arrow

हिन्दू विद्यार्थी अंग्रेजी पढ्छन् मुस्लिमको मदरसामा 

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
students-english-madarsha.jpg

विराटनगर । सीमा यादव र उनको परिवार हिन्दू हो । धार्मिक मान्यतामा कट्टर उनी धर्मकर्मका नियम कडिकडाउ साथ पालन गर्छिन् । तर, हिन्दू यादव परिवारले आफ्ना सन्तान पढाउन भने मुस्लिम धर्मावलम्बीको मदरसा रोजेको छ ।

मदरसा भन्नासाथ उर्दू भाषा, कुरान र मुस्लिम धार्मिक विषय पढाइ हुने पाठशालाका रूपमा बुझिन्छ । छोराछोरी मदरसामै किन पठाउनु भएको त रु ‘पढाइ र त्यहाँको सुविधा हिन्दूका लागि पनि उत्तिकै दिइएको रहेछ’, सीमाले भनिन्, ‘ज्ञान आर्जन गर्न यो वा त्यो धार्मिक संघसंस्था भनेर नहुने रहेछ । सन्तानको भविष्यका लागि जहाँ राम्रो पढाइ हुन्छ, त्यहीं पठाउने हो ।’ उनका छोरा यही वर्ष मदरसाको नर्सरी कक्षामा भर्ना भएका छन् ।

नजिकैको मदरसाले विद्यार्थी ओसार्न बस सेवासँगै निजी विद्यालयकै जस्तो गुणस्तरमा निःशुल्क पठनपाठनको पनि व्यवस्था गरेको छ । यसबाट हिन्दू परिवारका अभिभावक पनि मदरसामा आकर्षित भएका हुन् ।

अर्का अभिभावक पवन यादव भन्छन्, ‘बाहिर मदरसामा कुरान मात्र पढाइ हुन्छ भन्ने धेरैको सोचाइ हुन्छ तर यहाँ त बोर्डिङ र सामुदायिक विद्यालयकै जस्तो राम्रो पढाइ रहेछ ।’ निःशुल्क र राम्रो पढाइ हुने देखेरै आफ्ना दुई सन्तानलाई मदरसामा भर्ना गरिदिएको उनले बताए ।

विराटनगर–१३ स्थित ताजुल इस्लाम निम्न माध्यमिक विद्यालय (मदरसा) मा एकसय ७५ मध्ये ५६ जना हिन्दू विद्यार्थी पढ्छन् । मदरसाका प्रधानाध्यापक मौलाना समसुल हक भन्छन्, ‘हामीले यो वा त्यो धर्म भनेर भेदभाव गरेका छैनौं । अन्तरधार्मिक समुदायमा सद्भाव र समानताका लागि सबैलाई भर्ना लिएका छौं ।’

उनले नर्ससीदेखि कक्षा ८ सम्म अध्यापन हुने मदरसामा निःशुल्क अंग्रेजी माध्यममा पढाउने व्यवस्था गरिएको जानकारी दिए । २०३८ सालमा स्थापना भएको यो मदरसा गत वैशाख ६ गते नमूना मदरसा घोषित भएको थियो । त्यहाँ हिन्दू र मुस्लिम विद्यार्थीलाई अंग्रेजी माध्यममा नेपाली पाठ्यक्रमअनुसार अध्यापन गर्ने प्रबन्ध गरिएको छ । मदरसाले मुस्लिम विद्यार्थीलाई अरबी, उर्दू र कुरान छुट्टै अध्यापन गराउने व्यवस्था मिलाएको छ ।

लामो समयदेखि संचालनमा रहेको सो संस्थामा निःशुल्क अध्यापनको व्यवस्था भए पनि भौतिक संरचनाको भने अभाव रहेको जनाइएको छ । प्राधानाध्यापक हकले भने, ‘धार्मिक अन्तर्घुलनका लागि पनि हामीले गरेको यो प्रयास सह्रानीय छ भनेर सबैतिरबाट प्रशंसा भएको छ । हामीलाई पनि गर्व महसुस हुन्छ ।’

उनले आर्थिक अवस्था कमजोर भएका अभिभावकले मदरसा नै रोज्न थालेकाले विद्यार्थीको चाप बर्सेनि बढ्दै गएको जानकारी दिए । विद्यार्थी बढेसँगै डेक्स–बेञ्चजस्ता पूर्वाधारको भने समस्या हुन थालेको हक बताउँछन् ।

मदरसाले कक्षाकोठाको अभावमा बरन्डामा नै कतिपय कक्षा संचालन गर्दै आएको छ । प्रअ हकका अनुसार सरोकारवाला संघसंस्थालाई आग्रह गरिए पनि कतैबाट सहयोग भएको छैन ।

मोरङमा दर्ता भएका ५६ मध्ये ५४ वटा मात्र संचालनमा छन् । तीमध्ये पनि ताजुल इस्लाम निम्न माध्यमिक विद्यालय ९मदरसा०ले मात्र अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ ।

विद्यार्थीलाई पोशाक र पाठ्यपुस्तक पनि निःशुल्क प्रदान गर्छ । अनुदान र सहयोगले चल्दै आएको मदरसामा १० जना शिक्षक कार्यरत छन् । (अन्नपूर्ण पोष्ट दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ