arrow

इमरान खानको उदयले भारतलाई कस्तो प्रभाव ?

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
modi-imrans.jpg

काठमाडौं । पाकिस्तानमा भर्खरै आमनिर्वाचन सकिएको छ । यो निर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको पार्टीले जित हासिल गरेको छ । यससँगै इमरान खान मुलुकको प्रधानमन्त्री बन्ने तरखरमा रहेका छन् ।

पाकिस्तानमा कुनै पनि राजनीतिक घटना हुँदा त्यसको भारतमा पनि विशेष चासो हुने गरेको छ । विशेषगरी लामो समयदेखि भारत र पाकिस्तानको बीचमा राजनीतिक हिसाबमा एक किसिमको द्वन्द्व जारी रहेको अवस्थामा उनीहरुको मुलुकमा देखिने कुनै पनि राजनीतिक परिवर्तन दुवै मुलुकका लागि महत्वपूर्ण हुने गरेको छ । 

अहिले पाकिस्तानमा नयाँ राजनीतिक परिवर्तन आउनु भने भारतसँगको सम्बन्ध थप कमजोर बन्नु हुनसक्ने देखिएको छ । अहिले पाकिस्तानको प्रधानमन्त्री बन्न लागेका खान भारतप्रति यसअघिका प्रधानमन्त्री नवाज सरिफभन्दा पनि अनुदार देखिन्छन् । खानले यसअघि नवाजलाई भारत र मोदीका प्रियपात्र भन्दै आलोचना गर्दै आएका थिए । भारतले पनि पाकिस्तानको यो निर्वाचनमा इमरान खानको जित नहोस् भन्ने चाहेको थियो । 

खानलाई अहिलेको अवस्थामा ल्याउनमा पाकिस्तानी सेनाको भूमिका महत्वपूर्ण रहेको छ । जसको कारण यो निर्वाचनमा पनि सेनाको हस्तक्षेप हुनसक्ने समाचार भारतीय सञ्चारमाध्यमहरुमा आएका थिए । यस्तोमा अबको दिनमा पाकिस्तानमा सेनाको प्रभाव बलियो हुनसक्ने देखिएको छ । साथै कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसक्नुले पनि पाकिस्तानी सेनालाई थप बल पुगेको छ । यस्तै आशंकाको कारण खानलाई भारतले नरुचाएको हो। भारतको इच्छाविपरीत पाकिस्तानको निर्वाचनमा खानले जित हासिल गरे तर बहुमत भने हासिल गर्न सकेनन् । यसले आगामी दिनमा भारत पाकिस्तान सम्बन्ध थप कमजोर हुने विश्लेषकहरुले बताउन थालिसकेका छन्। 

त्यसो त आफ्नो पार्टीले जित हासिल गरेपछि पनि इमरान खानले भारतसँगको सम्बन्ध धेरै राम्रो हुन नसक्ने बताइसकेका छन्। खानले भारतलाई लक्षित गर्दै पाकिस्तानमा भइरहेको गलत गतिविधिहरुको कारक भारत रहेको बताए। उनले दुई मुलुकको बीचमा शान्ति कायम गर्नका लागि दुवै मुलुकहरु बराबरीमा आउनुपर्ने उनको भनाइ छ । उनले निर्वाचन भएपछि दिएको यस किसिमको अभिव्यक्तिले भारत केही हच्किएको छ। भारतका लागि पाकिस्तानसँगको सम्बन्धभन्दा पनि उसको चीनसँगको सम्बन्धले बढी पिरोलिरहेको देखिन्छ । चीनले श्रीलंका, पाकिस्तान, बंगलादेश गर्दै भारतलाई चारैतिरबाट घेर्ने दाउ गरिरहेको कारण चीनको दक्षिण एसियाली मुलुकहरुको सम्बन्ध कमजोर बनोस् भन्ने भारत चाहन्छ । 

खानले चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्ने बताइसकेका छन् । पाकिस्तान र भारतको विषयमा विभिन्न मामिलामा विवादहरु रहेको छ। जसमा केही विवादहरुमा चीनले पाकिस्तानको साथ दिन्छ कि भन्ने डर भारतलाई रहेको देखिन्छ । चीनको ओबीओआर तथा अन्य योजनाहरुमा पनि भारतले यही आशंकाको साथमा हात मिलाइरहेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङको बीचमा पछिल्लो एक महिनाको अवधिमा तीनपटक भेट भएको छ । यद्यपि उनीहरुको बीचमा महत्वपूर्ण सम्झौता भने हुन सकेको छैन। 

चीन आफ्नो महत्वाकांक्षी योजना ओबीओआरलाई जसरी पनि पूरा गर्ने उद्देश्यमा रहेको छ भने यसमा भारतको विमति छ। उसले आफ्नो सार्वभौमसत्तालाई चीनले अवमूल्यन गर्न खोजेको आरोप लगाइरहेको छ । यी दुवै मुलुकको बीचमा आगामी दिनमा पाकिस्तानको महत्वपूर्ण भूमिका हुने स्पष्ट छ । यस्तोमा पाकिस्तानमा भारतप्रति अनुदार भएका प्रधानमन्त्री आउनु भारतका लागि एक समस्या बन्नसक्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ