arrow

फास्ट ट्रयाक – चर्चा धेरै, काम थोरै

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
fast-track.jpg

दिपायल । संघीय सरकारको आर्थिक वर्ष ०७५–७६ को बजेटमा धनगढी (हसनपुर)–खुटिया–बिपीनगर–दिपायल फास्ट ट्र्याक सडकमा सुरूङ निर्माण गर्ने योजना पर्यो, जसलाई स्थानीयले भने पत्याएका छैनन् ।

लामै राजनीतिक चर्चाबीच पनि दशकदेखिको ट्र्याक खोल्ने कार्य अझै पूरा भएको छैन । यही अवस्थामा आएको सुरुङमार्गको योजनालाई डोटीवासीले हास्यास्पद रुपमा टिप्पणी गरिरहेका छन् ।

विपक्षी दलका समर्थकले भने यसलाई ‘सरकारको हावादारी गफ’को रुपमा परिभाषित गरिरहेका छन् । कांग्रेस डोटीका नेता विजय खड्का भन्छन्, ‘सुरुङमार्गको योजना पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै हो । दशक नाघ्दा ट्र्याक त खुल्न सकेन । झन सुरुङमार्ग कहिले बन्ने ?’

सदाबहार चर्चा

तराई–पहाड (धनगढी–ई छोटो दूरी (९५ किलोमिटर) मा जोड्ने महत्वाकांक्षी योजनाका साथ आव ०६६–६७ बाट यो सडक निर्माण सुरु भएको थियो । सुरुवातमा ८२ किलोमिटरमा खुटिया–बिपीनगर–दिपायल जोड्नेगरी थालिएको योजना अहिले धनगढी (हसनपुर)देखि खुटियासम्म पनि थपिएकोे छ ।

नेताहरुले यो सडकलाई सुदूरपश्चिममा ‘समृद्धिको सेतु’को रुपमा जनतामाझ व्याख्या गर्छन्, जसले जनतामा यो सडकसँगै थुप्रै आशा पनि जगाएको छ । जुन आशालाई नेताहरुले आफ्नो ‘भोट स्वार्थ’मा उपयोग गर्न यही सडकलाई चुनावी अजेन्डासमेत बनाउँदै आएका छन् ।

‘अहिले दिपायलबाट करिब दुई सय किलोमिटर घुमाउरो बाटो भएर तराई पुग्नुपर्छ । यो सडकले आधा दूरी घटाउँछ,’ डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्का भन्छन्, ‘यसले विकासमा सहयोग त पुग्छ नै । तर, यो सडक राजनीतिक स्वार्थमा मात्रै घेरिएर निर्माणमा ढिलासुस्ती भयो ।’यो सडक पछिल्ला निर्वाचनमा डोटीका नेताहरुको प्रमुख चुनावी अजेन्डा पनि बन्दै आएको छ ।

पूर्ववर्ती सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले निर्वाचनताका यो सडकलाई भारत र चीनसम्म जोड्ने त्रिदेशीय मार्गको महत्वाकांक्षी योजनाका रुपमा प्रस्तुत गरेका थिए । गौरीफण्टादेखि बझाङ हुँदै ताक्लाकोट जोडेर यो सडकबाट सुदूरपश्चिममा समृद्धि ल्याउन सकिने सपना जनतालाई देखाएका थिए । उनका प्रतिस्पर्धी भई निर्वाचित भएका तत्कालीन नेकपा एमालेका प्रेमबहादुर आलेले नयाँ आवका लागि ल्याइएको बजेटमा सुरुङमार्ग आफूले पारेको दाबी गर्दै वक्तव्य दिइरहेका छन् ।

डोटी प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश ४ का मुख्यमन्त्री त्रिलोचन भट्टले पनि यो सडक आफ्नो पहिलो प्राथमिकतामा रहेको दाबी गर्दै छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गराउने सपना बाँडिरहेका छन्।

कछुवा गतिमा निर्माण

सधैं राजनीतिक चर्चामा रहने यो सडकको निर्माण कार्य भने कछुवा गतिमा छ । आयोजना र वनको विवाद, निर्माण कम्पनीको ढिलासुस्तीलगायत कारण अहिलेसम्म सडकको ट्र्याक खुल्न सकेको छैन । सडक निर्माणका क्रममा वन विभागले समस्या निम्त्याइरहेको छ ।

योजनामा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन ९इआइए० भन्दा बढी वनमा क्षति हुने भएपछि वनले अवरोध गरेको हो । इआइएमा सडक निर्माणका क्रममा २७ हेक्टरमा रहेका ६ सय चारवटा रुखमा क्षति पुग्ने तथ्यांक स्वीकृत भएको थियो । पछि वन र सडकका प्राविधिकको टोली गएर अध्ययन गर्दा इआइएभन्दा धेरै क्षति पुग्ने देखिएको थियो । अहिले ८० हेक्टर क्षेत्रफलमा दुई हजार आठ सय ४३ रुखमा क्षति पुग्ने सर्भेले देखाएको छ।

‘पहिले योजना सुरु हुँदा र इआइए गर्दा ‘इन्टरमिडियट लेन’ अर्थात नौ मिटर सडकको सर्भे भएको थियो,’ योजना कार्यालय बिपीनगरका इन्जिनियर राजेन्द्र साहले भने, ‘अहिले ‘डबल लेन’ योजना सरकारले स्वीकृत गरेर कार्यान्वयन गर्न भन्यो, जसका कारण १५ मिटर पुग्यो । यसले वनको क्षेत्रफल बढेको हो ।’ वनले समस्या दर्शाएपछि तत्कालका लागि ११–१२ किलोमिटर चौडा सडक निर्माण गर्न लगाइरहेको उनले बताए । वनको समस्या समाधानका लागि विभागीय रुपमा प्रयास भने भइरहेको उनी बताउँछन् । विभागीय प्रयास भइरहेको बताउँदै उनले भने, ‘सम्भवतः छिट्टै समाधान भएर सडक निर्माण गर्ने बाटो खुल्नेछ ।’

त्यस्तै पुरानो ठेक्का प्राप्त निर्माण कम्पनीले पनि आयोजना निर्माणमा ढिलासुस्ती गरेका छन् । ०६९(७० मा ठेक्का प्राप्त गरेको महादेव–खिम्ती जेभी र सूर्य कन्स्ट्रक्सनले ढिलो काम गरिरहेको योजना कार्यालयले जनाएको छ।

सुरुवातमा डोटीको क्षेत्रमा दिपायलस्थित डिभिजन सडक कार्यालय र कैलालीको क्षेत्रमा कञ्चनपुर डिभिजन कार्यालयले हेर्दा निर्माणमा सुस्तता देखिएपछि अघिल्लो आवको निर्णयानुसार बिपीनगरमा छुट्टै योजना कार्यालय स्थापना गरियो, जसको तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटनका थिए ।

योजना अन्तर्गत चालू आवमा कूल १५ करोड रकम आएको छ, जुन रकमले ट्र्याक खोल्न सकिने योजना कार्यालयका प्रमुख इञ्जिनियर साहले बताए । पूरा सडकको ट्र्याक खोल्न कूल ९५ किलोमिटर रहेकामा अब करिब २० किलोमिटर अझै बाँकी छ ।

कालोपत्रे कहिले ?
रहरलाग्दो फराकिलो कालोपत्रे सडक । त्यही सडकमाथि छोटो दूरीको दिपायल–धनगढी रमाइलो यात्रा । यस्तै यात्रा गर्ने हतारमा छन्, दिपायलका युवा पुष्कर द्वारिया । उनलाई त्यही सडकबाट समृद्धि आगमन भएको हेर्ने लालसा छ । उनको यो चाहना कहिले पूरा होला ? नेताहरु भन्छन्, ‘एक–दुई वर्षमै ।’ उनलाई नेताको कुरामा विश्वास छैन । ‘यो गतिले त बुढेसकाल लाग्ला १,’ उनी भन्छन् । सुरूङमार्ग बन्ने कुरामा उनलाई रत्तीभर विश्वास छैन । उनी भन्छन्, ‘पहिले सडक जोडेर देखाउन् । कालोपत्रे गरुन्, तब यस्ता योजनाको सपना देखाऊन् ।’

‘नेताको आश्वासनमा त यो सडक उहिल्यै भइसक्थ्यो । अबको एक–दुई वर्षमै सुरुङमार्ग हँुदै धनगढी पुग्छौं,’ दिपायलका व्यवसायी गणेश साउँद भन्छन्, ‘वास्तविकता फरक छ । यस्तै रहिरहे हाम्रा छोरा, नातिका पालामा पनि हुन्छ हुन्न ।’ द्वारिया र साउँद जस्तै यो सडक आफ्नै पालामा उपयोग गर्न पाउने नपाउने कुरामा अनेकौ अड्कलबाजी चलिरहन्छन् दिपायलमा ।

नेताहरुले छिट्टै निर्माण हुने सपना बाँड्छन्, तर, जनता विश्वास गर्दैनन् । योजना कार्यालयका प्रमुख इञ्जिनियर साहका अनुसार सडक कालोपत्रे सुरु गर्न कम्तिमा अझै पाँच वर्ष लाग्छ । ‘ट्र्याक खुलिसकेपछि पनि केही चरण हुन्छन् । नाली कल्भर्ट, पुलपुलेसा निर्माण गर्नुपर्छ, ग्राभेल गर्नुपर्छ,’ उनी भन्छन्, ‘यति गर्न कम्तिमा पाँच वर्ष लाग्छ । त्यसपछि मात्रै कालोपत्रे गर्ने समय आउँछ ।’ यी सबै कार्यपछि कालोपत्रे गर्न यो सडकमा अनुमानित दुई अर्ब रुपैयाँ लागत लाग्ने उनले बताए । (नागरिक दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ