको संकेत देखिन थालेको जिकिर गरे । “प्रधानमन्त्री ओलीले संसदमा भन्नुभयो, कोही एउटा व्यक्ति मर्छ भन्दैमा माग पूरा गर्न सकिँदैन । कोही व्यक्ति यति भाग्यमानी छन् कि जुम्लातिर गएर सुतेपनि ठूला–ठूला समाचार बन्छन् । यस्तो भनाई सर्वसत्तावाद नभए के त ?” पाण्डेले प्रश्न गरे ।

आफूमात्रै सत्य अरु सबै मिथ्या भन्ने ओलीको सोच अधिनायकवाद भएको उनको तर्क थियो ।  नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाएका छन् ।  पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि श्वेत पत्र जारी गर्न सरकारलाई सुझाब दिए । चिकित्सा शिक्षा क्षेत्रको सुधार र केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्नुपर्नेमा उनले जोड दिए ।

चिकित्सा शिक्षालाई सरकारले निजिकरण गर्न खोजेका कारण गोविन्द केसी अनशन बस्न बाध्य भएको पौडेलको आरोप थियो ।  नेपालको चिकित्सा सेवा काठमाडौं केन्द्रित भएको भन्दै उनले जुम्लामा खोलिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत सेवा समेत हुन नसकेको बताए ।  “जुम्लामा विशाल अस्पताल छ । तर ब्लड कल्चरसमेत गर्ने व्यवस्था छैन । यो सब निजीकरणका नाममा भएको कमजोरी हो ।” पौडेलले भने ।

अहिले मेडिकल कलेजको मान्यताका लागि भइरहेको चलखेल कमिसन र चन्दाका कारण भएको उनले बताए । “चुनावमा निजी क्षेत्रसँग चन्दा मागियो । अहिले तिनै व्यक्तिको मेडिकल कलेज जोगाउनका लागि सरकार लागिपरेको छ । अनि कसरी जनताको हितमा विधेयक बन्छ ?” पौडेलले भने ।  भ्रष्ट नेता र मन्त्रीलाई रद्दीको टोकरीमा नफालेसम्म देश विकास नहुने उनको जिकिर छ । माथेमा प्रतिवेदन किन कार्यान्वयन हुन सकेन भनेर पौडेलले प्रश्न गरे ।

नेपालमा अहिलेपनि चिकित्सा शिक्षा क्षेत्रमा निजी क्षेत्रको ८० प्रतिशत र सरकारको २० प्रतिशत मात्रै योगदान रहेको पौडेलको दाबी छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य एवम् प्रस्तावित मनमोहन मेडिकल कलेजका संस्थापक सदस्य डा. रामकुमार अधिकारीले पत्रकाहरुले डा. गोविन्द केसीलाई देवत्वकरण गरेको आरोप लगाएका छन् ।

उनले भने,‘नेपाल विश्वमै एउटा यस्तो देश हो जहाँ बिधिको कुनै मूूल्य छैन्, कानूनको पालना गरिँदैन, एकजना सरकारी कर्मचारी अनशनमा बसेर सरकारलाई दलाल भन्दै यसो गर, उसो गरे भनेर निर्देशन दिन्छ, अनि पत्रकारहरुले उसैको बारेमा समाचार लेख्न मरिमेट्छन्, गोविन्द केसीको बिरुद्धमा बोल्नेहरु माफिया हुन, यस आरोपका बारेमा कुनै आधार चाहिँदैन, यस्तो मुलुक हो हाम्रो देश ।’
उनले अघि थपे,‘मनमोहन मेडिकल कलेजमा २६ सय जनाको एकलाख, दुइलाखको लगानी छ, अबका केही दिनमा डा.केसीसँग राजधानीमा मेडिकल कलेज खोल्न नपाईने सहमति हुन्छ, मनमोहन मेडिकल कलेज लिलाममा जान्छ, फेरी पत्रकारहरुले लेख्नेछन् माफियाहरुले सञ्चालनमा ल्याउन थालेको मेडिकल कलेजको सम्बन्धन खारेज भयो, यस्तै हो ।’

उनले माथेमा आयोगको प्रतिवेदन र डा.गोविन्द केसीको हठको कारण नेपाली विद्यार्थीहरु बिदेशमा पढ्न जान बाध्य भएको गुनासो पोखे ।  
उनले भने,‘माथेमा आयोग र डा.केसी हत्यारा हुन, बंगलादेशमा डा. पढेर आएका नेपाली विद्यार्थीहरु गत वर्ष फागुनमा विमान दुर्घटनामा परेर मरे, यसको दोषी उहाँहरु नै हो, नेपालमा डाक्टरी पढ्न पाउने वातावरण भएको भए उनीहरु मर्ने थिएनन्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ