arrow

मजदूरको हित विपरित हुने अनधिकृत सम्झौता खारेज गरौं – पुष्कर आचार्य 

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
puskar_aacharya.jpg

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदूरको हित विपरित हुने अनधिकृत सम्झौता खारेज गर्नुपर्ने बताएका छन् । उनले होटल सञ्चालक र केही मजदुर नेताबीच भएको सम्झौता खारेज गर्नुपर्नेमा जोड दिएका हुन् । 

मजदुरको अधिकारलाई कुण्ठित हुनेगरी होटल सञ्चालक र केही मजदुर नेताबीच सम्झौता भएको भन्दै उक्त सम्झौता नेपालको संविधान ऐन कानुन विपरित समेत भएको उनको जिकिर छ ।

आचार्यले सामूहिक सौदाबाजीको अधिकारलाई कसैले तोड्न नसक्ने भन्दै त्यसलाई असर गर्ने कुनै पनि किसिमका सम्झौता खारेज गर्न माग गरेका छन् । 

होटल एशोसियशन नेपाल (हान) अध्यक्ष अमरमान शाक्य, नेपाल स्वतन्त्र होटेल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ संघका अध्यक्ष माधव पाण्डेबीच सेवा शुल्क बापतको १० प्रतिशत शुल्क लिने र सामूहिक सौदाबाजीमा मजदुरले अधिकारका लागि बोल्न नपाउने सम्झौता भएको थियो । 

गत जेठ १८ गतेदेखि लागु हुने सम्झौतामा मजदुर संगठनबीच सेवा शुल्कबाट आउने रकम भाग बण्डा गर्ने समेत उल्लेख गरिएको छ ।

होटल संघ र मजदुर संगठनबीच सामुहिक रुपमा मजदुरले ग्रेड बढाउन, महँगी भत्ता बढाउन, उपदान बढाउन लगायत माग राखेर आवाज उठाउन समेत नपाउने गरी सम्झौता भएको थियो । 

सेवा शुल्क बापत ग्राहकबाट १० प्रतिशत लिने र सोही रकम मध्ये मजदुरलाई ७० प्रतिशत मात्रै दिने तथा बाँकी रहेको ३० प्रतिशत होटल संघ, मजदुर संगठनबीच भागबण्डा लगाउने सम्झौतामा उल्लेख छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कानुन विपरितका सम्झौता खारेज नभए आफू पनि संघर्षमा उत्रने बताए । यस्तो सम्झौता मजदूर र देशहितमा नभएको समेत उल्लेख गरेका छन् । 

आचार्यले सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिक सबै ठाउँमा लागु गर्नुपर्नेमा जोड दिएका छन् । उनले यो न्यूनतम पारिश्रमिक कम भए पनि अहिले तत्कालै सबै ठाउँमा लागु गर्नुपर्ने बताएका छन् । उनले हाम्राकुरासंग भने, ‘पर्याप्त छैन तर पहिले यसलाई त लागु गरौं, यो भन्दा निकै कम पारिश्रमिक मजदूरले पाएको अवस्था छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ