arrow

मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
disabled.jpg.png

कञ्चनपुर। मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ। स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको कार्य अगाडि बढाइएको हो।

समावेशी सिद्धान्तका आधारमा समुदायको विकास निर्माण योजना तर्जुमा तथा पञ्चवर्षीय आवधिक योजना निर्माण सहभागिता गराउनका लागि आधुनिक प्रविधिको प्रयोग गरी तथ्याङ्क संकलन कार्य भइरहेको छ।

कैलालीको गौरीगंगा नगरपालिका, कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा घरघुरी सर्भेक्षणसँगै अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य भइरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ र एनएलआरको संयुक्त साझेदारीमा सञ्चालित समावेशी विकास कार्यक्रमका अधिकृत राजीव अवस्थीले बताए। घरधुरी सर्वेक्षण तथ्याङ्क संकलन कार्यलाई व्यवस्थित बनाउन प्रत्येक वडाबाट सिफारिस गरिएका तथ्याङ्क संकलनकर्तालाई दुईदिने तालीम प्रदान गरी कार्यक्षेत्रमा खटाइएको छ।

“तथ्याङ्क संकलनको कार्यलाई छिटो छरितो बनाउनका लागि मोबाइल एप्सको प्रयोग गरी जिपिएस फोटोसहितको तथ्याङ्क संकलन गरी सफ्टवेयर व्यवस्थापनमार्फत स्थायीको घर नम्बरसहितको डिजिटल तत्थ्याङ्क संकलनको कार्य गरेका छौँ”, उनले भने।

हालसम्म संकलित तथ्याङ्कअनुसार कैलालीको गौरीगंगा नगरपालिकाका पाँच हजार ९०७ घरघुरीमध्ये एक हजार १६७ जना व्यक्ति अपाङ्गता भएका पाइएका छन्। जसमध्ये १६९ जनाले मात्रै अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। यसैगरी लालझाडी गाउँपालिकाका एक हजार १५३ घरघुरीको तथ्याङ्क संकलन गरिएकामा जसमध्ये ४११ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्। अपाङ्गता भएका व्यक्तिमा ७१ जनाले परिचयपत्र पाएका छन्।

शुक्लाफाँटा नगरपालिकामा अपाङ्गता पहिचान तथ्याङ्कमात्र संकलन गरिएको छ। जसअनुरुप हालसम्म सात हजार ७३३ घरधुरीको तत्थ्याङ्क संकलन गरिएको छ जसअन्तर्गत ४११ जना अपाङ्गता भएका व्यक्तिमध्ये २२० जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेको पाइएको छ।

बेलडाँडी गाउँपालिकामा तीन हजार घरधुरीको सर्भेक्षणको कार्य गरिएको छ। अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन भइरहेको छ। तथ्याङ्क संकलनका लागि गौरीगंगामा ३५, लालझाडीमा २२, बेलडाँडीमा २१ र शुक्लाफाँटामा ३० जना गणक खटिएका छन। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ