arrow

ग्यासको पहुँच २१ प्रतिशत परिवारमा 

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
gas-cylinder.jpeg

काठमाडौं । मुलुकमा ग्यासको खपत वृद्धि हुँदै गए पनि २१।३ प्रतिशत परिवारमा मात्र खाना पकाउन ग्यासको पहुँच पुगेको छ ।

५४ लाख ३३ हजार दुई सय ९७ घरधुरीमध्ये ११ लाख ४० हजार छ सय ६२ घरधुरीले ग्यासको प्रयोग गर्ने गरेको नेपाल आयल निगमले जनाएको छ।

ग्यास प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा हुने र दाउरा प्रयोगभन्दा कम खर्चिलो भए पनि ग्रामीण क्षेत्रमा ग्यासको पहुँच पुग्न सकेको छैन । जनसंख्याको ६४ प्रतिशत घरमा दाउरा, गोबर प्रयोग गरेर भान्सामा खाना पकाउँदै आएका छन् भने १४।९७ प्रतिशतले अन्य इन्धन उर्जा प्रयोग गर्दै आएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

ग्यास प्रयोगकर्ता वृद्धि हुँदै गए पनि मुलुकमा ग्यास सिलिन्डरको संख्या एक करोड नाघेको छ । ५७ वटा ग्यास उद्योगले एक करोड दुई लाख सिलिन्डर बजारमा बिक्री गरेको नेपाल आयल निगम एलपिजी विभागका निर्देशक दीपक बरालले बताए । बरालका अनुसार ग्यास खपत वार्षिक १५ प्रतिशतले वृद्धि भएको छ।

‘समर सिजनमा ३२ हजार र विन्टरमा ३८ हजार क्विन्टल ग्यास खपत भइरहेको छ,’ बरालले भने, ‘ग्यासको प्रयोग बढिरहेको छ ।’ग्रामीण क्षेत्रमा पहुँच पुर्याउन र सिलिन्डर गुणस्तरको विषयमा चेतना अभिवृद्धि आवश्यक रहेको सरोकारवाला बताउँछन् । 

दाउराको तुलनामा ग्यास प्रयोग सस्तो र मानव स्वास्थ्यमा असर नपर्ने भएकाले पनि ग्यासमा आकर्षित भएका हुन् । ग्यासका लागि मात्र बर्सेनि ३० देखि ४० अर्ब रुपैयाँ बाहिर खर्च हुने गरेको छ । 

आर्थिक वर्ष ०६४÷६५ मा ९३ हजार आठ सय ३७ टन ग्यास आयात भएकोमा आर्थिक वर्ष ०७३÷७४ सम्म आइपुग्दा बढेर दुई लाख ९४ हजार टन पुगेको छ।

ग्यास प्रयोग बढिरहेको भए पनि सिलिन्डर प्रयोगमा ध्यान दिनुपर्ने सरोकारवालाको सुझाव छ । ग्यास उद्योगीले सिलिन्डरको नियमानुसार हाइड्रोलिक टेस्ट गरेर बजारमा ल्याउनुपर्ने भए पनि त्यसो नगर्दा समयसमयमा सिलिन्डर विस्फोट भई उपभोक्ताको ज्यान जाने गरेको छ । उद्योगीले पुराना सिलिन्डर नष्ट नगर्ने, हाइड्रोलिक टेस्ट नगरेको कारण आगो लाग्ने, सिलिन्डर पड्किने गरेको आरोप खेप्दै आएका छन्।

ग्यास सिलिन्डरको गुणस्तरमा ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । समयमा हाइड्रोलिक टेस्ट, भल्ब, रेगुलेटर, सिलिन्डर कमसल भएको कारण दुर्घटना हुने गरेकाले त्यसबाट सकर्त हुन नापतौल तथा गुणस्तर विभागले आग्रह गर्दै आएको छ । 

नेपालमा पञ्चकन्या, गृहलक्ष्मी मेटल, एरोटेक लगायत कम्पनीले सिलिन्डर बनाउँदै आएका छन् । उपभोक्ताको भान्सामा प्रयोग हुने फलामे सिलिन्डरसहित कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउन सुरु भएको छ । (नागरिक दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ