arrow

सुनसान अस्पताललाई सम्बन्धन, को को ले पाउँदैछन् सम्बन्धन 

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
hospital.png

काठमाडौँ । लोकन्थली पुलमा राखेको ब्यानरमा लेखिएको सेवा सुविधा हेर्दा लाग्छ, समिट अस्पताल चौबिसै घण्टा सञ्चालनमा छ र बिरामीको चाप थेगिनसक्नु छ । तर, अस्पतालको गेटभित्र छिरेपछि थाहा हुन्छ, यहाँ बिरामीको संख्या शून्य छ । ओपीडीमा पनि फाट्टफुट्ट बिरामी आउँछन् । आईसीयू सुविधासमेत भएको यो अस्पतालमा साताअघि पुग्दा जनरल वार्डमा एकजना पनि बिरामी थिएनन् ।

बेडमा बोराका ठूल्ठूला पोका थिए । नर्सिङ स्टेसन र आकस्मिक कक्ष सुनसान थियो । दिनभरिमा जम्मा दुई जना बिरामी भर्ना भएका थिए । शिक्षामन्त्री अध्यक्ष हुने सीटीईभीटी परिषद् भने यो सुनसान अस्पताललाई नर्सिङ कार्यक्रमको सम्बन्धन दिने अन्तिम तयारीमा छ । सीटीईभीटीका उपाध्यक्षको संयोजकत्वमा बसेको सल्लाहकार समितिको बैठकले यो अस्पताललाई सम्बन्धन दिन सिफारिस गरेको छ । सम्बन्धन दिन लागिएको कलेजको सूचीमा यो अस्पताल १३ औं नम्बरमा छ ।

सीटीईभीटीबाट नर्सिङ कार्यक्रमको सम्बन्धन दिन तयार पारिएको सूचीमा पहिलो नम्बरमा सीतापाइलाको शुभेच्छा इन्टरनेसनल अस्पताल छ । यो अस्पतालमा पनि बिरामी संख्या न्यून छ । ५० शय्याको अस्पतालमा बुधबार १२ बजे पुग्दा जनरल वार्डमा ९ जना, आईसीयूमा १ जना र प्राइभेट वार्डमा १ जना मात्रै थिए ।

सम्बन्धन दिन लागिएको भक्तपुरको मध्यपुर अस्पतालमा बिहीबार बिहान पुग्दा २६ बिरामी थिए । अन्य अस्पतालको तुलनामा मध्यपुरमा बिरामीको चाप अलि बढी नै थियो ।

सीटीईभीटीका अनुसार नर्सिङ कलेज सञ्चालन गर्ने अस्पतालको कुल शय्यामध्ये कम्तीमा ६० प्रतिशत बिरामी हुनुपर्छ । चिकित्सा शिक्षा विधेयकमा पनि यो प्रावधान छ । तर, यस्तै पूर्वाधार र बिरामी संख्या नपुगेका संस्थालाई सम्बन्धन दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको परिभाषा नै परिवर्तन गरेका छन्, जसमा सीटीईभीटीलाई बाहिर पारिएको छ । अध्यादेशमा पहिले भएको व्यवस्थाअनुसार विधेयक ल्याउँदा सीटीईभीटीबाट सम्बन्धन दिन नमिल्ने भएपछि परिभाषा नै परिवर्तन गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

सम्बन्धन दिन लागिएका राजधानीका तीन अस्पताल अवलोकन गर्दा कुनैमा पनि ६० प्रतिशत बिरामी थिएनन् । यी तीनजस्तै अन्य २५ वटा अस्पताललाई नर्सिङ, फार्मेसी, सामान्य चिकित्सा, ल्याब टेक्निसियन, रेडियोग्राफीको सम्बन्धन दिने तयारी छ । तीमध्ये २० वटालाई नर्सिङको सम्बन्धन दिइँदै छ । ‘सबैको पूर्वाधार ठीक भएकाले सम्बन्धन दिन उचित भएको निर्णय सल्लाहकार समितिले दिइसकेको छ,’ सीटीईभीटी स्रोतले भन्यो । समितिले पूर्वाधार ठीक भएको दाबी गरे पनि कान्तिपुरले तीन वटा अस्पतालको स्थलगत अनुगमन गर्दा एउटामा बिरामी शून्य थिए भने अन्य दुईमा पनि ‘अकुपेन्सी’ पुगेको थिएन ।

अध्यादेशमा चिकित्सा शिक्षाको परिभाषामा ‘स्वास्थ्य पेसासम्बन्धी सबै विधा र तहका शिक्षा (हेल्थ प्रोफेसन एजुकेसन) सम्झनुपर्छ’ भनिएकामा विधेयकमा ‘स्वास्थ्य पेसासम्बन्धी स्नातक र सोभन्दा माथिल्लो तहका शिक्षा (हेल्थ प्रोफेसन एजुकेसन) सम्झनुपर्ने’ उल्लेख छ । सीटीईभीटीबाट सहजै सम्बन्धन दिने व्यवस्था गर्न परिभाषा फेरिएको हो । अध्यादेशमा सीटीईभीटीले आफ्नो आंगिक कार्यक्रम नभएका विषयमा कुुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने प्रावधान पनि विधेयकमा हटाइएको छ । सीटीईभीटीको प्रमाणपत्र तहका स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रमको प्रवेश परीक्षा आयोगको समन्वयमा गर्ने प्रावधानसमेत विधेयकमा राखिएको छैन । ‘अध्यादेशको परिभाषा नै मन्त्रीलाई सम्बन्धन दिन बाधक बनेको थियो,’ स्रोतले भन्यो, ‘परिभाषा परिवर्तन गरेपछि चलखेल गर्ने बाटो खुल्यो ।’

डा। अर्जुन कार्की औपचारिक रूपमा स्वास्थ्यसम्बन्धी तालिम लिएका सबै चिकित्सा शिक्षाको परिभाषाभित्र पर्ने बताउँछन् । ‘गुणस्तर सुनिश्चितता गर्न पीसीएललाई पनि चिकित्सा शिक्षाभित्र राखिएको हो । स्वास्थ्य पेसासम्बन्धी सबै विधा चिकित्सा शिक्षा नै हो,’ उनले भने ।

शिक्षामन्त्री पोखरेल भने तीनवर्षे डिप्लोमा तह विद्यालय शिक्षाभित्रै पर्ने भएकाले विधेयकबाट सीटीईभीटी हटाएको तर्क गर्छन् । ‘१२ कक्षासम्म विद्यालय शिक्षा हुने व्यवस्थासहित माथेमा कार्यदलले प्रतिवेदन दिएकाले अहिले विधेयकमा सुधार गरिएको हो,’ उनले भने ।

सीटीईभीटी सल्लाहकार समितिबाट निर्णय गराए पनि अध्यादेश बाधक बनेकै कारण सम्बन्धनको निर्णय गर्न सकेको छैन । असार २० गते अध्यादेश निष्क्रिय भएपछि सम्बन्धन दिने तयारी गरे पनि डा। गोविन्द केसी अनशन बसेपछि रोकिएको स्रोतले जनाएको छ । ‘जुन बेला पनि सम्बन्धन दिन सकिन्छ, ठीक पारिराख्नु भनेका छन्, के ठीक पार्ने भनेको हो ?’ एक कलेज सञ्चालकले भने । ५० शय्याको अस्पताल देखाउनेलाई २० र एक सय शय्या अस्पताल देखाउने संस्थालाई ४० सिटसम्म विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिने तयारी छ ।

सम्बन्धन दिन तयार गरिएका अस्पतालहरू भएका ठाउँमा यसअघि नै नर्सिङ कलेज छन् । सम्बन्धन दिन लागिएका कलेजमा काठमाडौंमा ४, भक्तपुरमा ४, भरतपुर र बुटवलमा २ वटा छन् । यसबाहेक अन्य जिल्लामा पनि पर्याप्त नर्सिङ कलेज भएकै ठाउँमा सम्बन्धन दिन खोजिएको छ । ‘नर्सिङ विषय पढेर सयौं बेरोजगार छन् । कतिपय नर्स श्रम शोषणमा परेका छन्,’ एक कलेज सञ्चालकले भने, ‘सीटीईभीटीलाई यो सबै थाहा छ तर आर्थिक चलखेल गरेर यस्ता कार्यक्रमको सम्बन्धन भने दिइरहेको छ ।’ सम्बन्धन दिन लागेका संस्थाको धेरैजसोको आफ्नै अस्पताल छैन । कतिपयले सरकारी अस्पताल देखाएरसमेत सम्बन्धन लिन लागेका छन् । वर्षौंअघि अनुगमन गरेका संस्थालाई अहिले सम्बन्धन दिन खोजिएको छ । ‘चिकित्सा शिक्षामा बिरामी नै पुस्तक हो । अस्पतालमा बिरामी नै भएनन् भने विद्यार्थी सिक्नबाट वञ्चित हुन्छन्,’ डा। कार्कीले भने ।

वर्षौंअघि निरीक्षण, अहिले सम्बन्धन 
सीटीईभीटीले तीन वर्षअघि नै पूर्वाधार निरीक्षण गरेको संस्थालाई पछिल्लो अध्ययनबिनै नर्सिङ र अन्य स्वास्थ्य विषय सञ्चालनको सम्बन्धन दिन लागेको हो । २०६८ अघि नै निवेदन दर्ता गराई मनसायपत्र लिएका संस्थालाई सम्बन्धन दिन ठीक छ वा छैन भन्ने स्थलगत निरीक्षण गरेको धेरैपछि सम्बन्धन दिन लागेको भन्दै चर्को विरोध हुन थालेको छ । ‘धेरैजसो संस्थाको २०७२ अघि नै स्थलगत निरीक्षण भएको संस्थाको पछिल्लो अनुगमनबेगर सम्बन्धन दिन लागिएको छ,’ सीटीईभीटी स्रोतले भन्यो ।

तीन वर्ष सम्बन्धन लिन कुनै संस्थाले देखाएको अस्पताल अहिले अर्कैले लिइसकेका छन् । सशस्त्र प्रहरीको अस्पताल सुरुमा क्यालिभर नर्सिङ क्याम्पसले देखाएकामा अहिले ओम समाज हुँदै लर्डबुद्ध एकाडेमीमा आइपुगेको छ । सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले गुणस्तर सुनिश्चितता नभएसम्म कुनै पनि संस्थालाई सम्बन्धन नदिने बताए ।

सम्बन्धन दिन लागिएका संस्था र कार्यक्रम 
शुभेच्छा इन्टरनेसनल अस्पताल एन्ड रिसर्च सेन्टर सीतापाइला नर्सिङ
चितवन मेडिकल कलेज भरतपुर नर्सिङ
विजय एकाडेमी फर हेल्थ साइन्स विराटनगर नर्सिङ
क्यालिभर नर्सिङ क्याम्पस गठ्ठाघर नर्सिङ
ओम साई नर्सिङ क्याम्पस बुटवल नर्सिङ
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवल नर्सिङ
कालीगण्डकी हेल्थ फाउन्डेसन कावासोती नर्सिङ
लाइफ गार्ड अस्पताल विराटनगर नर्सिङ
भरतपुर सामुदायिक अस्पताल भरतपुर नर्सिङ
मिर्चैया हेल्थ नर्सिङ क्याम्पस मिर्चैया नर्सिङ
एसियन कलेज अफ एड्भान्स स्टडिज सातदोबाटो नर्सिङ
काभ्रे हेल्थ ट्रेनिङ इन्स्टिच्युट बनेपा नर्सिङ
मितेरी समिट टेक्निकल कलेज लोकन्थली नर्सिङ
शान्ति अस्पताल चितवन नर्सिङ
मध्यपुर अस्पताल ठिमी नर्सिङ
पिपुल्स मोडल कलेज साइन्स एन्ड टेक्नोलोजी कोहलपुर नर्सिङ
नारायणी नर्सिङ क्याम्पस हेटौंडा नर्सिङ
कोरिया–नेपाल फ्रेन्डसिप सिटी अस्पताल ठिमी नर्सिङ
लर्डबुद्ध एकाडेमी एमिटी ग्लोबल गोंगबु नर्सिङ 
नेसनल हेल्थ फाउन्डेसन कोटेश्वर नर्सिङ
कञ्चन बहुउद्देश्यीय महिला समाज – फार्मेसी 
मेडिकल इन्स्टिच्युट लहान एचए
ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चाबहिल ल्याब
सामुदायिक स्वास्थ्य विज्ञान प्रतिष्ठान वनस्थली रेडियोग्राफी (कान्तिपुर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ