arrow

लुरे डाक्टर हल्ली खल्ली गर्दैछ रे !

logo
सुरेन्द्र सिटौला,
प्रकाशित २०७५ असार ३१ आइतबार
govinda-kc.jpeg

म निक्कै ठूलो हल्ला सुन्दैछु 
बिशाल भू–मण्डलको
सुन्दर फुलबारीमय
एउटा सानो देशमा
सत्याग्रही एउटा बुढो डाक्टर
एक्लै
आडम्बरी सत्तालाई
सत्यको पाठ पढाउन खोज्दैछ रे ।

कस्तो हठी हो त्यो डाक्टर 
सत्ताले सत्यबोध नगरे
ऊ आफै
आफ्नै मृत्यु रोज्दैछ रे ।

अर्को हल्ला पनि सुनिँदै छ
दूरदराज गाउँघरका 
मान्छेहरु भन्छन् 
ऊ त 
असंख्य गरीब नेपालीहरुको
मृत्यु जित्न खोज्दैछ रे ।

कस्तो अचम्म
एउटा बुढो लुरे डाक्टर
मृत्युलाई पैतालामा कुल्चिएर
करोडौ निमुखाहरुको
भरोसामा ज्युन खोज्दैछ रे ।

पागल जस्तो कस्तो डाक्टर 
डाक्टरी पेशाले अर्जेको
कुस्त पैसामा रमाउन बिर्सेर
लाखौ गरीबहरुको हाँसोमा
उm पनि संगसंगै
हाँस्न खोज्दैछ रे ।

लाटो डाक्टर 
पीडा बेचेर नाफा कमाउने
आँसुका ब्यापारीहरुसंग
मानवताको सर्तमा
माग पूरा गर भन्दैछ रे 
माग पूरा नभए
कसैसंग केही गुनासो नगरी
जीवनका अन्तिम दिनहरु
ऊ आफै एक्लै गन्दैछ रे ।

सत्यलाइ बचाउन
सोक्रेट्सले बिषपान गरेझैं
गरीव र निमुखाहरुको खुशी बचाउन 
ऊ पनि
मृत्यु बरण गर्न खोज्दैछ रे ।

वाहा रे ! वाह !
हिमाल मुनिको सुन्दर पहाडी बस्तीमा
एउटा बुढो लुरे डाक्टर
निक्कै हल्ली खल्ली गर्दैछ रे ।

               अस्तु 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ