arrow

नेविसंघको १२ औं महाधिवेशनको घोषणा !

logo
प्रकाशित २०७५ असार २७ बुधबार
msu-election.jpg

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले संगठनको १२ औं महाधिवेशनको मिति घोषणा गरेको छ ।

संघका  उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको भनिएको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने निर्णय गरिएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्सीय महाधिवेशन आयोजक समिति गठन गरेको छ भने उनकै संयोजकत्वमा नियमावली तयारी समिति गठन गरिएको छ। समितिले ५ दिनभित्र नियमावली तयार पार्नुपर्नेछ ।

यस्तै अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको छ भने उपाध्यक्ष नविन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति गठन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए ।

महाधिवेशन सम्पन्न गर्न प्रचारप्रसार समिति, आवास तथा भोजन व्यवस्थापन समिति, शैक्षिक  प्रतिवेदन समिति, सांगठनीक तथा राजनीतिक प्रतिवेदन समिति, स्वयम्सेवक परिचालन समिति, मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, खानेपानी, यातायात, विवाद निरुपण र आर्थिक समिति गठन गरिएको अर्का केन्द्रीय सदस्य एलिजा ढकालले हाम्राकुरालाई बताइन।

बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधान विपरित गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको महामन्त्री कुन्दनराज काफ्लेले बताए।  विधान बमोजिम रिक्त २२  जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमतबाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको काफ्लेले जानकारी दिए ।

महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ